शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य : मन्त्री ज्ञवाली

शनिबार, १० माघ २०७७, १५ : १८
शनिबार, १० माघ २०७७

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।


साधारणसभाको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।  

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने,  'संकटको  यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।'

ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुशी व्यक्त गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले  नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए । 

विशेष महाधिवेशनलाई  सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको  पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । 

संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा,  दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । 

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए । 

संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले  गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए भने निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार एकजुट भएर अघि बढ्न आव्हान गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप