शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँतहीँ आईपीओको चर्चा, किन यति धेरै आकर्षण ?

बिहीबार, ०८ माघ २०७७, १० : ०२
बिहीबार, ०८ माघ २०७७

पछिल्लो समय आम सर्वसाधारणको आईपीओप्रतिको क्रेज कतिसम्म छ भन्ने उदाहरण चन्द्रागिरी हिल्स र इन्फ्रास्टक्चर बैङ्कको आईपीओको चर्चाले पुष्टि गर्छ ।  सेयर बजारप्रति खासै रुचि नराख्ने र जानकारीसमेत नभएकाहरु पनि अहिले आईपीओ भर्न तँछाडमछाड गरिरहेका छन् । सामाजिक सञ्जालमा आईपीओप्रति अनेक खालको ट्रोलसमेत बनेका छन् । केही समयअघिसम्म पनि आईपीओ बिक्री नभएर समय थप गर्नुपर्ने अथवा पटक पटक बिक्रीका लागि सूचना निकाल्नुपर्ने अवस्था थियो ।

तर अहिले आम मानिसको सेयर बजारप्रतिको बुझाइ फेरिँदा समग्र सेयर बजारको सिनारियो नै फेरिएको छ । सेयरको प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बङ्कको आईपीओलाई हेर्ने हो भने यसमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४ सय ६० जनाको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताका लागि आवेदन परेको हो  । कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यता चन्द्रागिरिको आईपीओमा पनि मागभन्दा ज्यादा  आवेदन पर्यो । यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन परेको हो । यो मागको तुलनामा १७.५३ गुणा बढी हो ।

यी दुई कम्पनीको सेयरले नबुझ्ने÷नजान्नेहरु पनि चासोका साथ सोध्न सक्ने भएका छन्, अब कुन कम्पनीको आईपीओ खुल्दैछ ?

पछिल्लो पन्ध्र दिनमा मात्र २ लाख ६४ हजार नयाँ लगानीकर्ताले सेयर बजार प्रवेशको बाटो खोलेका अर्थात् नयाँ डिम्याट खाता खोलेको सीडीएसले जनाएको छ । हालसम्म डिम्याट लिनेको सङ्ख्या २६ लाख ८ हजार ६ सय ६२ पुगेको छ । यसबाट भन्न सकिन्छ सेयर बजार विशेष गरी प्राथमिक सेयरप्रति दिनप्रतिदिन आकर्षण बढिरहेको छ ।

सामाजिक सञ्जालदेखि चिया गफसम्म चर्चा आईपीओकै

“उहिलेको बाजेको पालामा थुप्रै पासपोर्ट हुन्थ्यो विदेश पठाउँने एजेन्टको झोलामा अहिले त हाम्रो पालामा थुप्रै नागरिकता हुन्छ आइपिओ एजेन्टको झोलामा ”

यो सामाजिक सञ्जालमा भेटिएको आईपीओ क्रेजीहरुलाई व्यङ्ग्य गरिएको ट्रोल हो । आईपीओ हात पार्न आफ्ना आफन्त सबैको नामबाट डिम्याट खोलेर आईपीओ भर्नेहरूप्र्र्रति लक्षित यस ट्रोलले पनि आईपीओको चर्चालाई पछ्याएको देखिन्छ । अत्यधिक आवेदन परेमा परिवारका कुनै न कुनै सदस्यको नाममा आवेदन पर्ने सम्भावना रहने अनुमानमा एउटैले परिवारका विभिन्न सदस्यको नाममा डिम्याट खोल्ने गरेका छन् ।

“चन्द्रागिरी हिल नै नपुगी आइपिओ भर्ने मै मात्र होला”

सामाजिक सञ्जालमै देखिएको यो अर्को ट्रोल जसले आईपीओको चर्चा कसरी बढिरहेको छ भन्ने देखाउँछ । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता धेरै ट्रोलले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरका भित्ता रङ्गिएको देख्न सकिन्छ ।

उसो त चिया गफ, सार्वजनिक यातायात लगायत ठाउँमा पनि आईपीओको नै चर्चा छ  । तपाईंले फलानाको आईपीओ भर्नुभयो अथवा अब त खुलेका जति सबैमा भर्ने हो जस्ता कुराकानी सार्वजनिक स्थलमा सुन्न सकिन्छ ।

आईपीओमा लगानी गुम्ने सम्भावना कम

जब कुनै कम्पनीले पहिलो पटक आफ्नो कम्पनीको सेयर जनतालाई पनि लगानीका लागि खुला गर्छ भने त्यसलाई हामी आईपीओे भन्छौँ । यसको अङ्ग्रेजी रूप ‘इनिसियल पब्लिक अफरिङ’ हुन्छ भने नेपालीमा ‘प्रारम्भिक सार्वजनिक निष्काशन’ हुन्छ ।

कम्पनीले आफ्नो व्यापार विस्तार गर्न, भौतिक पूर्वाधार निर्माण गर्न वा अन्य कुनै खर्च धान्नका लागि आईपीओे जारी गर्दछ । एक पटक आईपीओे जारी गरिसकेपछि कम्पनीलाई फेरि पनि पुँजीको आवश्यक परेको अवस्थामा हकप्रद वा बोनस सेयर जारी गरेर पुँजी उठाउने गरिएको छ ।

नेपालमा आईपीओे प्रायः १०० रुपैयाँ प्रतिकित्ता मूल्य तय गरिने हुनाले कतिपयलाई आईपीओ भन्ने वित्तिकै सबैको मूल्य प्रतिकित्ता सय नै हुन्छ भन्ने छ तर त्यसो होइन । आईपीओको मूल्य निर्धारण तीन प्रकारबाट हुन्छ । सय रुपैयाँभन्दा बढी मूल्यका आईपीओ पनि हुन्छ ।

आईपीओ  लगानीको पहिलो अवसर हो । धेरैजसो १०० रुपैयाँ प्रतिकित्तामा सेयर पाइने हुँदा लगानी जोखिम न्यून  हुन्छ । यद्यपि कम्पनी नै नहेरी जथाभावी गरिएको लगानीले भने जोखिम नित्याउन सक्ने कारण बन्न सक्छ ।

बजार बढ्नुले पनि आईपीओप्रतिको आकर्षण बढ्यो

पछिल्लो दिनमा सेयर बजार लगातार बढिरहेको छ । आजसम्म (माघ ७) बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब रुपैयाँभन्दा माथि छ । नेप्से २३ सय अङ्कमा हिँडिरहेको छ । प्राथमिक बजारमा प्रवेश गरेपछि केही दिनमै त्यसको मूल्य बढ्ने आशामा लगानीकर्ताहरु प्राथमिक बजारमा प्रवेश गरिरहेका छन् । लगानीकर्ता छोटेलाल रौनियार सय रुपैयाँमा किनेको आईपीओ लिस्टिङ हुने वित्तिकै सोभन्दा माथि पुग्ने भएकाले पनि आईपीओप्रति आकर्षण बढेको बताउँछन् । सेयर बजारमा नयाँ नयाँ लगानीकर्ता पस्नु भनेको बजारको भविष्य उज्ज्वल हुनु पनि हो ।

रौनियार स्मरण गर्छन्, ‘कुनै बेला जलविद्युतको सेयर मूल्य निकै कम थियो । सय रुपैयाँमा किनेको सेयरको मूल्य सोभन्दा पनि कम भएको आवस्था थियो तर अहिले सबैको मूल्य बढेको छ यसले पनि अब आईपीओको लगानीमा जोखिम छैन भन्ने देखाएको छ ।’

अहिले सेयर बुझेका हुन् वा नबुझेका सबै आईपीओ भर्नकै लागि प्रश्न गरिरहेका हुन्छन्, डिम्याट कसरी  खोल्ने, आईपीओ भर्न के गर्ने र अब कसको आईपीओ आउँदैछ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप