शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

सोमबार, १२ माघ २०७७, १३ : ०३
सोमबार, १२ माघ २०७७

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका छन् । 

प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री आइपुग्दा उनलाई सर्वसाधारणले समेत स्वागत गरेका छन् । 

पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले राप्ती नदीमा निर्मित पुलको अवलोकनसमेत गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल हो । 

पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करीब रु एक अर्ब लागतको सो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखरी क्षेत्रका सिसहनिया–महदेवा वारिपारि गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदीमा डुङ्गाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।

पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।  पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ ।  पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ । बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप