शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल बाइडेनले अध्यापन नछाड्ने, ह्वाइट हाउसबाटै जागिर गर्ने पहिलो फर्स्ट लेडी

बिहीबार, ०८ माघ २०७७, १४ : ३५
बिहीबार, ०८ माघ २०७७

एजेन्सी । जिल बाइडेन अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन उपराष्ट्रपति छँदा उनी अमेरिकाकी सेकेन्ड लेडी थिइन् । त्यतिबेला उनले एक सामुदायिक कलेजमा इङ्लिस पढाएकी थिइन् । 

बुधबार पदको सपथ लिएपछि बाइडेनसँगै उनको परिवार ह्वाइट हाउस छिरेको छ । प्रथम महिलाका रुपमा जिल बाइडेनसामु धेरै जिम्मेवारी पनि थपिएको छ । तर, यसका बाबजुद शिक्षण पेशा छाड्ने योजना जिलको छैन । ‘म फस्र्ट लेडी बन्नका लागि आतुर छु, सेकेन्ड लेडीका रुपमा मैले सैनिक परिवारसँग जोडिने, शिक्षण पेशा, क्यान्सर रोगको लडाइँमा जो बाइडेनसँग मिलेर जे गरेको थिएँ, त्यस्तै काम गर्न चाहिरहेको छु,’ गत महिना ल लेट शोमा स्टेफेन कोल्वर्टसँग कुराकानी गर्दै जिलले भनेकी थिइन्, ‘र, पढाउने कामलाई पनि म निरन्तरता दिनेछु ।’

तीन दशकदेखि जिल अध्यापनमा संलग्न छिन् । ओबामा कार्यकालमा आठ वर्षसम्म जो बाइडेन उपराष्ट्रपति छँदा जिलले नर्थ भर्जिनिया कम्युनिटी कलेजमा पढाएकी थिइन् । फर्स्ट लेडी बनेपछि पनि नर्थ भजिनिया कम्युनिटी कलेजमै पढाउने उनको योजना छ । यद्यपी, उनको कार्यालयले यसबारे थप जानकारी दिएको छैन । 

अमेरिकाका फस्र्ट लेडी र ह्वाइट हाउसबारे धेरै चर्चित पुस्तकहरु लेखिसकेका केट एन्डरसन ब्राउअरले शिक्षण पेशालाई निरन्तरता दिने बाइडेनको निर्णय अमेरिकी इतिहासमा अनपेक्षित रहेको बताइन् । ‘सेकेन्ड लेडीले काम गर्नु अस्वभाविक हो । तर फर्स्ट लेडीले काम गर्नु अनपेक्षित नै हो,’ उनले भनेकी छिन् । जिल बाइडेनले आफ्नो करियरलाई माया गर्ने भएकाले यस्तो योजना बनाएको उनले बताइन् ।

महिलाको आफ्नै पहिचान हुनुपर्छ भन्ने विषयलाई यसले स्थापित गर्ने उनले बताइन् । ‘मेरो बुझाई महिलाको आफ्नै पहिचान हुन  आवश्यक छ र त्यसका लागि यो महत्वपूर्ण, विशेषगरी जब तपाई राजनीतिज्ञसँग बिहे गर्नुहुन्छ’ केटले भनिन्, ‘मलाई आशा छ मानिसहरुले जिल बाइडेनको पढाउने इच्छालाई स्वीकार्नेछन् र उनी श्रीमती र आमा हुनुका साथै उनको आफ्नै करियर पनि छ ।’

बाइडेनले लामो समयदेखि इङ्लिस पढाउँदै आएकी छिन् । उनले २००७ मा डेलावेर विश्वविद्यालयबाट एजुकेशनमा  पिएचडी गरेकी थिइन् । बाइडेनले दुुईवटा विषयमा मास्टर डिग्री पनि गरेकी छिन् । गत वर्ष वाल स्ट्रिट जर्नलमा एक लेख लेख्दै जोसेफ इप्ससियनले बाइडेनलाई आफ्नो नाम अगाडि डाक्टर नलेख्न आग्रह गरेका थिए, मेडिकल डाक्टर नभएकाले जिलले आफ्नो नाम अगाडि डाक्टर लेख्न नहुने उनको तर्क थियो । यद्यपि, बाइडेनले उनलाई गतिलो जवाफ फर्काएकी थिइन् । ‘म मेरो पिचएडीबाट गर्वित छु । मेरो अर्थ मैले यसका लागि धेरै मेहिनत गरेको छु,’ उनले द लेट शोमा स्टेफेन कोल्वर्टसँग भनेकी थिइन् । 

गत नोभेम्बरमा चुनावी भाषणका क्रममा जो बाइडेनले जिल सैनिककी आमा र शिक्षिका दुबै भएकाले महान् फस्र्ट लेडी बन्ने दाबी गरेका थिए । ‘उनले आफ्ना जीवन शिक्षणमा समर्पित गरिन् । शिक्षण केवल उनले गर्ने काम होइन, यो उनको परिचय हो’ उनले भनेका थिए, ‘अमेरिकी शिक्षकहरुका लागि यो तपाईहरु सबैको महान् दिन हो ।

ह्वाइटहाउसमा तपाईहरुले आफ्नो एक जनालाई देख्न गइरहनुभएको छ । र, जिल महान् फस्र्ट लेडी बन्दैछिन् । म उनीप्रति धेरै गर्वित छु ।’ १९५१ मा न्यु जर्सीको ह्यामन्टममा जिल बाइडेनको जन्म भएको थियो । उनले १९७० मा बिल स्टेफेन नामका युवासँग विवाह गरेकी थिइन् । १९७५ मा उनीहरुबीच डिभोर्स भयो । 

त्यसपछि एक ब्लाइन्ड डेटमा उनको भेट सिनेटर जो बाइेडनसँग भयो । जोका भाई फ्रयाङ्कले यो भेट तय गरेका थिए । बाइडेनकी पहिलो पत्नी र छोरीको निधन १९७२ मा कार दुर्घटनामा भएको थियो । यस दुर्घटनामा दुई छोराहरु बोउ बाइडेन र हन्टर बाइडेन भने बाँचेका थिए । जोसँगको पहिलो भेटबाटै जिल प्रभावित भइन् । १९७७ मा उनीहरुबीच विवाह भयो । त्यसपछि, जिलले नै बोउ र हन्टरलाई हुर्काइन् । उनीतर्फबाट जो बाइडेनकी एक छोरी एस्ले बाइडेन छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप