ओलीबिनाको नेकपा : कस्तो पार्टी बनाउँदैछन् प्रचण्ड–माधव ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक र व्यवहारिक रुपमा विभाजित छ । सिंगो नेपाली राजनीति, संविधान र प्रणालीमा यसको असर परेको छ । प्रतिनिधिसभा भंग गरेसँगै सत्तारुढ दल नेकपाको एक समूहकोे नेतृत्व ओली स्वयंले गरिरहेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अर्को पक्षको ।
खासगरी सग्लो नेकपा हुँदा विधि, विधान, पार्टीपद्धति र संविधानलाई नै बेवास्ता गर्दै आफै सर्वेसर्वा बन्न खोजेका थिए ओली । उनको त्यो प्रवृत्तिलाई सच्याउन नेताहरुले पटक पटक सुझाव, आग्रह र दबाबसमेत दिए । ओलीलाई अन्य नेताहरुले गरेको यो आग्रह मन पर्ने कुरै भएन । अन्ततः नेकपामा आन्तरिक विवाद झाङ्गिदै गयो र पार्टीका सबै कमिटीमा ओली अल्पमतमा झरे ।
सबैतिरको विश्वास गुम्दै गएपछि अन्ततः ओलीले आफूसमेतको सहमतिमा बनाइएको संविधानविपरित अल्पायुमै जनताको सर्वोच्च प्रतिनिधिमुलक निकाय प्रतिनिधि सभाको हत्या गर्न पुगे । त्यसपछि सुरु भयो ‘ओली प्रवृत्ति’का विरुद्ध संघर्ष ।
यो संघर्षमा सबै राजनीतिक दल, नागरिक समाज तथा समाजका विभिन्न तह र तप्काका मानिसहरुको ऐक्यवद्धता दिनहुँ बढ्दै गएको छ । प्रतिनिधि सभा भंग गर्ने ओलीको कदमलाई आन्दोलनरत पक्षले प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तिको संज्ञा दिइरहेका छन् । ओली प्रवृत्तिको विरुद्ध आन्दोलनमा होमिएको नेकपाको प्रचण्ड–माधव पक्षले उनै ओलीलाई पार्टी अध्यक्षबाट हटाइसकेको छ । ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने तयारी प्रचण्ड–माधव पक्षको छ ।
२०७४ को चुनावी गठबन्धन हुँदै २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरियो । पार्टी एकतासँगै दुई अध्यक्षको व्यवस्थासहित ओली र प्रचण्डले संयुक्त रुपमा पार्टीलाई नेतृत्व दिए तर नेकपाका दुई पाइलट अहिले दुईतिर फर्केकामात्र होइन, ओलीबिनाकै नेकपा बनाउने घोषणा नेताहरुले गरिसकेका छन् ।
यस्तो अवस्थामा अबको नेकपाचाहिँ कस्तो होला त ? नेताहरुले आफु सत्ता र शक्तिमा पुगेपछि विचार, सिद्धान्त र नीति तथा कार्यक्रमलाई एकातिर पन्छाएर ‘ओली प्रवृत्ति’ देखाउँदैनन् भन्ने के ग्यारेण्टी छ ? अहिले उठेको आम प्रश्न यही हो । यो प्रश्न आम जनताबाट उठेकैले हुनसक्छ, प्रचण्ड–माधव पक्षका नेताहरुले अबको नेकपा मार्क्सवादी सिद्धान्तमा आधारित समाजवादको दिशा पक्रने पार्टी बनाउने दाबी पनि गरिरहेका छन् ।
ओलीको प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम सच्याउँदै संसदको पुनर्स्थापना गरेर अबको नेकपा सिद्धान्त र विचारमा आधारित पार्टी बनाउने प्रचण्ड–माधव पक्षको दावी छ ।
समाजवादको नेपाली मोडल
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीविनाको नेकपा जनवादी केन्द्रीयता र संगठनात्मक विधि पद्धतिमा चल्ने पार्टी हुने दाबी गर्छन् । ‘हामीले अबको पार्टी त्यस्तो बनाउन चाहेका छौँ, जो सिद्धान्तमा आधारित होस् । मार्क्सवाद, लेनिनवादमा साँचो अर्थमा आधारित भएर त्यसको निर्देशनमा चल्ने पार्टी बनाउन चाहन्छौँ’, प्रचण्डको भनाइ छ ।
उनले अबको नेकपा समाजवाद र सामाजिक न्यायप्रति इमान्दार बन्ने पनि बताए । ‘हामी समाजवाद र सामाजिक न्यायप्रति इमान्दार पार्टी बनाउन चाहन्छौं । जनवादी केन्द्रीयता र संगठनात्मक विधि, पद्धतिमा चल्ने पार्टी बनाउन चाहन्छौं । नेपाली श्रमजीवि जनतालाई खुसी र राहत दिनसक्ने र त्यसको नेतृत्व गर्नसक्ने पार्टी बनाउन चाहन्छौं । सामाजिक न्यायासहित निजी, सहकारी र सार्वजनिक क्षेत्रसँग सहकार्य गरेर समाजवादको नेपाली मोडल बनाउन चाहन्छौं । समाजवादको नेपाली मोडल खडा गरेर विश्वसामु देखाउन चाहेका छौँ,’ प्रचण्डको भनाइ छ ।
उनले यही सोचेर नै तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेकोसमेत बताए । ‘मैले जतिबेला पार्टी एकता वा वामगठबन्धनको प्रस्ताव लिएर तत्कालीन एमालेका अध्यक्ष केपी ओलीकोमा गएको थिएँ, तर त्यसो हुन सकेन’, प्रचण्ड भन्छन्, ‘संविधान बन्यो, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, निर्वाचन पनि अब सम्पन्न हुन लाग्यो । अब देशमा राजनीतिक स्थायित्व र विकासतिर लैजाने काम कम्युनिस्ट पार्टीले नै गर्नसक्छ भन्ने विश्वास गरेर पार्टी एकता गरिएको हो तर, ओलीका कारण त्यसअनुरुप पार्टी अघि बढ्न सकेन, सरकार सञ्चालन हुन सकेन । बरु ओलीले संसद नै भंग गरिदिए ।’
पद र कुर्सी नपाएर हो ?
