शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हरेक दिन सबैभन्दा बढी संक्रमित मर्ने १५ देशको सूचीबाट भारत बाहिरियो

सोमबार, १२ माघ २०७७, ०८ : ५५
सोमबार, १२ माघ २०७७

विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पाइएको दोस्रो देश भारत हरेक दिन सबैभन्दा बढी संक्रमित मर्ने १५ देशको सूचीबाट बाहिरिएको छ। पछिल्लो ११ दिनमा भारतमा कोरोनाबाट मर्नेको संख्या २ सय भन्दा कम रहेको पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर अमेरिकामा भने संक्रमण दर र मृत्यु दरमा गिरावट आउन सकेको छैन। आज पनि विश्वमा कोरोनाबाट सबैभन्दा बढी मानिसले ज्यान गुमाउने देशमा अमेरिका नै छ। गएको शनिबार मात्र अमेरिकामा ३ हजार ४ सय बढी संक्रमितको निधन भएको थियो।

भारतको कुल संक्रमितमध्ये ६८ प्रतिशत सक्रिय संक्रमित मात्र तीन राज्यमा रहेको बताइएको छ। देशभर १९ करोडभन्दा बढी मानिसको कोरोना परीक्षण भएको छ। हिजो आइतबार १२ हजार ६ सय ९० जनामा संक्रमण पाइएको भारतमा कुल परीक्षणको ५ देखि ६ प्रतिशतमा मात्र संक्रमण पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

१ करोड ६ लाखभन्दा बढी संक्रमित भएको भारतमा अब मात्र १ लाख ८६ हजार सक्रिय संक्रमित रहेका छन्। १ लाख ५३ हजार मानिसको कोरोनाका कारण ज्यान गएको छ भने १ करोड तीन लाख २८ हजार बढी मानिस कोरोनामुक्त भइसकेका छन्।

पछिल्लो समय भारत आफैंले कोरोना खोप उत्पादन गरी लगाउन थालिसकेको छ। जनवरी १६ देखि भारतले कोरोनाविरुद्धको खोप देशभर लगाउन थालिसकेको छ। जसले पनि कोरोना संक्रमण दरमा कमी ल्याइरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप