निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबाट भएको उक्त कार्यक्रममा भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गरे ।
कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे भर्चुअल माध्यामबाट जानकारी गराएका थिए ।
प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर