शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमित संख्या बढेपछि चीनले नयाँ क्वारेन्टाइन क्याम्प बनाउँदै

बिहीबार, ०८ माघ २०७७, १५ : १४
बिहीबार, ०८ माघ २०७७

केही व्यक्तिमा कोभिड १९ को संक्रमण देखिएपछि करोडभन्दा धेरै जनसंख्यालाई कडा लकडाउनमा राखेको चीनले अहिले ठूलो क्वारेन्टाइन क्याम्प बनाउँदैछ । हिबेईको प्रान्तिय राजधानी सिजियाझुआङमा ४ हजार भन्दा धेरै व्यक्तिलाई राख्न मिल्ने क्याम्प बनाउन लागिएको हो । 

चीनले ठूलो रुपमा भाइरसको फैलावटलाई नियन्त्रण गरेको छ र देशका अधिकांश भूभागमा अवस्था सामान्य हुँदैछ । यद्यपी, लुनार नयाँ वर्षअघि केही ठाउँमा संक्रमितको संख्या एकाएक बढ्दा  अधिकारीहरु सतर्क देखिएका छन् । चीनमा करोडौं मानिसहरु नयाँ वर्षका अवसरमा आफन्त र साथीभाई भेट्न तथा घुमघाममा निस्कने गर्छन् । 

सिजियाझुआङका अधिकारीहरुले सामुहिक परीक्षण र कडा लकडाउन लागु गरिरहेका छन् । भाइरस नियन्त्रणका लागि उनीहरुले सम्पूर्ण गाउँलाई नै केन्द्रिकृत क्वारेन्टाइनमा बदलेका छन् । अधिकारीहरुले कन्ट्याट ट्रेसिङ र परीक्षणलाई तिव्र बनाइरहको बेला निर्माण भइरहेको नयाँ क्वारेन्टाइन क्याम्पमा कोभिड १९ संक्रमण पुष्टि भएकाहरुलाई राखिनेछ । यस क्वारेन्टाइनमा ३ हजार मानिसहरुलाई राख्ने प्रारम्भिक योजना थियो, तर अहिले क्षमता बढाएर ४ हजार १ सय ६० पु¥याइएको छ । सिजियाझुआङका सहायक मेयर मेन्ग सीआनघोन्गका अनुसार ४ हजारभन्दा धेरै निर्माण मजदुरहरु काम सम्पन्न गर्नका लागि दिन– रातमा खटिएका छन् । १३ जनवरीबाटै अधिकारीहरुले काम सुरु गरेका थिए र अहिले क्याम्पको पहिलो सेक्सनको निर्माण पूरा भएर प्रयोगका लागि यो तयार भइसकेको छ । दोस्रो चरणको काम जारी रहेको सरकारी सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ । 

सुविधासम्पन्न कोठा 
सिसिटिभीका अनुसार यहाँ हरेक कोठाहरु १८ स्क्वायर मिटरका हुनेछन् र त्यससँगै बाथरुम र सावर, डेस्क, कुर्सी, खाट, वाईफाई र टेलिभिजन सेटको व्यवस्था हुनेछ । महामारीको सुरुवातमा पनि चीनले यसरी नै महत्वाकांक्षी योजना ल्याएको थियो । यतिबेला अधिकारीहरुले धेरै स्वास्थ पूर्वाधार तयार गरेका थिए । जसअन्तर्गत १ हजार बेडको एउटा अस्पताल केवल १० दिनमै तयार भएको थियो । 

चीनमा बुधबार १ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् ।१ सय १३ जना लक्षण नदेखिएका संक्रमितलाई भने यस सुचीमा गणना गरिएको छैन । कम्तिमा ६ वटा प्रान्तमा संक्रमण फैलिएको छ । प्रान्तिय स्वास्थ नियोगका अनुसार हिबेई प्रान्तमा अहिले ८ सय ८१ जनामा स्थानीय स्तरमा सक्रिय संक्रमण देखिएको छ र २ सयभन्दा धेरै लक्षण नदेखिएका संक्रमित छन् । गत बुधबार हिबेईमा एक बिरामीको मृत्यु भएको थियो । चीनमा कोरोनाका कारण विगत २ सय ४२ दिनमा मृत्यु हुने यी पहिलो व्यक्ति हुन् । 

मेनल्यान्ड चीनमा यससँगै कुल संक्रमितको संख्या ८८ हजार ५ सय ५७ पुगेको छ । ४ हजार ६ सय ३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । महामारी नियन्त्रणका लागि अधिकारीहरुले ८ जनवरीदेखि सिजियाझुआङ शहरमा कडा लकडाउन गरेका छन्, यहाँको १ करोड १० लाख जनसंख्यालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन प्रतिबन्ध छ । महामारी रोक्नका लागि सिजियाङझुआङका १२ वटा गाउँका २० हजारभन्दा धेरै नागरिकहरुलाई यस अवधिमा विभिन्न क्वारेन्टाइन क्षेत्रहरुमा स्थानान्तरण गरिएको सिसिटिभीले जनाएको छ । अहिलेसम्म हिबेईमा १ करोड ७० लाखभन्दा धेरैको परीक्षण भइरहेको छ । अधिकारीहरुले सिजियाझुआङ र छिन्ताई तथा लाङफाङका शहरमा  अहिले दोस्रो चरणको सामुहिक परीक्षण गरिरहेका छन् । 

बेइजिङका अधिकारीहरुले पनि परीक्षण र स्क्रिनिङलाई बढाएका छन् । तीन साताभन्दा लामो समययता यहाँ पनि संक्रमण बढ्दो छ र दासिङ जिल्लामा धेरै संक्रमित देखिएका छन् । त्यसैले यस जिल्लाका नागरिकहरुलाई नरम खाले लकडाउनमा राखिएको छ । स्थानीय अधिकारीहरुका अनुसार तीन दिनअभित्रको कोभिड १९ नेगेटिभ रिपोर्ट देखाउनसक्नेहरुमात्रै हिँडडुलमा निस्कन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप