शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात रोगका कारण मर्न थाले कुखुरा

बिहीबार, ०८ माघ २०७७, १२ : १२
बिहीबार, ०८ माघ २०७७

हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । 

विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका (लोकल) कुखुरामा रोग फैलिएको बताइएको छ । 

कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन नसकेको भएपनि स्थानीयवासीले मरेका कुखरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए । बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने उनको अनुमान छ । 

बाहिरबाट ल्याएका कुखुरा जोडीको रु पाँच हजार ५०० दरले गाउँलेले किनेपछि यहाँका स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाइ छ ।

कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ । गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन् । 

मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए । 
   
थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप