डेरा खोज्न आएको बहानामा घरधनीलाई बन्धक बनाएर लुटपाट

डेरा खोज्न आएको बहानामा एक घरमा लुटपाट भएको छ । पेप्सिकोलानिवासी पवित्रा विडारी उप्रेतीको घरमा यसरी लुटपाट भएको हो ।
सनसिटी अपार्टमेन्टसँगै रहेको हिमालय टोलमा डेरा खोज्न आएका ती युवाले पवित्रालाई घरभित्रै बन्धक बनाएर सुनको सिक्री लुटेका थिए । असोज ८ मा भएको सो लुट प्रहरीका लागि टाउको दुखाइको विषय थियो । तर, लामो अनुसन्धान पछि लुटेरा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरले लुटमा संलग्न ५ जना आरोपीलाई पक्रेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएका विश्व लामा उर्फ विश्वमित्र, पेमा भोलन ‘पेम्बा’, अजय तामाङ उर्फ आकाश, सञ्जिव तामाङ र फुर्वा ग्याल्मो तामाङ उर्फ बिक्की छन् ।
डेरा खोज्दै पेप्सिकोला गएको सो समूहले भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल गरेका थिए । डेरा लिने–दिने सहमति भएपछि उनीहरुले घरधनी पवित्रालाई सोधे–‘घरमा को–को बस्छन् ?’
दोस्रो तल्ला भाडामा दिइएको थियो । माथिल्लो तल्लामा उनका छोरा बस्थे । घरमा अन्य मानिस नभएको सुराक लिएर सो समूहले पवित्रालाई ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ भन्दै बन्धक बनाएर लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए ।
दिनदहाडै भएको सो घटनामा संलग्न लुटेरा पत्ता लगाउन प्रहरीले निकै मेहनत गरेको थियो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंसिर २८ मा काभ्रेपलाञ्चोक घर भएका २२ वर्षीय फुर्वा ग्याल्मो तामाङ उर्फ बिक्कीलाई पक्राउ गरेपछि पेप्सीकोला लुटको क्लू प्रहरीले पाएको थियो ।
मोटरसाईकल चोरी मुद्दामा पक्राउ परेका ‘बिक्की’लाई सो मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । तर, धरौटी नतिरेपछि उनी केन्द्रीय कारागार, सुन्धारामा छन् । बिक्की समूहका अन्य चारजना अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।
‘लुटपाटमा संलग्न आरोपीहरुलाई संगठित अपराध तथा डाँकाचोरी मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) प्रमेश विष्ट भन्छन् ।
लुटेरामध्ये काभ्रेपलाञ्चोक तेमाल घर भएका सञ्जिव बौद्धस्थित नयाँ बस्तीमा बस्छन् । २६ वर्षीय सञ्जिव पेसाले ट्याक्सी चालक हुन् । समूह बनाएर वरपरका मानिसहरुको आवत–जावत रोकेर उनीहरुले पवित्राको घरमा पसेर लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पवित्रालाई बन्धक बनाएर सुनको सिक्री लुटेपछि दुईजना युवा चप्पल छाडेर स्कुटरमा भागेका थिए । लुटपाटमा संलग्न थप पाँचजना फरार छन् । उनीहरुको खोजी भइरहेको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध