टाउको फुटाउने कि टाउकोमा बुद्धि नामक जीनिस फलाउने ?

person explore access_timeमाघ ७, २०७७ chat_bubble_outline0

 

'महाजनो येन गतः सः पन्थाः' अर्थात नायक, नेतृत्वकर्ता, बुद्धिमान, धनी, श्रेष्ठले अवलम्बन गरेको मार्ग अन्य व्यक्तिले पछ्याउँछन्। लोकोक्तिमा वर्णित 'महाजन'को अर्थ साँघुरो बुझाईले मात्र समग्ररूपेण व्याख्या गर्नु किमार्थ पनि व्यावहारिक हुन सक्दैन। देशकाल, परिस्थिति, स्थानअनुसार शब्दले बोकेको गुरुत्व, अर्थ र आशय बदलिन्छन, परिमार्जित हुन्छन् । 

हाम्रा राजनीतिक एक नायकले हालै हुंकार गर्नुभयो, 'हामी टाउको फोर्न/फुटाउन तैयार छौ, अविलम्ब त्यसको परिणाम दृष्टिगोचर हुन आयो। राजनीतिक नेतृत्व तहका नायकले फ़िल्मी शैलीमा उत्तेजक अभिव्यक्ति दिनु  कति उचित हो ?

हो, निश्चय पनि सबै राजनीतिक समुहको सामूहिक मुर्खताले मुलुक अनिश्चितता, दुर्घटना, अराजकता घटित हुने संघारमा आई पुगेको छ।  यसको अपजस कसले लिने ? यसको दोष कसलाई दिने ! सबै समुहसँग आफ्नो सुरक्षार्थ अनेको तर्क वितर्क र विरोधीलाई दोषारोपण गरी मुख्य अपराधी  ठहर गर्न सक्ने दाऊपेचले भरिएका तूणीर कांधमा होइन मुखमै / जिब्रोमै झुन्डिएको छ।

राणासँग लडेको, राजासँग लडेको, विरोधी विचारधारासँग लडेको, आफुलाई मन नपर्ने व्यवस्थासँग लडेको गौरबशाली अतीतलाई आत्मसात गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) लड़ने अन्य  शत्रु नपाएर (नेपाली कांग्रेस जस्तो स्वर्गमा इन्द्रलाई समेत उपलब्ध नभएको विनीत प्रतिपक्षीसँग लड्नुमा कुनै रोमांचकता नभएर नै होला !) आपसमा दन्तबझान गर्दै अंततः वारपारको समरमै समर्पित भएको छ। नेकपाको घर झगड़ा बनमा डढेलो फैलिए झैं देशकै स्वास्थ्य र शांतिका लागि खतराको चिन्हभन्दा माथी पुगिसकेको छर्लङ्ग हुँदैछ। राजनीतिमा दलहरुबीच  सहकार्य - एकता हुनु नौलो होइन र कुनै दल आपसी विमतिका कारण चोइटिनु, टुकरिनु, विभाजित हुनु पनि अस्वाभविक होइन। समग्र विश्व ब्रह्माण्डलाई 'डायलेक्टिकल' मान्ने कम्युनिस्ट विचारधाराका वाहकहरुलाई यो नियमित तथा विकासकै प्रक्रिया हो भनेर कसैले बुझाई राख्नु पर्दैन।

कलहको दलदलमा कम्मरसम्म गाडिएर एक आपसमा हिलो छ्यापी रहेका नेकपाको दुबै खेमाका  स्वनामधन्य महानुभावहरुलाई यो 'पुनीत कार्य' गर्ने जन्मसिद्ध नैतिक/अनैतिक अधिकार छ।  गर्नुहोस्, तपाईहरुको घर झगड़ामा न्यायाधीश बनेर आउने रहर देशभित्र कसैलाई छैन l बरु, तपाईंहरुको घरायसी  झगड़ाले सत्ता र व्यवस्थाको कंटकाकीर्ण फल आफ्नै नजीकमा आई खस्ने स्वपन एवं आशा पलाएका राजनीतिक वृत्तमा खुशियालीका शीतल मेघ आगमनको संभावनाबारे पूर्व अनुमान लगाई दुबै कित्तालाई हौस्याउनु उनीहरुको राजनीतिक धर्म सरह नै हो l यसमा नेकपाको दुबै झगड़ालू कित्ताले आत्मविभोर हुनु दुःस्वपनभन्दा बढी अरु  केही हुन सक्दैन।

महाशयहरु, विगत तीस वर्षदेखि सत्ताको संघर्ष र उठापटक हेर्दै आएको पुस्ताका लागि भक्त शिरोमणि बाबा तुलसीदासका वचन शिरोधार्य बनेका छन्, 'को नृप होइ हमहि का हानि !' जनताले तिरेको करमाथी सत्तामा पुगेका ककसको गिद्धेदृष्टि परेको छ ? अब यो आम चासोको विषय रहेन, यस पुस्तालाई बुद्धलाई झै आत्मज्ञान भई सकेको छ- सत्तामा पुग्दा दृष्टि सबैको गिद्धे नै हुँदोरहेछ। 

सत्तारुढ पार्टीको घर झगड़ाले उत्पन्न विग्रह व्याप्त र व्यापक हुँदै प्रतिनिधिसभा भंग गरिँदा देश अप्ठेरो संघारमा आई पुगेको हो। तपाईका घर झगड़ाका कारण तपाईहरु नै जान्नुहोस्, आम नेपाली नागरिकलाई त्यससँग कुनै सरोकार छैन l तर, त्यसको ज्वालामा समग्र देश कै शांति व्यवस्था खरानी बनाउने अधिकार दुबै खेमासँग छैन। केही समयअघि मात्रै दुइ दल मिलेर बनेको नेकपाका महारथीहरुले संज्ञान लिउँन्- दल टूटने घटना नेपालमा पहिलोपटक भएको होइन। विगतमा पनि देशमा सक्रिय लगभग सबै दल एक न एकपटक टुटेका फुटेका छन्। र, त्यसको राम्रो वा नराम्रो नतिजा पनि ती दलहरुले व्यहोरेकै छन् l

तपाईहरुको घर झगड़ाले सिर्जित भएको बबंडर शांत गर्ने/फैसला गर्ने अधिकार, दुइ सम्वैधानिक निकाय- सर्वोच्च अदालत र निर्वाचन आयोगबाहेक अरु कसैसँग छँदै छैन। कसैसंग यी दुबै निकायलाई 'डिटेक्ट' गर्ने अधिकार छैन, दवाव दिने/प्रभावित तुल्याउने अधिकार पनि छैन, चाहे ती जुनसुकै वर्गका  प्राणी, नायक अथवा निम्मित्त नायक किन नहुन्।

प्रजातंत्रमा, लोकतंत्रमा, गणतंत्रमा आवधिक चुनाव हुनैपर्छ l कहिलेकाहीँ तोकिएको समय अघावै पनि चुनाब गर्नुपर्ने खण्ड खातिर आइलाग्छ । तर, अहिले हाम्रो लोकतान्त्रिक गणतन्त्रमा नेकपाको एक खेमाले सत्ता उन्मादको सनकमा मुलुकलाई चुनावको संघारमा पुर्याएको छ। उसको तर्क छ, यो उसको अधिकार क्षेत्रभित्र पर्छ l अर्को खेमा यसलाई अनाधिकार भनी न्यायालयको शरणमा गएको छ। यदि अधिकार र अनाधिकारको निर्णय सड़कबाटै गर्नु थियो भने न्यायालय जानूको के औचित्य थियो ?

दलका विषयमा फैसला गर्ने अधिकार निर्वाचन आयोगसँग मात्रै छ। निश्चय पनि निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसला 'कि गाई कि त्रिशूल' हुन्छ। दुबै फैसलाले (चाहे जून रूपमा आउँन् ) एक खेमाको चित्त नबुझ्ने नै हुन्छ।  के आफ्नो चित्त नबुझ्दैमा देशमा रडाको मच्चाउन पाइन्छ ?

अरुको टाउको फोर्न वा आफ्नो टाउको फुटाउन उद्धत हुनुभन्दा टाउकोमा रहेको बुद्धि नामक जीनिसको सदुपयोग गरेर मानिस प्रजातिले कस्ता कस्ता भीषण संकटबाट पार हुँदै आएको तथ्य स्मरण र अनुशरण गर्नु सान्दर्भिक मात्र हैन, सार्थक पनि होइन र ?

डाक्टरसँग, प्रहरीसँग, न्यायलयसँग वा राज्यव्यवस्थाका कुनै अंगसँग जति सुकै गुनासो भए पनि  यिनको बहिष्कार गर्न सकिन्न। सम्बंधित काम पर्दा यिनको ढोका न ढकढकाई बस्न सकिदैन। र, यीसँग हामी आफ्नो इच्छाअनुसारको काम गराउन सक्दैनौँ। के डाक्टर कहाँ जादा हामी मलाई रोग जुनसुकै भए पनि मलाई यही औषधि र चिकित्सा दिनु पर्छ भन्ने हठ गर्न सक्छौं र ? अथवा डाक्टरको असफलताले जीवनभरीका लागि डाक्टरको बहिष्कार गर्न सक्छौं र हामी ? न्यायालय पनि त्यस्तै अंग होइन र ?

खेल खेलेपछि खेलको नियम मान्नै पर्छ l अहिले नेकपा कलहको खेलको 'बल' सर्वोच्च अदालतको 'कोर्ट'मा पुगेको छ, अदालतले प्रतिनिधिसभा पु:नस्थापना गराई दिए पनि वा चुनावलाई सदर गराई दिए पनि दुवै पक्षले स्वीकार गर्नु पर्छ। नेकपाको दुइ खेमाको नियत, ढीपि, हठ, आचरण, गतिविधि र बुध्दिमत्ता वा विवेकले मुलुक संकटयुक्त वा संकटमुक्त हुने निर्धारित हुनेवाला छ।

अहिले सत्तामा कम्युनिस्ट, सड़कमा कम्युनिस्ट, जंगलमा कम्युनिस्ट छन्l देशभित्र सर्वत्र कम्युनिस्टहरुको यस्तो दरो उपस्थित रहेको बेला ( देशका अन्य शक्ति ओझल हुँदा ) देशलाई प्रगतिपथमा लम्काउनुको सट्टा आपसी विवाद, कलह, झगड़ामा रुमलिएर  देशलाई अनिर्णयको बंदी बनाउने घटनाले जनता निराश छन् र कम्युनिष्ट पार्टीकै कतिपय समर्थक नै आफुले विश्वास गरेको विचारधारा र सिद्धांत कै सांदर्भिकतामा प्रश्न चिन्ह लागेको हो कि भनी सशंकित भएका छन् l नेकपाको दुवै पक्षले यी तथ्य मनन गर्नु जरुरी छ l

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।