शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन व्यवसायीसँग अर्थमन्त्रीले भने-‘तपाईंहरु अघि बढ्नुहोस्, सरकार साथमा छ’

मङ्गलबार, ०६ माघ २०७७, १८ : २१
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । होटल तथा पर्यटन व्यवसायका प्रतिनिधिहरुसहित मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले अति प्रभावित पर्यटन क्षेत्र जस्ता व्यवसायिक क्षेत्रहरुलाई नै उत्थान गर्ने गरि सरकारले आर्थिक राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताए । यस्तो कार्यक्रमहरुको प्रभावकारी कार्यान्वनयमा सरकारले तिब्रतर जोड दिने उनले व्यवसायीहरुसँग प्रतिवद्धता जाहेर गरे । 

बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण  र सहयोग गर्न समेत सरकार पछि पर्ने बताए । 

कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले भने, ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति हामी निकै संवेदनशील छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार तपाईहरुको साथमा छ ।’ उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गरिने बताए । 

संस्कृति पर्यटन तथा नागरिक उउड्यन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ ले गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले  बुझिदिन आग्रह गरे ।  यसै सन्दर्भमा व्यवसायीहरुलाई सम्बोधन गर्दै अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए । 

सो अवसरमा पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोध भर्ना रकमको अवधि बढीमा  दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न, विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरि ऋण प्रवाह गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए । 
यस्तै पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा रु.२० करोड रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग उनीहरुले गरेका थिए । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका थिए । बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप