बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६ महिनामा साढे ६ खर्बको आयात

बिहीबार, ०८ माघ २०७७, १६ : ४२
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको (साउनदेखि पुस मसान्तसम्म) तथ्याङ्कअनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनाको तथ्याङ्कअनुसार ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । 

यसैगरी, ६ महिनाको अवधिमा रु साठी अर्ब ७९ करोड ९९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रु ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।  तथ्याङ्क अनुसार यो वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ । 

हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.८७ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार ६ महिनामा रु सात खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु छ अर्ब ४६ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो । 

चालू आवको ६ महिनाको तुलनामा पुस महिनामा मात्र रु एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले रु एक खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ । यो वर्ष विभागले रु चार खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब ४ करोड र असोज महिनामा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो । 

यसैगरी, कात्तिक महिनामा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड र पुस महिनामा सबैभन्दा धेरै रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । ६ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप