बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छ महिनामा ६२ अर्ब ८५ करोड बीमाशुल्क सङ्कलन : कुन कम्पनीको कस्तो अवस्था ?

मङ्गलबार, १३ माघ २०७७, ०९ : ०९
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । जीवनबीमा कम्पनीहरुले पुस मसान्तसम्म ६२ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नियामक निकाय बीमा समितिलाई सम्बन्धित कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालन अनुमति प्राप्त गरेका चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सो बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् ।

बीमा कम्पनीहरुले यो वर्ष सङ्कलन गरेको बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही समयमा सङ्कलित बीमाशुल्कभन्दा ३१.४९ प्रतिशत बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म ४७ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क सङ्कलन भएको थियो ।

कुन बीमा कम्पनीको अवस्था कस्तो ?

६२ अर्ब ८५ करोडको बीमा शुल्कमध्ये बीमा कम्पनीहरुले नेपाल लाइफ इन्स्योरेन्सले यो अवधिमा सबैभन्दा बढी १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको थियो । यो २६.२२ प्रतिशत बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एलआईसीले ७ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको थियो । यो २०.२८ प्रतिशत बढी हो ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो तेस्रो स्थानलाई कायमै राख्दै यो अवधिमा ५ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २ करोडले कम हो । अघिल्लो वर्षको पुससम्म ५ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम सङ्कलन भएको थियो ।

नेशनल लाइफ इन्स्योरेन्सले बीमाशुल्क सङ्कलनमा चौथो स्थान कायम राख्दै ५ अर्ब ५४ करोड बीमाशुल्क उठाएको छ । यो करिब ४० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ९५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन भएको थियो ।

युनियन लाइफले भने समग्रमा पाचौँ स्थानमा रहँदै नयाँ बीमा कम्पनीमध्येकै सर्वाधिक बीमाशुलक सङ्कलन गर्ने कम्पनीको रुपमा आफूलाई कायमै राखेको छ । युनियनले यो अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क उठाउँदा करिब ३६ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

त्यस्तै, एशियन लाइफ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्कसहित छैटौँ स्थानमा रहँदा यो वर्ष करिब ४० प्रतिशतको वृद्धि हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स २ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गर्दा करिब ४५ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।

यो अवधिमा गुराँस लाइफ इन्स्योरेन्सले भने यो वर्ष १ सय प्रतिशत भन्दा बढी वृद्धि हासिल गरेको छ । अघिल्लो वर्ष ९४ करोड बीमाशुल्कको अवस्थालाई सुधार गर्दै यो वर्ष सो कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ पुर्याइएको हो ।

नवौँ स्थानमा रहेको मेटलाइफ इन्स्योरेन्स भने यो वर्ष सर्वाधिक बीमाशुल्क घट्ने कम्पनीको रुपमा देखिएको छ । यो अवधिमा मेटलाइफले २ अर्ब ५ करोड रुपैयाँ मात्रै बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्सको मूल्य पनि सन्तोषजनक रुपमै बढेको छ । पुस मसान्तसम्म प्राइम लाइफले २ अर्ब २ करोड रुपैयाँ बीमाशुलक सङ्कलन गर्दा करिब ४३ प्रतिशतको वृद्धिदर हासिल गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स भने बीमाशुल्क सङ्कलनमा समग्र बीमा कम्पनीमध्ये ११ औं र नयाँ बीमा कम्पनीमध्ये दोस्रो स्थानमा रहेको छ । सो कम्पनीले पहिलो ६ महिनामा १ अर्ब ४४ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको हो । यो शुल्क अघिल्लो वर्षको सोही समयको तुलनामा १ सय २ प्रतिशत बढी हो ।

ज्योति लाइफ इन्स्योरेन्सले पनि यो अवधिमा करिब १ अर्ब ४४ करोड रुपैयाँ नै बीमाशुल्क सङ्कलन गरेको छ । अघिल्लो वर्ष यो कम्पनी बीमाशुल्क ७४ करोड रुपैयाँ थियो । यो करिब ९५ प्रतिशतको वृद्धि हो ।

नयाँ कम्पनी भए पनि रिलायबल लाइफ इन्स्योरेन्सको वृद्धिदर भने तुलनात्मक रुपमा कम छ । ६ महिनाको अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेर १३ औं नम्बरमा रहेको सो कम्पनीले अघिल्लो वर्ष १ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेर १० औं नम्बरमा कायम रहेको थियो ।

रिलायबल लाइफ इन्स्योरेन्सले यो अवधिमा १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क स.कलन गर्दै १५ औं नम्बरमा कायम भएको छ । यद्यपि यो वर्ष रिलायवल लाइफको वृद्धिदर सबैभन्दा बढी १ सय ७२ प्रतिशत रहेको देखिएको छ ।

यसबाहेक सन नेपाल लाइफ, सानिमा लाइफ, आईएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफको ६ महिनाको बीमाशुल्क भने १ अर्बभन्दा कम छ । सन नेपालले ९९ करोड सानिमा लाइफले ९७ करोड, आईएमई लाइफले ८८ करोड, प्रभु लाइफले ६३ करोड तथा महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको हो । अघिल्लो वर्ष यी कम्पनीहरुको बीमाशुल्क क्रमशः ५६ करोड, ४० करोड, ५८ करोड, ३० करोड र २८ करोड रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप