सेयर बजारको सम्पत्ति जीडीपीकोे नजिक, लगानीमा जोखिम कसरी घटाउने ?
काठमाडौं । सेयर बजार यतिबेला दिन प्रतिदिन बढ्दै जाने क्रममा छ । बिहीबारको अन्तिम कारोबारका आधारमा सेयर बजार परिसूचक (नेप्से) २ हजार ३ सय ७४ दशमलव ६४ विन्दुमा पुगिसकेको छ । परिसूचक बढ्दा बजार पुँजीकरण समेत दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबारको अन्तिम कारोबारका आधारमा नेपाली पुँजीबजारमा सूचीकृत कम्पनीको ३१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
अहिले नेपालको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रहेको छ । यो आधारमा नेपालको पुँजीबजार कुल ग्राहर्स्थ उत्पादनको ८४.९० प्रतिशत बराबर हो । बजार दिनप्रतिदिन बढ्दै जाँदा र बजारमा नयाँ कम्पनीहरु थपिँदै जाँदा बजार पुँजीकरण कुल ग्राहर्स्थ उत्पादनको नजिक पुग्ने अवस्था देखिएको छ ।
सेयर बजारका पिता भनेर चिनिने वारेन बफेटले बजार पुँजीकरण र जीडीपीको अनुपातलाई पुँजीबजारको जोखिम मापन गर्ने आधारको रुपमा पहिलोपटक प्रयोग गरेका थिए । फाइनान्सियल इकोनोमिस्ट मुक्ति अर्यालका अनुसार यस्तो अनुपातको स्ट्यान्डर्ड शतप्रतिशत हो । कुल ग्राहर्स्थ उत्पादन भन्दा कम बजार पुँजीकरण हुनुलाई ‘अन्डरभ्यालुड’ बजार पुँजीकरण भनिन्छ । त्योभन्दा बढी पुँजीकरण हुनुलाई ‘ओभरभ्यालुड’ बजार मानिन्छ । यही आधारमा जोखिमको मूल्यांकन गर्ने चलन रहेको अर्थशास्त्री अर्यालको भनाइ छ ।
नेप्सेको पुँजीकरणले भेट्ला जीडीपी ?
अहिले बजार परिसूचक २ हजार ५ सय विन्दुभन्दा कम रहँदै बजार पुँजीकरण ३२ खर्बको नजिक पुगेको छ । जबकी यो पुँजीकरण अघिल्लो वर्षसम्म यसको आधा भन्दा पनि कम अर्थात् १५ खर्बभन्दा तल झरेको थियो । २०७६ सालको पुसमा मात्रै बजार पुँजीकरण १४ खर्ब ६० अर्बसम्म झरेको थियो । करिब एक वर्षको अवधिमा सेयर बजारको कुल सम्पत्तिमा दोब्बरभन्दा बढीको वृद्धि भएको हो ।
बजार पुँजीकरण बढ्नुमा सेयर बजार बढ्नु मात्रै प्रमुख कारण होइन । बजारमा ठूला र नयाँ कम्पनीहरु सूचीकृत हुँदै गर्दा यसले पुँजीकरणमा ठूलो योगदान दिँदै आएको छ ।
गत असारदेखि कारोबार सुरु भएको नेपाल पुनर्बीमा कम्पनी अहिले १ खर्ब ५० अर्ब भन्दा बढी बजार पुँजीकरणसहित पुँजीबजारकै दोस्रो ठूलो कम्पनीको रुपमा उदाएको छ । योबीचमा २ वटा जीवनबीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, केही हाइड्रोपावर र लघुवित्त संस्थाहरु समेत बजारमा सूचीकृत भइसकेका छन् । यसले समेत पुँजीकरणलाई बढाएको छ । बजारमा प्रभाव पार्ने ठूला कम्पनीहरु अझै पनि आउने क्रममा नै रहेका छन् ।
नेपालकै सबैभन्दा ठूलो आईपीओको रुपमा रहेको नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सेयर अहिले सूचीकरणको चरणमा रहेको छ । यो सेयर सूचीकरण हुँदा बजारमा २० करोड कित्ता सेयर थपिँदा २० अर्बको सेयर थपिन्छ । अंकित मूल्यकै आधारमा पनि यो २० अर्ब रुपैयाँ बराबर हो । यो सेयरको मूल्य ५ सय मात्रै पुग्यो भने पनि १ खर्ब रुपैंयाँ एउटै कम्पनीबाट थप हुने अवस्था देखिन्छ ।
उता, अझै ८ वटा जीवनबीमा कम्पनीहरु अहिले पनि आईपीओ निष्कासन गर्ने चरणमा छन् । यी सबै गरेर करिब १७ अर्ब रुपैयाँ बराबरको सेयर बजारमा सूचीकरण हुन्छ । अहिलेको बजारमूल्यका आधारमा यी सेयरले बजार पुँजीकरणमा थप १ खर्ब बराबरको योगदान दिनसक्ने सम्भावना देखिन्छ । यद्यपि बजारमूल्य अहिले नै अनुमान गर्नसक्ने विषय भने होइन ।
बुक बिल्डिङमार्फत् महँगो मूल्यमा आईपीओ निष्कासन गर्ने व्यवस्था लागु भएपछि केही ठूला कम्पनीहरु दोस्रो बजारमा जान अग्रसर देखिएका छन् । सञ्चालन अनुमति पाएर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरु पनि आईपीओको प्रक्रियामै छन् । अहिलेको बजारलाई स्थिर मान्ने हो भने पनि केही समयभित्रै बजार पुँजीकरणले कुल ग्राहर्स्थ उत्पादनको मापदण्डलाई छुने अवस्था देखिएको छ ।
सूचकको प्रभावकारिता कति ?
बजार पुँजीकरणलाई कुल ग्राहर्स्थ उत्पादनसँग जोडेर जोखिम मूल्यांकन गर्ने वारेन बफेटको यो विधि सुरुको समयमा प्रयोगमा आए पनि पछिल्लो समय यसको यसलाई कम प्रयोग गरिने गरिएको अर्थाशास्त्री अर्याल बताउँछन् । जीडीपी र बजार पुँजीकरणको गणनामा रहेको समस्या नै यसको मुख्य कारण हो ।
विकसित मुलुकहरुमा बजारको पुँजीकरण गणनामा निकै समस्या हुन्छ । एउटा देशको कम्पनी अर्को देशको पुँजीबजारमा सूचीकृत हुनसक्ने मात्रै होइन, कुनै कम्पनीको बजार पुँजीकरण अर्को देशको कुल ग्राहर्स्थ उत्पादनले समेत प्रभाव पार्नसक्ने भएकोले यसलाई कम प्रयोग गरिएको अर्यालको भनाइ छ ।
‘अमेरिकाको कोकाकोला कम्पनीको बजार पुँजीकरणलाई नेपालमा भएको यो कम्पनीको व्यापारले असर गर्छ । यस्तो अवस्थामा दुईवटा सूचकको तुलनाले काम गर्दैन भन्ने आधारमा यसलाई कम प्रयोग गर्न थालिएको छ,’ उनले भने, ‘नेपालजस्तो अल्पविकसित तथा विकासशील देशमा भने अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो हुने भएकोले जीडीपीको मापन कमजोर हुन्छ । यसले पनि यो सूचकको प्रभावकारितालाई कम गर्छ ।’
राष्ट्र बैंक अनुसन्धान विभागका उपनिर्देशक सुशील पौडेल पनि अनौपचारिक क्षेत्रका कारण नेपालको जीडीपी वास्तविकता भन्दा कम रहेको हुनसक्नेमा सहमत छन् । त्यसैले नेपालको जीडीपीको वास्तविक आकार अहिलेको देखाइएको भन्दा निकै धेरै हुनसक्ने उनको भनाइ छ ।
सेयर बजारसम्बन्धी जानकार दिलिप मुनकर्मी भने नेप्सेको बजार पुँजीकरण गणना गर्ने अहिलेको विधि नै सही नभएको अवस्थामा यो सूचकले प्रभावकारी ढंगले काम गर्न नसक्ने बताउँछन् । अहिले नेप्सेले संस्थापक सेयर र साधारण सेयरलाई एउटै मानेर बजार पुँजीकरणमा समावेश गर्ने गरेको भन्दै यो वास्तविक हुनै नसक्ने उनको भनाई छ ।
‘बजारमा दुईवटा फरक फरक मूल्यमा कारोबार हुने सेयरहरुलाई पनि साधारण सेयरको मूल्यमा पुँजीकरणमा गणना गर्ने गरिएको छ । यो उपयुक्त होइन,’ मुनकर्मीले भने, ‘बजारमा सेयर, ऋणपत्र, अग्राधिकार सेयर लगायत सबै धितोपत्रको पुँजीकरण गण्ना हुनुपथ्र्यो, त्यो पनि भएको छैन ।’
लगानीमा जोखिम कसरी घटाउने ?
बजार बढेसँगै सेयरमा लगानीको जोखिम समेत दिन प्रतिदिन बढ्दै गएको छ । यसले गर्दा लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्न पछिल्लो समय निकै कठिन हुँदै गएको छ । गणनामा हुने कमजोरीका बाबजुद लगानी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्णय गर्न यो सूचकलाई प्रयोग गर्न सक्नेमा भने तीनै जना विश्लेषकहरु सहमत छन् ।
विश्लेषक मुनकर्मी कारोबारीका लागि यो सूचक उपयुक्त हुनसक्ने बताउँछन् । दीर्घकालीन लगानीकर्तालाई भने कम्पनीको आधारभूत पक्षलाई विचार गरेर मात्रै लगानीको निर्णय गर्न उनको सुझाव छ । अर्थशास्त्री अर्याल पनि कमजोरी पक्षलाई विचार गरेर यो सूचकको प्रयोग गर्न सके जोखिम कम गर्नको लागि यो सूचक उपयोगी हुनसक्ने बताउँछन् ।
कुन देशमा कस्तो छ अवस्था ?
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको संयुक्त राज्य अमेरिकाको स्टक बजारको कुल बजार पुँजीकरण ५०.८१ ट्रिलियन छ । जबकी अमेरिकको कुल ग्राहर्स्थ उत्पादन २०.८ ट्रिलियन रहेको अनुमान गरिएको छ । यो हिस्सा करिब २ सय ४४ प्रतिशत हो ।
त्यस्तै, दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनको बजार पुँजीकरण अहिले ११.७२ ट्रिलियन छ । जबकी सन् २०२० मा चीनको जीडीपी १३.९४ ट्रिलियन डलर रहने अनुमान गरिएको छ । भारतको कुल ग्राहर्स्थ उत्पादन सन् २०२० मा २.६ ट्रिलियन डलर रहेकोमा अहिले पुँजीबजारको पुँजीकरण करिब २.५ ट्रिलियन डलर पुगिसकेको छ । यो करिब ९८ प्रतिशत बराबर हो ।
सामान्यतया बजार पुँजीकरणका आधारमा उच्च आय भएका विकसित देशहरुको बजार पुँजीकरण तुलनात्मक रुपमा बढी हुने र कम आय भएका देशमा कम हुने गरेको विश्व बैंकको तथ्यांकले देखाउँछ । विश्व बैंकका अनुसार सन् २०१९ मा उच्च आय भएका मुलुकहरुको औसत बजार पुँजीकरण १ सय १८ प्रतिशत थियो । उच्च मध्यम आय भएका मुलुकहरुमा यो आकार ६० प्रतिशत थियो । त्यस्तै, मध्यम आय भएका मुलुकमा ६० प्रतिशत, निम्नमध्यम आय भएका मुलुकको ६१ प्रतिशत रहेको थियो । औसत बजार पुँजीकरण भने सो वर्ष करिब ९१ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको
-
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ
-
नेतन्याहू, ग्यालेन्ट र डिफविरुद्ध आइसिसीको पक्राउ पुर्जी जारी
-
चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा