शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित टेलिभिजन प्रस्तोता लेरी किङको निधन

शनिबार, १० माघ २०७७, २३ : २०
शनिबार, १० माघ २०७७

एजेन्सी । अमेरिकी सञ्चारमाध्यम सिएनएनका पूर्व प्रस्तोता लेरी किङको ८७ वर्षको उमेरमा निधन भएको छ । किङले सिएनएनमा २५ वर्षसम्म ‘लेरी किङ लाईभ’ नामक कार्यक्रम प्रस्तुत गरेका थिए । यसक्रममा उनले राष्ट्रपतिका उम्मेदवार, सेलिब्रेटी, खेलाडी, फिल्मस्टार तथा सर्वसाधारणसँग अन्तर्वार्ता लिएका थिए । २०१० मा  आफ्नो शोका ६ हजारभन्दा धेरै शृंखला रेकर्ड गराएपछि उनले अवकास लिए । उनको व्यक्तित्व र प्रश्न सोध्ने शैलीको ठूलो प्रशंशा हुने गरेको थियो । 

लेरीका छोरा चान्सले शनिबार बिहान आफ्ना बाबुको निधनको पुष्टि गरेका हुन् । उनको आधिकारिक फेसबुक एकाउन्टमार्फत पनि विज्ञप्ति जारी गर्दै निधनको जानकारी दिइएको छ । लस एन्जलसस्थित सेडार्स सिनाई मेडिकल सेन्टरमा उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, निधनको कारण खुलाइएको छैन । लेरीले आफ्नो दशकौं लामो पत्रकारिता जीवनमा रेडियो, टेलिभिजन र डिजिटल मिडियाहरुमा काम गरे । उनको मिडिया करियर १९५७ मा सुरु भएको थियो र सिएनएनसँग उनी १९८५ मा जोडिएका थिए । 

पारिवारिक स्रोतअनुसार डिसेम्बरको अन्त्यमा कोभिड १९ देखिएपछि सिडर्स सिनाई अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सिएनएनका अध्यक्ष जेफ जुकेरले विज्ञप्ति जारी गर्दै लेरीको निधनले शोकाकुल बनेको जनाएका छन् । लारीलाई धेरै स्वास्थ समस्याहरु थियो र उनलाई पटक–पटक हृदयघात पनि भएको थियो । सन् १९८७ मा उनले क्विन्टपल बाइपास सर्जरी पनि गराएका थिए । यसपछि उनले वीमा नगरेका व्यक्तिहरुलाई उपचारमा सहयोग पुु¥याउने हेतुुले लेरी किङ कार्डियक फाउन्डेशन स्थापना गरे ।

२०१७ मा लेरीले आफुलाई फोक्सोको क्यान्सर देखिएको र सफल शल्यक्रियामार्फत उपचार गराएको खुलासा गराएका थिए । गत वर्ष केही साताको अन्तरमै उनले आफ्ना दुुई छोराछोरी गुमाएका थिए । छोरा एन्डी किङको हृदयघातका कारण ६५ वर्षको उमेरमा र फोक्सोको क्यान्सरपछि छोरी चाइआ किङको ५२ वर्षको उमेरमा निधन भएको थियो । उनका तीन छोराहरु जीवित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप