शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दर्शक बिनै आयोजना हुनसक्छ टोकियो ओलम्पिक’

शनिबार, १० माघ २०७७, १५ : २२
शनिबार, १० माघ २०७७

यदि यसै वर्ष जापानमा ओलम्पिक खेल आयोजना हुने हो भने यो प्रतियोगिता दर्शक बिना नै पनि सञ्चालन गर्नुपर्ने हुनसक्ने एथलेक्टिसका प्रमुख लर्ड कोयले बताएका छन् । 
विश्व एथलेटिक्स महासंघका प्रशिक्षक कोय ओलम्पिक र पारा ओलम्पिक आयोजना हुनेमा भने आत्मविश्वासी देखिएका छन् । जबकी, यसअघि बेलायती वेवसाइट टाइम्सले ओलम्पिक खेल स्थगित गर्नेबारे जापान सरकारले गोप्य निष्कर्ष निकालिसकेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । 

टोकियो ओलम्पिक २०२० मै आयोजना हुनुपर्ने थियो । तर, कोरोना भाइरस महामारीका कारण यसलाई एक वर्ष पछि सारेर २०२१ मा गर्न लागिएको हो । ‘मलाई फ्यानहरु भएको र हल्लाखल्ला राम्रो लाग्छ,’ कोयले बीबीसीसँग भने,‘  तर यदि हामीले बन्द ढोकामै मात्र यसलाई आयोजना गर्न सक्ने अवस्था आयो भने मेरो बुुझाईमा सबैले यसलाई स्विकारिरहेका छन् ।’

२०१० को लण्डन ओलम्पिकको आयोजक समितिको नेतृत्व गरेका कोय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य पनि हुन् । उनले ओलम्पिक स्थगित गर्नु यर्थाथपरक समाधान नहुने बताए ।   
जापानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि बढेकाले ओलम्पिक  आयोजनाबारे बहस भइरहेको छ । अधिकांश युरोपेली देशहरुमा समेत संक्रमण उच्च स्थानमा रहेकाले प्रभावित देशबाट खेलाडी, अधिकारी तथा दर्शकहरुको सहभागिताका विषयमा स्वभाविक प्रश्न उठ्ने नै भयो । टोकियो क्षेत्रमा पछिल्लो समय संकटकाल नै लगाइएको छ । शुक्रबार टाइम्स पत्रिकाले जापानको सत्तारुढ गठबन्धनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ओलम्पिक स्थगित हुने जनाएको थियो । 

यस समाचारपछि टोकियो ओलम्पिकका आयोजकहरुले विज्ञप्ति जारी गर्दै जापानका प्रधानमन्त्री योसिहिदे सुुगाले ओलम्पिक खेल आयोजनाका लागि प्रतिबद्धता व्यक्त गरेको र सबै सरोकारवालाहरु कार्यक्रम गर्नेमा केन्द्रीत रहेको प्रतिक्रिया दिएका थिए । आईओसीले ओलम्पिक स्थगित हुने विषय असत्य रहेको जनाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप