शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तानातानमा काँग्रेस : नेकपाका दुई समूह बूढानीलकण्ठ र बोहोराटार धाउँदै

शनिबार, १० माघ २०७७, १६ : ३७
शनिबार, १० माघ २०७७

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि सत्ता र सडकमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तानातानमा नेपाली काँग्रेस परेको छ । सत्ताको नेतृत्व गरिरहेको केपी शर्मा ओली समूह र सडक सङ्घर्षमा रहेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले काँग्रेससँग सहयात्रा–सहकार्यका लागि हात फिँजाइरहेका छन् । काँग्रेसलाई सहयात्रा–सहकार्यको निम्तोसहित ओली र प्रचण्ड–नेपाल समूह काँग्रेसभित्रका शक्तिकेन्द्र धाइरहेको देखिन्छ । 

पार्टीमा अन्तरविरोध देखिएसँगै काँग्रेससँग सम्बन्ध विस्तारमा जुटेका नेकपाका दुई समूह यतिबेला बूढानीलकण्ठ र बोहोराटार धाउन व्यस्त छ । 
प्रतिनिधिसभा विघटनले नेकपामा निम्त्याएको विभाजनबाट केन्द्रदेखि प्रदेशसम्मको राजनीतिक मोर्चामा काँग्रेस निर्णायक देखिएपछि ओली र प्रचण्ड–नेपालले सहकार्यका लागि जोड दिएको हो । 
आफूहरुसँग आक्रमक देखिएको काँग्रेसी कित्तालाई मनाउन ओली र प्रचण्ड–नेपाल पक्षले भेटघाट बढाएको बुझिएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवा ओलीसँग नजिकेको छनक पाएपछि २९ पुसमा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
उनीहरु प्रतिनिधि सभा पुनः स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि सहकार्यको प्रस्ताव लिएर देउवासामु पुगेका थिए ।

 प्रचण्ड–नेपालले यसबारे देउवाबाट ठोस् जवाफ नपाई फर्किए । तर आन्दोलन, सत्ता र चुनावसम्म मिलेर अघि बढ्ने प्रस्ताव लिएर प्रचण्ड–नेपाल देउवा निवास पुगेपछि ओली पक्ष पनि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटार पुगेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा काँग्रेसभित्र देखिएको मत विभाजनमाथि नेकपाका दुवै समूहले प्रभाव जमाउन खोजेको छ । सोहीअनुसार काँग्रेसभित्रको आफूविरोधी कित्तालाई पदको प्रलोभन देखाएर मनाउन नेकपाका दुवै समूहको कसरत जारी राखेको बताइएको छ । 

प्रचण्ड–नेपाल समूहले देउवा भेटेझैँ बिहीबार (माघ ८ गते) ओली पक्षका महासचिव विष्णु पौडेलले रामचन्द्र पौडेललाई भेटेको खुलेको छ । प्रतिनिधि सभा विघटनमा आक्रमक देखिएका रामचन्द्रलाई मनाउन प्रधानमन्त्री ओलीको दूतका रूपमा विष्णु बोहोरोटार उनको निवासमै पुगेका थिए ।

रामचन्द्र र विष्णुबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो ।

प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त आन्दोलनको मोर्चा बनाउन काँग्रेसभित्र सङ्घर्ष गरिरहेका रामचन्द्र र अर्थमन्त्री विष्णुबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
किनभने ओली पक्षका नेताहरुमध्ये रामचन्द्रसँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भएको नेतामा पर्छन् विष्णु ।

पौडेल सचिवालयले अर्थमन्त्री पौडेल बोहोरोटार आएको बताए पनि छलफलको विषय भने खुलाउन चाहेन । 
निर्वाचन प्रतिपक्षका लागि प्रतीक्षाको विषय भएको भन्दै अर्थमन्त्री पौडेलले संसद् पुनःस्थापनमा जोड नदिन काँग्रेस नेता पौडेललाई आग्रह गरेका थिए ।

पौडेल पक्षीय एक केन्द्रीय सदस्यका अनुसार प्रदेशको सत्ता समीकरणका विषयमा छलफल केन्द्रित थियो । पौडेलद्वय बीचको छलफल सकारात्मक हुन नसकेको बुझिएको छ ।
यता बागमती र प्रदेश १ को सत्ता समीकरणका सन्दर्भमा ओली समूहसँग सहकार्य गर्नु हुँदैन भन्ने आवाज काँग्रेसमा बलियो छ ।

बुधबार र शुक्रबार देउवा निवासमा बसेको प्रदेश एक र बागमती प्रदेशका केन्द्रीय नेतासँगको छलफलमा संस्थापनइतर पक्षीय र संस्थापन पक्षका कतिपय सदस्यले सडकमा ओलीको कदमविरुद्ध आन्दोलन गरिरहेका बेला प्रदेशमा त्यही समूहसँग सहकार्य गर्नु राम्रो नहुने बताएका थिए । सैद्धान्तिक र राजनीतिक रूपमा ओली समूहसँग गठबन्धन प्राकृतिक नदेखिने नेताहरुको भनाइ छ । तर प्रदेश सरकार निर्माणका विषयमा आवश्यक निर्णय प्रदेश संसदीय दललाई गर्न दिनु व्यावहारिक र लोकतान्त्रिक हुने देउवाको भनाइ थियो ।

काँग्रेसको प्रदेश कार्यसमिति गठन नभएकाले केन्द्रले नीतिगत निर्णय लिनुपर्नेमा पौडेलको जोड थियो ।
बैठकमा प्रवक्ता विश्वप्रकाश शर्मा समेतले वर्तमान सरकारलाई समर्थन गर्न नहुनेमा जोड दिएका थिए । 

सडकमा केपी ओलीको विरुद्धमा भाषणा गर्ने र संसदमा गएर केपी ओलीको लाइनलाई समर्थन गर्ने कुरा राम्रो नहुने उनको भनाइ थियो ।
नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि ओली समूहले काँग्रेसको साथ खोजेको छ । 

यता अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–नेपाल समूह सरकार निर्माणका लागि काँग्रेसको समर्थनको पर्खाइमा छ । बागती प्रदेशका मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारे पनि प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष काँग्रेसको साथ अनिवार्य बनेको छ । 

ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा प्रचण्ड–नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमा पुर्याउन काँग्रेसको साथबिना सम्भव छैन ।

१ सय १० सांसद रहेको बागमती प्रदेशमा सरकार जोगाउन र बनाउन ५६ सांसदको आवश्यक पर्छ । ओली पक्षसँग ३६ सांसद देखिएका छन् भने प्रचण्ड–नेपाल ४४ सांसद छन् । पछिल्लो समय प्रचण्ड–नेपाल पक्षका तीन सांसद ओली पक्षतिर र ओली पक्षका एक सांसद प्रचण्ड–नेपाल समूहतिर लागेका अवस्था छ ।

मुख्यमन्त्री पौडेललाई सरकार बचाउन थप २० सांसद आवश्यक पर्नेछ भने शाक्यलाई सरकार बनाउन १२ सांसद अपुग देखिन्छन् । यस्तो अवस्थामा प्रदेश सभामा २२ सांसद रहेको काँग्रेस निर्णायक देखिएको छ । 
विवेकशील साझाका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद एक सांसद प्रचण्ड–नेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन भने उनीहरुले मुख्यमन्त्री पौडेललाई समर्थन गरे पनि सरकार जोगिने अवस्था छैन ।

त्यसैले अर्थमन्त्री पौडेलले काँग्रेसको समर्थन जुटाउन काँग्रेस नेता पौडेल गुहारेको बुझ्न गाह्रो छैन । सभापति देउवा निर्वाचनको पक्षमा रहेकाले आफूहरुसँग सहकार्य हुने ओली पक्षको बुझाइ छ । देउवाका विश्वास पात्र पार्टी केन्द्रीय सदस्य एनपी साउदले पनि काँग्रेसले प्राथमिकता छुट्याएर प्रदेश समीकरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबैभन्दा पहिले हामी संसद पुनः स्थापना चाहन्छौँ कि निर्वाचन चाहन्छौँ ? यसका निरूपण जरुरी छ । यदि हामीले निर्वाचनमा जानुपर्ने भए निर्वाचनका लागि सहयोगी शक्तिलाई नै साथमा लिएर अगाडि बढ्नुपर्छ । हामी निर्वाचनको अन्य विकल्पमा जाने भने मात्र अन्य शक्तिसँग सहकार्य गर्ने कुरा भयो ।’

निर्वाचनलाई प्राथमिकतामा राखेर प्रदेशको पनि समीकरण बनाउनुपर्ने  साउदको भनाइ छ । 

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने संविधान र लोकतन्त्रको संरक्षणलाई केन्द्रमा राखेर जानुपर्ने बताए ।
उनले भने, ‘नेताहरुबीच जाने, आउने र भेटघाट भइराख्छ । यो राजनीतिक संस्कार पनि हो । संविधानको रक्षा कसरी गर्ने र लोकतन्त्रको संरक्षण कसरी गर्ने भन्ने मूल प्रश्न हो । लोकतन्त्रिक प्रणालीमाथि समस्या आएको छ ।’

तर भेटघाटबाट लोकतन्त्र र संविधानको संरक्षण गर्दै जनतालाई लोकतान्त्रिक शासन व्यवस्थाप्रति विश्वास  बढाउने निचोड निकाल्नुपर्ने उनको भनाइ छ । ‘उहाँहरु (ओली र प्रचण्ड–नेपाल)ले आफ्नो आफ्नो पक्षमा आउन आग्रह गरिराख्नु भएको छ । तर मूल कुरा संविधानको रक्षा र लोकतन्त्र संरक्षण, त्यसप्रतिको प्रतिबद्धता, भविष्यमा यस्ता किसिमका घटना नहुने निश्चिता वार्ताको निष्कर्ष हुनुपर्छ,’ जोशीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप