शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’ को रूपमा विकास गरिने

बिहीबार, ०८ माघ २०७७, ०६ : १७
बिहीबार, ०८ माघ २०७७

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।

पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । विसं १९६० मा सिंहदरबार निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए ।

अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिए ।

माघ २० भित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भइसकेको उनले बताए ।

भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताउनुभयो । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष निर्माण, क्याबिनेट हल, एक्सन रुम निर्माण, वार एक्सन रुम निर्माण (उद्घाटन तथा सम्बोधन कक्ष), स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ । सो क्षेत्रको हावा स्वतः शुद्धीकरण हुनेछ । मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवहरूका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप