सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

अमेरिकासँग ‘नयाँ मार्ग’ स्थापनाका लागि भेनेजुयला इच्छुकः राष्ट्रपति मदुरो

आइतबार, ११ माघ २०७७, २३ : २५
आइतबार, ११ माघ २०७७

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउससँग वर्षौंको तनावपछि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिका–भेनेजुयलाबीच ‘नयाँ मार्ग’ स्थापनाका लागि आफू इच्छुक रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले दोहोर्याएका छन् ।

“हामी राष्ट्रपति जो बाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित हाम्रो सम्बन्धको नयाँ धारमा चल्न  इच्छुक छौँ,” भेनेजुयलाका वामपन्थी नेता मदुरोले आफ्ना समर्थकलाई गरेको एक सम्बोधनमा शनिबार बताए ।  उनले थपे, “नयाँ अमेरिकी प्रशासनसँग दुई मुलुकबीचको सम्बन्धमा विगतलाई परिवर्तन गर्न भेनेजुयला तयार छ ।” 

ट्रम्प प्रशासनले भेनेजुयलाका वामपन्थी नेता मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरूद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्ने गर्छ । वर्षौंको चीसो सम्बन्धपछि अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि कराकस र वाशिङ्गटनबीच जनवरी २३, २०१९ मा कूटनीतिक सम्बन्धलाई पूर्णरूपमा तोडिएको थियो । 

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि मदुरोले लामो समयदेखि अमेरिकामा राजनीति गरेका बाइडेनलाई बधाइ दिएका थिए । भेनेजुएला ‘संयुक्त राज्य अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न तयार रहेको बताउँदै डिसेम्बरमा मदुरोले पुनः आफ्ना भनाइलाई दोहोर्याएका थिए । 

बाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिनेछ र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन् । यद्यपि बाइडेनको विदेशमन्त्री मनोनित एन्थोनी ब्लान्केनले मदुरोलाई यसपहिले ‘क्रुर तानाशाह’को रूपमा वर्णन गर्ने गरेका थिए । उनले सिनेटमा भएको आफ्नो पुष्टिकरण सुनुवाइमा गुएइदोलाई समर्थन गर्ने ट्रम्पको नीतिलाई अँगाल्ने कुरा बताएका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाको नेतृत्व (सभामुख) मा मदुरो पक्षधर उम्मेदवारलाई शपथ खुवाइएपछि गुएइदोलाई नै समर्थन गर्ने अमेरिकी नीतिलाई अमेरिकाले नवीकरण गरेको थियो । डिसेम्बरमा भएको निर्वाचनमा गुएइदोको विपक्षी दलले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्दै बहिष्कार गरेको थियो । 

राष्ट्रिय सभाका पूर्व अध्यक्ष (सभामुख) गुएइदोलाई नयाँ संसदले प्राविधिकरूपमा जिम्मेवारीबाट हटाएको छ । यद्यपि उनले विदेशी समर्थन लिई छाँया विपक्षी सांसदहरूको समानान्तर निकाय कायम गर्ने योजना बनाएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार २०१५ पछि पाँचलाख भन्दा बढी भेनेजुएलीहरू राजनीतिक र आर्थिक उथलपुथलको कारण  विस्थापित बनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप