शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले ट्रम्प सरकारका विदेश मन्त्री माइक पोम्पियोमाथि लगायो प्रतिबन्ध

बिहीबार, ०८ माघ २०७७, ०६ : ३३
बिहीबार, ०८ माघ २०७७

डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति पदको कार्यकालको अन्तिम दिन उनका विदेशमन्त्री माइक पोम्पियोले चीनका विगर मुसलमानमाथि टिप्पणी गरे । त्यसपछि चीनले पोम्पियोमाथि थुप्रै प्रतिबन्धको घोषणा गरेको छ । 

चीन्को विदेश मन्त्रालयले आफ्नो बयान जारी गर्दै पछिल्ला केही वर्षदेखि अमेरिकाका केही चीन विरोधी राजनेता आफ्नो स्वार्थी राजनीति हित र पूर्वाग्रहका कारण चीनविरुद्ध हिंसा फैलाइरहेको आरोप लगाएका छन् । 

चीनले आफ्नो बयानमा भनेको छ, ‘यी राजनेताको बयान चिनियाँ र अमेरिकी जनताको हितमा छैन र यो सुनियोजित छ जसले अवैधानिक तरिकाले चीनको आन्तरिक मामिलामा दखल दिन्छ र यसले चीनको हितलाई नजरअन्दाज गर्छ, चिनियाँ जनतालाई रुष्ट पार्छ र चीन–अमेरिका सम्बन्धलाई बाधित गर्छ ।’

बयानमा भनिएको छ, ‘चिनियाँ सरकार चीनको राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकासको हितका लागि दृढ संकल्प छ । चीनले ती २८ मानिसहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ जसले अत्यधिक गम्भीर तरिकाले चीनको सम्प्रभुताको उल्लंघन गरेका छन् र चीनसँग सम्बन्धित मुद्दामा अमेरिकाको यस्तो कदमका लागि मुख्य रुपमा जिम्मेवार छन् ।’

चीन प्रवेशमा प्रतिबन्धः

चीनले प्रतिबन्ध गरिएका ती मानिसहरुको नाम पनि सार्वजनिक गरेको छ । यसमा माइकल आर. पोम्पियो. पिटर के. नेवेरो, रोबर्ट सी. ओब्रायन.डेविड आर. स्टिलवेल, म्याथ्यू पोटिंगर, एलेक्स एम, अजर, कीथ जे. क्रेच, केली डी.के. क्राफ्टबाहेक ट्रम्प प्रशासनमा रहेका जोन बाल्टन र स्टिफन बेनन पनि समावेश छन् । 

चीनले आफ्नो बयानमा भनेको छ, ‘उनीहरु र उनीहरुका परिवारका सदस्यलाई चीनको मुख्य भूमि, हङ्गकङ र मकाउ अफ चाइनामा आउन प्रतिबन्ध लाग्नेछ र उनीहरुसँग जोडिएका मानिसहरु र उनीहरुसँग जोडिएका कम्पनी–संस्थानमाथि पनि चीनमा व्यापार गर्न प्रतिबन्ध हुनेछ ।’

यसअघि चिनियाँ विदेश मन्त्रालयले ट्वीट गर्दै भनेको थियो, ‘पोम्पियोको बयान चीनका १.४ अर्ब मानिसहरुको अपमान हो जसमा २.५ करोड शिंजियांग प्रान्तका मानिसहरु, अमेरिकी मानिसहरुको बुद्धिमता र अन्तर्राष्ट्रिय समुदाय पनि समावेश छन् ।’

यसमा लेखिएको थियो, ‘उनले (पोम्पियो) आधारभूत नैतिक मानक र मानवीय विवेकसँग विश्वासघात गरेका छन् र त्यसलाई चुनौती दिएका छन् ।’

चिनियाँ विदेश मन्त्रालयले ट्वीट गरेको छ, ‘पोम्पियो र उनको झुटोको इतिहासले डस्टबिनमा स्थान पाउनेछ ।’

माइक पोम्पियोले मंगलबार चीनले विगर मुसलमानको दमन गरेर जनसंहार गरेको आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप