प्रधानमन्त्री केपी ओलीज्यू भन्नोस् : सच्चिने कि मिल्किने ?
नेपाली राजनीतिको पछिल्लो घटनाक्रम नियाल्दा ‘यो देशको प्रधानमन्त्री, राष्ट्रपति बन्न मबाहेक अरू कोही योग्य छैनन्’ भन्ने केपी ओली र विद्या भण्डारी सिंहरदरबार/शीतल निवासमा छिरेदेखि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउने हाँस्य पात्र बनेका छन् । लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक अधिकार दुरूपयोग गरेर अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले संसद् विघटन गर्ने खलपात्र सावित भएका छन् । ‘आफूलाई नै एक मात्र सच्चा देशभक्त, लोकतन्त्रवादी, गणतन्त्रवादी, समाजवादी उद्घोष गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरु प्रधानमन्त्री/ राष्ट्रपतिले यो देशमा ‘असंवैधानिक र अलोकतान्त्रिक कु’ गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै हत्या गर्न खोज्दा मूर्ख दर्शक बबुरा जस्तै बनेर सडकमा चिच्याउन बाध्य छन् । लोकतान्त्रिक समाजका भद्र नागरिक कहलिने कृष्ण पहाडी, श्याम श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, दीपेन्द्रबहादुर क्षेत्री, युग पाठक लगायतका नागरिक अगुवहरु बालुवाटार र शीतलनिवासबाटै खतराको घण्टी बजेपछि लोकतन्त्र र संविधानको रक्षाका लागि सडकमै उत्रिएर जनमानसमा हारगुहार माग्न थालेका छन् ।
राजतन्त्र अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थपनासँगै चिरनिद्रामा डुबेका पूर्व पञ्च/मण्डलेहरु ‘राजाले बाहेक अरू कसैले यो देश चलाउन सक्दैन’ भनेर मध्यरातमा बरबराउन थालेका छन् । यो सङ्क्रमणकालको खतरनाक परिदृश्य हो, जहाँ पश्चगमन, प्रतिगमन र प्रतिक्रान्तिको तुवाँलो मडारिन थालेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्घ/ जनआन्दोलन/ मधेश विद्रोहमा होमिएका सच्चा आन्दोलनकारीहरुको सम्झिँदै आङ जिरिङ हुने इतिहासको सबैभन्दा कलङ्कित ‘महेन्द्र कु/ ज्ञानेन्द्र कु’ को झल्को दिने ‘केपी/विद्या कु’ नेपालमा फेरि प्रकट भएको छ । यो अस्वाभाविक राजनीतिक घटना/ परिघटना मात्र होइन षड्यन्त्रपूर्ण दुर्घटना हो, यसलाई सामना गर्न अहिले सम्पूर्ण स्वाभिमानी नेपाली एकजुट भएर अघि बढनुको विकल्प छैन ।
राजनीति छलछाम, जालझेल, तिकडम र षडयन्त्रको फोहोरी खेल होइन, राज्य सञ्चालन गर्ने समाज विज्ञान हो । राजनीति सत्ता सङ्घर्षको साधन मात्र होइन, राष्ट्रिय/ अन्तर्राष्ट्रिय जगतलाई प्रभावित पार्ने राजनीतिक प्रणाली हो । राजनीति शासकहरुको सत्ता स्वार्थ पूर्ति गर्ने अस्त्र मात्र होइन, राष्ट्रिय एकता सुदृढ गर्ने, अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध विस्तार गर्ने र मानव जातिको हित सुनिश्चित गर्ने विश्व दृष्टिकोण हो । यो कुरा बुझेर राजनीतिमा लागेका जिउँदा जाग्दा मानिसहरुले ध्यान दिनुपर्ने गम्भीर कुरा के छ भने वैज्ञानिक दर्शन, सिद्घान्त, विचार र दृष्टिकोण, लोकतान्त्रिक विधि, पद्घति र शैली एवं सामाजिक मूल्य, मान्यता र आदर्शकको उपहास गर्दै शासक वर्गले सत्ता र शक्तिको दुरूपयोग गरेर, देशमा ब्रह्मलुट मच्चाएर, जनमानसमा आतङ्क फैलाएर राजनीतिलाई फोहोरी खेल सावित गर्ने कुचेष्ठा प्रदर्शन गर्दै आएको छ । यो राजनीतिज्ञहरुका निम्ति सबभन्दा ठूलो चुनौती हो ।
जुनकोणबाट मूल्याङ्कन गर्दा पनि अहिलेको प्रतिस्पर्धात्मक लोकतान्त्रिक युगमा विचार शून्य, असक्षम, अयोग्य, भ्रष्ट र अनैतिक क्रुर राजनीतिज्ञको कामै छैन । षडयन्त्रका तानाबाना बुन्ने, निरङ्कुशता र बर्बता प्रदर्शन गर्ने कुनै पनि दुस्साहसी तानाशाह, राजा, राष्ट्रपति वा प्रधानमन्त्री सत्ताबाट च्युत भएर जीवनका अन्तिम दिनहरुमा धरधरी रुन, जेलमा सडन, देश छाडेर भाग्न वा मृत्यदण्ड बेहोर्न बाध्य बनेको बर्बर कहानी इतिहासकै काला धब्बा हो, सच्चा लोकतन्त्रवादीहरुले त्यसबाट समेत सिक्नुपर्छ । यतिबेला नेपाली राजनीति अनैतिकता र मूर्खताको चरम उत्कर्षमा पुगेको छ र राज्य सञ्चालन गर्ने राजनीति नै सत्ता र शक्तिका लागि राज्य आतङ्क र जनमानसमा सन्त्रास फैलाउने फोहोरी खेल, मुलुकमा ब्रह्मलुट मच्चाउने, नाम, साम, दाम, पद र प्रतिष्ठा कमाउने कालो धन्दा जस्तै बन्दै छ । आदर्श पात्र मानिने नेताहरुको मान, मर्यादा र कद दिनानुदिन होचो हुँदै गएको छ ।
जनसमुदायले नेताहरुलाई राज्य बल र पैसा दुरूपयोग गर्ने भ्रष्ट पात्रका रूपमा इङ्कित गर्न थालेका छन् । मुख्यतः पद र पैसाका लागि शक्ति केन्द्रमा धाउने, चाकडी, चाप्लुसी गर्ने, बाह्र सताइसका कुरा काट्ने, नौटङ्की मञ्चन गर्ने, अफ्ना सहयात्रीहरुको खुट्टा तान्ने र प्रतिद्वन्द्वीको प्राण लिने आपराधिक मनोवृत्तिसमेत प्रकट हुन थालेको छ । देशको हित र जनताको सेवामा जीवन समर्पित गर्ने आदर्श बोकेका सिद्घान्तनिष्ठ, इमानदार, सङ्घर्षशील र नैतिकवान् राजनीतिक कर्मीहरुले त्यसलाई दृढतापूर्वक सामना गरेर अघि बढने हिम्मत गर्नु पर्छ ।
यसैमा एउटा खुला प्रश्न : राजनीतिमा कुन विचार सबभन्दा वैज्ञानिक, कस्तो प्रणाली सबभन्दा लोकतान्त्रिक र कुन खालको राजनीतिक नेतृत्व सबभन्दा जनमुखी हुन्छ ? यो अति संवेदनशील राजनीतिक प्रश्नको सही जबाफ खोजी गर्न विश्वव्यापी साझा अवधारण, सर्वमान्य आदर्श र सर्वपक्षीय मापदण्ड बनिसकेको छैन । यो सबैभन्दा ठूला राजनीतिक एजेन्डा हो । खुला दिमागले बृहत् रूपमा सोच्ने मानिसले मात्रै यसबारेमा वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्न सक्छन् । एउटा खुशीको कुरा राजतन्त्रको अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगैसँगै नेपाली राजनीतिमा पनि मुख्यतः विपरीत ध्रुवमा खडा भएका पुँजीवादीहरु र समाजवादीहरुको बीचमा, अन्ध राष्ट्रवादी र प्रगतिशील राष्ट्रवादीको बीचमा, क्रान्तिकारीहरु र अवसरवादीका बीचमा, अग्रगामी र पश्चगामीहरुको नयाँ बहस, खुला प्रतिस्पर्धा र भित्री द्वन्द्व चलेको छ । राजनीतिक क्षेत्रमा चलेको यो बहस, प्रतिस्पर्धा र द्वन्द्वको मूल कारण अधिकार र राज्यसत्ता हो । यो राजनीतिको चुरो कुरा धेरैथोरै सबैले जानेबुझेका छन् ।
हो, पुँजीवादी सोचमा व्यक्ति प्रमुख हुन्छ भने समाजवादी सोचमा जनता प्रमुख हुन्छन् । अन्ध राष्ट्रवादीहरुमा राज्य बल नै सर्वमान्य हुन्छ भने प्रगतिशील राष्ट्रवादीहरुमा देशको सम्प्रभुसत्ता र जनताको स्वतन्त्रता सबभन्दा शक्तिशाली हुन्छ । क्रान्तिकारीहरुमा त्याग आदर्श हुन्छ भने अवसरवादीहरुमा व्यक्तिगत स्वार्थ मुख्य कुरा हुन्छ । मुख्यतः जनताको पूर्ण स्वतन्त्रता र आत्मनिर्णयको अधिकार नै लोकतन्त्रको प्राण हो । यो कुरा आत्मबोध गरेर जनतालाई राम्रो बाटो देखाउन अघि बढेका राजनीतिज्ञहरुले यसैमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के छ भने मानिसहरुको विचार र रुचिको स्वतन्त्रता आजको वैज्ञानिक युगमा कुनै वर्ग, जाति, धर्म, देश, राज्य सत्ता वा राजनीतिक पार्टीमा मात्र बाँधिएर रहन सक्दैन, समग्र भौतिक जगतमा फैलिन्छ ।
संसार बदल्ने आदर्श बोकेका कम्युनिस्टहरुले यो कुरा आत्मसात गरेर उच्च सजगताका साथ एक्काइसौँ शताब्दीको राजनीतिक प्रतिस्पर्धामा उत्रिनु पर्छ । निश्चित रूपमा आजको आधुनिक युगमा कुनै पनि राजनीतिक पार्टीले अर्को पार्टी माथि प्रभुत्व कायम गर्न सक्दैन । न त एउटा पार्टीको अधीनमा अर्को पार्टी रहन सक्छ न लोकतान्त्रिक पार्टीभित्र कुनै गुट वा व्यक्तिले आधिपत्य जमाउन सक्छ । यो नै लोकतन्त्रको आत्म हो । आन्तरिक लोकतन्त्र सुदृढ गरेर समाजवादी लोकतन्त्र विकसित गर्न कम्युनिस्टहरु एकजुट भएर अघि बढनुपर्छ । अहिलेको प्रतिस्पर्धात्मक स्थितिमा अज्ञानत /भ्रम, दुर्बलता/ कमजोरी, भूल/ भुलैया, भ्रम/ दुविधा, शङ्का/आशङ्का, लोभ/ लालच, घात/ प्रतिघात, गुट/ फुट, विचलन/ पलायन, प्रतिगमन/ प्रतिक्रान्तिलाई छिचोलेर कम्युनिस्ट नेताहरुले एकदलीय वा अधिनायकवादी सोचलाई पूर्ण रूपमा निस्तेज पार्दै राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता प्रदर्शन गर्नु पर्छ ।
निश्चित रूपमा राजनीतिक विश्लेषण जहिले पनि जनताको अनुभवहरुमा आधारित हुनु पर्छ । राजनीति सधैँ जनताले उठाएका सवालहरुमा नै केन्द्रित हुनुपर्छ । नेताहरुले हरहमेसा जनताले खोजेका विषयहरुमा नैै जोड दिनुपर्छ । राज्य सञ्चालकहरुले कहिल्यै पनि आफूलाई जनताभन्दा माथि ठान्नु हुँदैन, जनताका परपीडक बन्नु हुँदैन । देशको विकास र जनताको सेवामा श्रेष्ठता प्रदर्शन गरेर समाजवाद विकासका आधार निर्माण गर्ने यो सुनौलो अवसर पूर्ण रूपमा गुम्यो, त्यो २०१७ सालको राजा महेन्द्र शाहको ‘सैन्य कु’/ २०६१ सालको पूर्वराजा ज्ञानेन्द्र शाहको ‘सैन्य कु’ नयाँ आवरणमा पुनरवृत्ति भयो भने मुलुकमा पुनः अर्को भयावह दुर्घटना निम्तिन्छ, प्रतिक्रान्ति भित्रिन्छ र नेपाल विदेशी शक्तिको रणभूमि बन्छ । अहिले प्रधानमन्त्री र राष्ट्रपतिको ‘अवैधानिक र अलोकतान्त्रिक कु’ त्यसैको नकरात्मक प्रतिबिम्ब बनेको छ । त्यसलाई पूर्णरूपमा निश्तेज पार्न राजधानीमा फेरि जनआन्दोलन सुरु भएको छ, यो आन्दोलनलाई राज्य बल प्रयोग गरेर दबाउन खोजे यो देशमा जनसागर फेरि उर्लिने छ ।
यो गतिशील दुनियाँमा बदलिँदो परिवेश सँगसँगै चिन्तन र आचरणहरु, दर्शन र सिद्घान्तहरु, मूल्य–मान्यता र आदर्शहरु, सभ्यता र संस्कृतिहरु, नियम र कानुनहरु, सत्ता र शक्तिहरु, प्रणाली र विधिहरु, भौतिक संरचना र राज्यका स्वरूपहरु, विज्ञान र प्रविधिहरु सबै नै परिवर्ततनशील छन् । यो परिवर्तन र विकासको नियमलाई सचेतनतापूर्वक पालना गर्न नसक्दा पुरानो सामन्ती सत्ता, तानाशाही सत्ता, पुँजीवादी सत्ता मात्र पतन भएका छैनन्, समाजवादी सत्ता समेत ढलेका छन् । यो ऐतिहासिक परिघटनाको मूल कारण र त्यसको गुदी कुरा के हो ? यसैमा केन्द्रित भई गतिशील विश्वको ठोस विश्लेषण गरेर इतिहासबाट सिक्दै, विगतका उपलब्धिहरु बटुल्दै, वर्तमानलाई उपयोग गर्दै, भविष्यको मार्गचित्र कोर्दै, उत्कृष्ट चेतना, उच्च विज्ञान/ प्रविधि तथा अतभूत कलाको सदुपयोग गर्दै युगको माग, देशको आवश्यकता र जनताको चाहाना बुझेर राष्ट्र निर्माणमा जुटनु, समाजवाद विकास गर्नु र संसार बदल्ने यात्रामा लामबद्घ हुनु कम्युनिस्टहरुको पहिलो कर्तव्य हो । यो सबैले जाने बुझेको कुरा हो । तर सत्ता र शक्तिमा केन्द्रित व्यक्तिगत टकराव, अहम, महत्त्वकाङ्क्षा, प्रतिशोध र स्वार्थ जन्य कुरालाई दर्शन, सिद्घान्त र राजनीतिको खोल ओढाएर केही नेताहरुले जनतालाई उल्लु बनाउँदै पार्टी विभाजन गराएको कटु यथार्थ सबैका सामु उजागर भएको छ । उनीहरुको आरोप, आलोचना र स्पष्टीकरण फर्जी सावित भएको छ । आफूलाई नै सर्वेसर्वा ठान्ने, अधिकार र अवसरको दुरुपयोग गर्ने, सत्ता र शक्तिको हैकम देखाउने, कम्युनिस्ट पार्टीलाई अलोकतान्त्रिक र नेताहरुलाई आफ्ना दासजस्तै बनाउन खोज्ने प्रधानमन्त्रीको जुरो फुक्लिएको छ, सिङ भाँच्चिएको छ, पुच्छर चुँडिएको छ, धोती खुस्किएको छ ।
हो, नेपाल कम्युनिस्ट पार्टीले आफू जन्मेको दिनदेखि नै जनवाद, समाजवादका आधार निर्माण गर्न देश र जनताका शत्रुहरुविरुद्घ मात्र लडेको/ भिडेको छैन् । पार्टीभित्रका हरप्रकारका शत्रुतापूर्ण र गैरसर्वहारा वर्गीय चिन्तन, चरित्र, पात्र र प्रवृत्तिका विरुद्घसमेत निरन्तर सङ्घर्ष गर्दै आएको छ । स्थापना कालदेखि आजसम्मको इतिहास हेर्दा कम्युनिस्टहरु केवल दस बीस पटक मात्र मात्रै होइन, सयौँ पटक फुटेका छन् र अझै फुट्ने क्रम रोकिएको छैन । कम्युनिस्टहरु फुट्ने, कमजोर बन्दै जाने पुँजीवादी, क्षेत्रीयतावादी, जातीयतावादी, पृथकतावादीहरु प्रभावशाली बन्दै जाने स्थिति आयो भने देश चरम सङ्कटमा धकेलिन्छ । राष्ट्रि«यता नै कमजोर बन्छ । समाजवाद पुग्न ढिलो हुन्छ भन्ने टुङ्गोमा पुगेर फुट/ विभाजनलाई एकतामा बदल्ने खुला सङ्कल्प गर्दै केपी ओली/ पुष्पकमल दाहाल प्रचण्डहरुले वाम एकताको खुला आह्वान गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल मिलाएपछि देशव्यापी रूपमा कम्युनिस्टहरुको पक्षमा जनलहर उर्लियो ।
तर चुनावमा झण्डै दुई तिहाइ सिट जितेपछि समृद्घ नेपाल, सुखी नेपाली आदर्शलाई जनताको जनजीवनका लागू गर्ने सुनौलो अवसर पाएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले आफू सत्तामा पुगेको ३ वर्ष नपुग्दै सारा देशवासी नै स्तब्ध हुने गरी ‘असंवैधानिक र अलोकतान्त्रिक कु’ गरेर संसद् विघठन गरेका छन् । चुनावी तालमेल र पार्टी एकता सँगसँगै नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको घोषणा पात्र, दस्तावेज, प्रतिवेदन, विधान, सर्कुलर, नीति, विधि, प्रक्रिया, मूल्य, मान्यता र आचारसंहिताका साथै अन्य अपिल, पर्चा, विज्ञप्तीको समेत खिल्ली उडाउँदै पार्टीको निर्णय र निर्देशनको अवज्ञा गरेर पार्टीका अध्यक्ष, संसदीय दलका नेता तथा देशका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन गर्ने अक्षम्य राजनीतिक अपराध गरेका छन् । दिमागले काम गरेन, विचार पुगेन भने अरू सबै कुरा छेदविच्छेद हुन्छन् । हरेक कुरा कमजोर बन्छन्, व्यक्ति अधिकार र शक्तिविहीन बन्छ, शासक क्रुर बन्यो भने सत्ता पनि गुम्छ भन्ने कुरा नेपालका वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिले पुनर्पुष्टि गरेका छन् ।
यसैलाई दृष्टान्त मानेर कम्युनिस्ट आन्दोलनको प्रस्थान बिन्दुदेखि विचार र नेतृत्वको बारेमा चलेको अस्वाभाविक खिचातानी, गालीगलौज, धाकधम्की, लप्पनछप्पन, तँछाडमछाड, तानातान, हानाहान, घातप्रतिघात, गुटफुट, विचलनविर्सजन जस्ता अनेक खालका नकरात्मक द्घन्द्घ र युद्घलाई अन्तर सङ्घर्ष दुई लाइन सङ्घर्षको स्वाभाविक जनवादी प्रक्रिया मान्ने हो भने कम्युनिस्टहरुले कम्युनिस्टहरुलाई गद्दार घोषणा गर्न, जुत्ताको माला लगाएर सडकमा घुमाउन, आजीवन जन्मकैद गर्न वा घाँटी रेटेर मार्नसमेत बाँकी छैन् भन्ने कठोर अभिव्यक्ति फुटपाथमा सुन्दा जिब्रो काड्ने स्थिति छ । यो अमानवता, बर्बता र क्रुरताको पराकाष्टको बारेमा कुनै आग्रहपूर्वग्रह नराखी खुला मूल्याङ्कन गर्ने हो भने कम्युनिस्ट पार्टीको मुख्य नेतृत्त्वपङ्क्तिभित्रै विध्वंशात्मक दृष्टिकोण मौलाएको छ । अपारदर्शी, अनैतिक, गैरजिम्मेवार र भ्रष्ट मनोवृत्ति हावी भएको छ । जसका कारण नेताहरुको राजनीतिक जीवनमै विकृति, विसङ्गति र विचलन चरम उत्कर्षमा पुगेको छ । कम्युनिस्ट पार्टी नै स्वार्थीहरुको झुण्ड जस्तै बनेको छ । पार्टीभित्र वर्गीय आत्मसमपर्णवादी प्रवृत्ति झाँगिएको छ । आपराधिक मनोवृत्ति भित्रिएको छ ।
त्यसलाई नियन्त्रण गर्ने, निषेध गर्ने, दण्डित गर्ने, एकता, सङ्घर्ष र रूपान्तरणको विधि परिपालन गरेर पार्टीलाई सुदृढ गर्ने, नेतृत्वलाई शुद्घीकरण गर्ने, नयाँ पुस्तामा राजनीतिक अधिकार पुस्तान्तरण गर्ने, युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्ने, जनतालाई सङ्गठित, शिक्षित र प्रशिक्षित गरेर राष्ट्र निर्माणमा जुट्ने काम फलामको चिउराजस्तै बनेको छ । तर क्रान्तिकारीहरुले त्यो फलामलाई पगाल्न र प्रयोग गर्न सक्नु पर्छ ।
यो आधुनिक युगको नेपाली राजनीति ढुङ्गे युगमा थन्किएको, जङ्गली युगमा मिल्किएको छैन, लोकतान्त्रिक युगमा युगमा प्रवेश गरेको छ । वैज्ञानिक युगतर्फ मोडिएको छ । यो प्रभुसँग अधिकार माग्ने पुरातन युग होइन, अफ्नो जन्मसिद्घ सार्वभौम अधिकार प्रयोग गर्ने आधुनिक युग हो । यो शासकहरु युग होइन, जनताको युग हो । यो कुरा प्रत्येक नागरिकले आत्मसात गरेका छन् । अब नेपालीहरुलाई देश चलाउने राजनीतिले मात्र पुग्दैन । देश बनाउने राजनीति चाहिन्छ । पार्टी चलाउने नेताहरुले मात्र पुग्दैन, देश चलाउने नेतृत्व चाहिन्छ । अहिले देशलाई अस्थिरता होइन, राजनीतिक स्थिरता चाहिएको छ । फुट होइन, एकता चाहिएको छ । द्वन्द्व होइन, स्थायी शान्ति चाहिएको छ । कुशासन होइन, सुशासन चाहिएको छ । विनास होइन, विकास चाहिएको छ । अभाव र गरिबी होइन, तीव्र विकास र समृद्घि चाहिएको छ । युगको माग, देशको आवश्यकता र जनताको चाहाना परिपूर्ति गर्नका लागि कस्तो विचार र नेतृत्व चाहिन्छ, कस्तो राज्य प्रणाली र सरकार चाहिन्छ । कस्तो राष्ट्रिय नीति र विधि चाहिन्छ ? कस्तो सरकार चाहिन्छ ? कस्तो राजनीतिक पार्टी चाहिन्छ, कस्तो जनशक्ति चाहिन्छ ? यतिबेला इतिहासले यो राजनीतिक प्रश्नको अचुक जबाफ खोजेको छ । तर यतिबेला अहिलेसम्मका मूर्ख शासकहरु र विशेषतः वर्तमान प्रधानमन्त्रीको पागल प्रलापले गर्दा राजनीतिक जगत नै विचारको अनिकाल, इमानदारिताको खडेरी र नैतिकताको भोकमरीले आक्रन्त बनेको छ । यस्तो बेलामा यो राजनीतिक प्रश्नको जबाफ कसले दिने ?
राज्य सञ्चालन गर्ने राजनीति राष्ट्रिय जीवनको अभिन्न अङ्ग हो, जनताको जनजीवनको संवेदनशील अङ्ग हो । यसले शिक्षा, स्वास्थ्य उपचार, पानी, अन्न बाली, नुन, तेल, डिजेल, पेट्रोल, मट्टीतेल, ग्यास, सडक, यातायातका साधान, खाद्यन्न, विभिन्न पेसा व्यवसाय आदि सबै कुरामा प्रत्यक्ष प्रभाव पार्छ । आम जनमानसको दैनिक जीवन छुन्छ । तर अहिले यो देशमा राजनीतिका नाममा लुटनीति मौलाएको छ । देश र जनताको निःस्वार्थ सेवा गर्ने, राष्ट्र निर्माण र जनसेवामा निःसर्त कर्म गर्ने राजनीति राष्ट्रि«य ढुकुटीमा ब्रह्मलुट मच्चाउने लोभीपापीहरुको फोहोरी खेल जस्तै बनेको छ । ती भ्रष्ट र अनैतिक शासक प्रशासकहरुको मूर्खतापूर्ण पागलपनाले मुलुक समस्या नै समस्याको चक्रव्यूहमा जेलिएको छ । एउटा झुट लुकाउन सयौँ झुट बोल्ने गोयवल्स सिद्घान्त अनुसरण गरेर प्रधानमन्त्री केपी ओलीले अफ्नो धज्जी आफै उडाएका छन् । राष्ट्रपति विद्या भण्डारी देशको संरक्षक, जनताको अभिभावक नबनेर प्रधानमन्त्री केपी ओलीकी गृहणीजस्तै बनेकी छिन् । यतिबेला नेपालको वास्तविक राजनीति कोमामा छ । नेपालका अधिकांश नेताहरु आफ्नो पार्टी, देश र जनताप्रति, आफ्नै बलिदानीपूर्ण सङ्घर्ष र गौरवपूर्ण इतिहासप्रति पनि इमानदार हुन सकिरहेका छैनन् । राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका अधिकांश नेताहरु भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेर वैचारिक, राजनीतिक, नैतिक दृष्टिले सर्वाङ्ग भ्रष्ट भइसके भन्ने टीकाटिप्णी यत्रतत्र सुनिन्छ । भ्रष्टचार, अपारदर्शिता, गैरजिम्मेवारपन, तस्करी र कमिसनखोरी अहिलेको सबैभन्दा लाभदायी पेशा बनेको छ । २००७ सालदेखि यता विभिन्न आन्दोलन र विद्रोहले नेपालमा व्यवस्था पटक पटक परिवर्तन भयो अनि त्यो परिवर्तनले सत्तामा बस्ने मान्छे मात्रै फेरि दियो तर नेतृत्व, प्रवृत्ति र विचार जुन रूपमा परिवर्तन हुनुपर्ने हो त्यही रूपमा भएन, पुरानै ढर्रामा चल्यो । संविधान, कानुन बदलिए तर चिन्तन प्रणाली बदलिएको छैन । पार्टीहरु फेरिए तर परिपाटी फेरिएको छैन । पटक पटक सत्तामा पुगेका नेताहरुको दैनिक जीवन फेरियो तर जनताको जनजीवन फेरिएको छैन । अहिलेको गणतन्त्र कालमा पनि पहिलेकै जस्तो सामन्ती प्रवृत्ति, भ्रष्ट चिन्तन, जालझेल, अस्वस्थ प्रतिस्पर्धा र असहिष्णुताले निरन्तता पाउँदै आएको छ । नेपालको राजनीतिक रङ्गमञ्चमा पहिलेदेखि चल्दै आएको फोहोरी खेल आज पनि दोहोरिएको छ । यो इतिहासकै कलङ्क हो । अब नेपालीहरुले यसलाई नामेट पार्न सक्नुपर्छ । हरेकले जानेबुझेको कुरा के हो भने समय गतिमा छ, जीवन र जगत गतिमा छ । कुनै पनि कुरा स्थिर रहन सक्दैन, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भइरहन्छ । विश्वजगतको, देशको, समाजको, राजनीतिक पार्टीको, नेताहरुको र नागरिकहरुको पनि चरित्र बदलिँदो छ । परम्परागत सोचाइले नयाँ आविष्कार हुन सक्दैन । पुरानो मानसिकताले अग्रगामी निकास सम्भव छैन । यो वैज्ञानिक युगमा यो जीवन्त सत्यलाई आत्मसात गरेर अघि बढनुको विकल्प छैन ।
नेताहरुले विशेषः ध्यान दिनुपर्ने कुरा कम्युनिस्ट पार्टी स्वार्थीहरुको झुण्ड होइन । राजनीतिक आन्दोलन हो, विचार प्रवाह हो । कम्युनिस्ट पार्टी राजनीतिक संस्था मात्र होइन, सामाजिक प्रणाली पनि हो । यसका आफ्नै दर्शन, सिद्घान्त, विचार, दृष्टिकोण र नीति हुन्छ । मौलिक विधि, विधान, प्रक्रिया र शैली हुन्छ । यो गतिशील युगमा यदि कम्युनिस्ट पार्टी नै विघठन, विचलन र पतन भयो भने फेरि कम्युनिस्ट आन्दोलन पुनर्जीवित हुने अनुकुल स्थिति रहँदैन । कम्युनिस्ट पार्टी स्वचालित यन्त्र होइन, सचेतनता पूर्वक र सङ्गठित रूपमा सञ्चालन गरिने राजनीतिक आन्दोलन हो । कम्युनिस्ट पार्टी कुनै व्यक्ति वा गुटको स्वार्थमा चल्ने अराजनीतिक झुण्ड होइन, देश र जनताको हितमा, वैज्ञानिक नीति र लोकतान्त्रिक विधि/पद्घतिमा चल्ने जनताको सङ्गठित शक्ति हो । कम्युनिस्ट पार्टी राजनीतिक जीवन हो, यसभित्र गल्ती कमजोरी देखिनु स्वाभाविक छ तर पार्टी ती गल्ती, कमजोरी हटाउन सच्याउन तत्पर छ कि छैन, त्यो मुख्य कुरा हो । पार्टीमा वैचारिक स्पष्टता, इमानदारिता र सक्रियता प्रमुख कुरा हो, यो पार्टीको आन्तरिक जीवनमा लागू भएको छ कि छैन, त्यसको मूल्याङ्कन गर्नु सबभन्दा महत्त्वपूर्ण कुरा हो । पार्टी विरोधी प्रचार गर्ने, पार्टीका नीति, निर्णय र निर्देशन अवज्ञा गर्ने, आफ्ना गल्तीकमजोरी लुकाउने, अरूको चरित्र हत्या गर्ने, देश र जनताको विरुद्घ उभिने छुट यसमा आबद्घ कसैलाई पनि छैन । त्यस खालका चिन्तन, चरित्र, पात्र र प्रवृत्तिलाई निषेध नगर्ने हो भने त्यस्तो संस्था अनिवार्यतः पहिले वैचारिक रूपमा, त्यसपछि भौतिक रूपमा टुक्रिन्छ । विनास र पतन हुन्छ । वैज्ञानिक विचार र लोकतान्त्रिक विधि पद्घति अपनाएका कम्युनिस्ट नेताहरुको जीवनयापन पनि वैज्ञानिक र लोकतान्त्रिक हुनु पर्दछ । त्यो भनेको व्यवस्थित जीवनशैली हो । व्यवस्थित जीवनशैली भनेको अनुशासित र सभ्य जीवनशैली हो । यो मामिलामा कम्युनिस्टहरु खुला ऐना जस्तै पारदर्शी र मुलको पानी जस्तै स्वच्छ हुनुपर्छ ।
सतही राजनीतिले जनताको जीवन छुँदैन, जनसेवामा श्रेष्ठता प्रदर्शन गर्न नसक्ने राजनीतिक पार्टी खोक्रो हुन्छ । त्यसले राष्ट्र निर्माणको नेतृत्व गर्न सक्दैन । यो कुरामा कम्युनिस्टहरु दृढ हुनुपर्छ । गुटबन्दी विषवृक्ष सरह हो । यो स्वार्थ पूरा गर्न खडा हुन्छ । त्यसले संगठन टुक्राटुक्रा बनाउँछ, अन्ततः पार्टी नै ध्वस्त हुन्छ । यसैकारण पार्टीभित्र गुटबन्दीलाई समयमै निर्मूल बनाउनुपर्छ । नत्र त्यसले गुट, फुट भित्र्याएर पार्टीलाई नै समाप्त पार्छ । यो कुरा नबुझ्ने को छ ?
अहिले नेपालमा क्रियाशील सबै राजनीतिक पार्टीहरु आन्तरिक समस्यामा जकडिएका छन्, सबै राजनीतिक पार्टीका अधिकांश नेताहरु देश र जनताको बारेमा चिन्तन गर्नेभन्दा पनि आफ्नै बारेमा बढी चिन्तित देखिन्छन् । यो अहिलेको साझा चुनौती हो । हो, ‘गुटवाद/फुटवाद– मुर्दावाद’ सबैले भन्छन् तर नेपालमा गुटवाद/फुटवादको सिकार नभएको राजनीतिक पार्टी अस्तित्वमै छैन, गुटबन्दी गर्न नजान्ने, पार्टी फुटाउन नमान्ने सोझा नेताहरुको स्थिति ती पार्टीमा दयनीय छ । यो राजनीतिक पार्टीभित्र उत्पन्न सबभन्दा संवेदनशील र जटिल समस्या हो । यसको समाधान निकाल्न नसक्ने नेताहरु निकम्मा सावित हुन्छन् ।
जुनसुकै मुलुकमा पनि पद ओगटेका नेताले आफूले रोजेको विचार वा बाटो गलत सावित भए पदबाट राजीनामा दिने प्रचलन छ । तर नेपालका केही नेताहरुको दिमागमा आफूले पद छोडे पार्टी नै नहरने, देशै नचल्न भ्रमले राज गरेको देखिन्छ । खड्गप्रसाद शर्मा ओली अहिले त्यसैको उदाहरणीय पात्र बनेका छन् । यो लोकतन्त्रकै उपहास हो । गरिबी, अभाव, अशिक्षा, रोगव्याधी कम गर्ने, विकास, निर्माण र समृद्घि तीव्र पार्ने नारा दिएर राज्यका सबै तहमा हस्तक्षेप र साधन स्रोत दुरुपयोग गर्ने पल्केका केही एनजीओ/आईएनजीओ राजनीतिक पार्टी र नेताहरुको मिलोमतोमा नेपालमा निकै सक्रिय बनेका छन् । भित्री रूपमा पार्टी नै कब्जा गर्ने, त्यो पूरा नपाए पार्टी नै फुटाइदिने र त्यो पनि नपाए केही नेतालाई आफ्नो स्वार्थ सिद्घ गर्न प्रयोग गर्ने विदेशी शक्ति केन्द्रको चलखेलको सिकार कोही पनि बन्नु हुँदैन । तर अहिले मदन भण्डारी फाउन्डेसनका नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नै निस्तेज पार्न खोजिँदैछ । यो त एउटा साना उदाहरण मात्रै हो । कम्युनिस्ट पार्टीभित्र रोपिएको वृषवृक्षको लामो शृङ्खला छ । वास्तवमा विष भनेको सधैँ विषै हुन्छ । विष हटाउने औषधि पनि विषै हुन्छ । यसबारेमा केन्द्रीय समितिदेखि सेल कमिटीसम्म लामबद्घ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै नेताहरु सजग हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू