महामारीका बेला मुकेश अम्बानीले १ घण्टामा जति कमाए, त्यति कमाउन सामान्य मजदुरलाई १० हजार वर्ष लाग्ने

कोरोना महामारीले एकातिर गरिबको ढाड बेस्सरी सेकाएको छ भने अर्कोतर्फ भारतका सबैभन्दा धनी व्यक्तिले यतिबेला टन्नै पैसा कमाएका छन् । महामारीका बेला रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले जति पैसा १ घण्टामा कमाएका छन्, त्यति पैसा कमाउन एक मजदुरलाई १० हजार वर्ष लाग्नेछ ।
अघिल्लो वर्ष मार्चदेखि अक्टोबरसम्म मुकेश अम्बानीको सम्पत्तिमा दोब्बर वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको सम्पत्ति ५.८ लाख करोड भारु हो । अम्बानी मात्रै होइन, कुमार मंगलम बिडला, उदय कोटक, गौतम अडानी, अजीम प्रेमजी, सुनिल मित्तल, शिव नादर, लक्ष्मी मित्तल। साइरस पूनावाला र राधाकृष्णन दमानीजस्ता उद्योगपतिको सम्पत्ति पनि यतिबेला बढेको छ । एनजीओ अक्सफ्यामको रिपोर्टमा सो कुरा खुलासा भएको हो ।
गरिबलाई महामारी अघिको स्थितीमा आउन एक दशक लाग्छः
‘द इनइक्वालिटी भाइरस’ नामको रिपोर्ट अनुसार महामारीले भारतमा मात्रै होइन पूरा संसारभरी नै असमानता बढाएको छ । संसारका सर्वाधिक हजार अर्बपतिको स्थिति त ९ महिनामा नै सुधारियो तर गरिबलाई कोरोना अघिको स्थितिमा आउन एक दशकभन्दा बढी समय लाग्नेछ । अक्सफ्याम दावोस सम्मेलन अघि यो रिपोर्ट जारी गर्छ । यस वर्ष यो सम्मेलन सोमबारदेखि सुरु भइरहेको छ ।
सर्वाधिक सय अर्बपतिको सम्पत्तिमा ३५ प्रतिशतसम्मको वृद्धि
भारतको सबैभन्दा ठूला सय अर्बपतिको सम्पत्तिमा मार्च २०२० पछि लगभग १३ लाख करोड भारु, अर्थात् ३५ प्रतिशतको वृद्धि भएको छ । यो रकम देशको रक्षा बजेटको लगभग चार गुणा बढी हो । यदि यो पैसा भारतका १४ करोड गरिबमा बाँड्ने हो भने सबैको भागमा ९४,०४५ भारु पर्नेछ । सन् २००९ सँग तुलना गर्ने हो भने भारतका अर्बपतिको सम्पत्ति यतिबेला ४२२.९ अर्ब डलरभन्दा बढी छ ।
हरेक घण्टा १.७ लाख मानिस बेरोजगार भए, कूल १२.२ करोडको जागिर गयोः
एकातिर हेर्ने हो भने धनी थप धनी भए । अर्कोतर्फ भने अप्रिलमा हरेक घण्टा ७.७ लाख व्यक्तिको जागिर गुम्यो । रिपोर्ट अनुसार कोरोना महामारीका कारण १२.२ करोड कर्मचारीले आफ्नो जागिरबाट बिदा हुनुपर्यो । यसमा ७५ प्रतिशत मानिस अर्थात् करिब ९.२ करोड मानिस असंगठित क्षेत्रका हुन् ।
यसबाहेक भोकमरी, आत्महत्या, सडक र रेल दुर्घटना, प्रहरीको क्रुरता र समयमा उपचार नपाएका कारण असंगठित क्षेत्रका ३ सयभन्दा बढी कामदारको मृत्यु भएको छ ।
११ अर्बपतिको कमाईले १० वर्षसम्म स्वास्थ्य मन्त्रालयको खर्च चलाउन सकिनेः
रिपोर्टका अनुसार कोरोना महामारीको समयमा भारतका ११ शीर्ष अर्बपतिको सम्पत्तिमा जति वृद्धि भएको छ, त्यो पैसाले १० वर्षका लागि महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी योजना वा १० वर्षसम्म स्वास्थ्य मन्त्रालयको खर्च चलाउन सकिन्छ ।
संसारभरी गरिबको संख्या ५० करोड पारः
रिपोर्टमा बताइए अनुसार संसारभरी १८ मार्चदेखि ३१ डिसेम्बर २०२० सम्म अर्बपतिको सम्पत्तिमा ३.९ ट्रिलियन डलर वृद्धि भएको छ । यतिबेला संसारका १० सर्वाधिक धनाढ्यको सम्पत्तिमा ५४० बिलियन डलरको वृद्धि भ्एको छ । संसारका दोस्रो सर्वाधिक धनाढ्य जेफ बेजोसले सेप्टेम्बर २०२० मा अमेजनका सबै ८.७६ लाख कर्मचारीलाई १ करोड २२ लाख रुपैयाँ बोनस दिन सक्थे तर पनि उनीसँग महामारी अघिकै सम्पत्ति हुन्थ्यो । अर्कोतिर गरिबको संख्या ५० करोड बढेको छ । अक्टोबरमा जारी विश्व बैंकको एक रिपोर्ट अनुसार महामारीले ६ करोड मानिसहरुलाई भीषण गरिबीमा धकेलिदिएको छ ।
९ महिनाको कमाई सबैलाई निःशुल्क भ्याक्सिन दिनका लागि पर्याप्तः
रिपोर्टले भन्छ, ‘कोरोनाभाइरस आएपछि संसारका १० सबैभन्दा ठूला अर्बपतिले जति सम्पत्ति कमाएका छन् त्यसो दुनियाँका हरेक व्यक्तिलाई गरिबीबाट जोगाउन र सबैलाई कोभिड–१९ को एउटा भ्याक्सिन निःशुल्क प्रदान गर्नका लागि पर्याप्त छ ।’
रिपोर्टमा भनिएको छ, ‘कोरोनाभाइरसले देखाइदिएको छ कि संसारमा मानवतासँग गरिबीबाट निकाल्नका लागि कुनै स्थायी समाधान छैन । यो संकटमा अर्बपतिको सम्पत्तिलाई लाखौं मानिसहरुको जीवन र करोडौंको रोजगार जोगाउनका लागि प्रयोग गरिनुपर्छ ।’