प्रतिनिधि सभा विघटनपछि नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आन्दोलनलाई कतिपयले पद र कुर्सीका लागि भएको आरोप पनि लगाएको पाइन्छ । तर यस्ता आरोपलाई प्रचण्ड अस्वीकार गर्छन् । उनले पटक पटक भन्ने गरेका छन्, ‘यो संघर्ष पद र कुर्सीका लागि होइन, यो संघर्ष संविधान र व्यवस्था बचाउनका लागि गरिएको हो ।’
प्रचण्डले भनेजस्तै संविधान र राजनीतिक प्रणाली बचाउने त छँदैछ, अबको नेकपा कस्तो बन्छ त भन्ने प्रश्न पनि सँगै उब्जिएको छ । यसअघिकै नेकपा बनाउने हो वा कम्युनिस्ट सिद्धान्त र विचार बोक्ने, त्यसलाई कार्यान्वयन गर्ने अनि जनताका समस्या देख्ने, सुन्ने र समाधान गर्ने नेकपा ? यो प्रश्नमा प्रचण्डको भनाइ छ, ‘हाम्रो चिन्ता यो देशलाई कसरी समृद्ध बनाउने ? कसरी सुशासन दिने ? नेपाली युवालाई कसरी रोजगारी सृष्टि गर्ने ? उद्योग, व्यवसाय फस्टाउने वातावरण कसरी बनाउने ? राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्ने ? सबै जातजाति भाषाभाषी, क्षेत्र, समुदायलाई समावेसी, समानुपातिक मान्यता अनुसार कसरी सामाजिक न्याय दिने भन्ने हाम्रो चिन्ता हो ।’
प्रचण्डले भनेजस्तै नेकपाको घोेषणा पत्र र राजनीतिक प्रतिवेदनमा पनि यिनै कुरा लेखिएका छन् ।
कस्तो मूल्यको राजनीति ?
प्रचण्डमात्रै होइन, अर्का अध्यक्ष माधवकुमार नेपाल पनि आफुहरु मूल्यको राजनीति गर्ने बताउँछन् । ‘हामी मूल्यको राजनीति गर्छौं, विचारको राजनीति गर्छौं’, उनी भन्छन् ।
अध्यक्ष नेपाल केपी ओलीमा कुनै कम्युनिस्ट चरित्र नै नभएकाले समस्या आएको भन्दै अबको नेकपा त्यस्तो नहुने दाबी गर्छन् । ‘पार्टी अध्यक्षको रुपमा केपी ओलीले कस्तो भूमिका खेल्नुभयो ? पार्टीभित्र उहाँले कस्तो विधि बसाल्न खोज्नुभयो ? उहाँले पार्टीका सिद्धान्तलाई कसरी मिच्नुभयो ? पार्टीलाई कसरी मत्युतुल्य बनाउनुभयो ? पार्टीलाई कागजमा सीमित गर्दै झण्डैझण्डै सिध्याउने काम कसरी गर्नुभयो ?’, अध्यक्ष नेपालको प्रश्न छ । अध्यक्ष नेपाल यतिमै रोकिदैनन्, भन्छन्, ‘प्रधानमन्त्रीका रुपमा रहेर ओलीले यो देशलाई कसरी भ्रष्टाचारमा फसाउनुभयो ? जनताका समस्यालाई कसरी बेवास्ता गर्नुभयो, उहाँले संसदलाई कसरी बेवास्ता गर्नुभयो र आफ्नै संसदीय दललाई कसरी अवमूल्यन गर्नुभयो ? उहाँले प्रतिपक्षी पार्टीसँग कस्तो व्यवहार गर्नुभयो, कुटनीतिक सम्बन्धलाई कसरी उपयोग गर्न खोज्नुभयो ?’
यी सबैको एउटै निश्कर्ष निकाल्दै नेपाल भन्छन्, ‘केपी ओली सिद्धान्तनिष्ट मानिस होइनन्, कम्युनिस्ट आदर्शका निम्ति समर्पित हुने मान्छे होइनन्, उनी सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन् ।’
नेपाल ओलीकै कारण कम्युनिस्ट चरित्रको क्षयीकरण सुरु भएको दाबी पनि गर्छन् । ‘संविधानलाई ओलीले कसरी मिच्नुभयो ? हामी एकाधिकारवादको विरुद्धमा छौं । हामी चाहन्छौं प्रत्येक व्यक्तिहरु संविधान र कानुनको अधिनमा रहनुपर्छ । पार्टीका प्रत्येक व्यक्तिहरु पार्टीको विधानको अधिनमा रहुन् । तर केपी ओली जहिले पनि विधानभन्दा आफुलाई माथि ठान्ने गर्छन्’, नेपालको भनाइ छ ।
मानिसको चरित्र कस्तो छ भन्ने प्रमुख कुरा भएको भन्दै ‘पार्टीले प्रत्येक नेता र सरकारलाई निगरानी गर्ने पार्टी बनाउने’ अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा