शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्जुकिचबारे इब्राहिमोभिकको टिप्पणी- ‘अब विपक्षी डिफेन्डर तर्सनेछन्’

मङ्गलबार, ०६ माघ २०७७, १६ : ५१
मङ्गलबार, ०६ माघ २०७७

एजेन्सी । अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार एसी मिलानले क्रोयशियाली स्टार मारियो म्यान्जुकिचलाई टोलीमा भित्र्याउने तय गरेको छ । समाचारअनुसार गत जुलाईमा आपसी सहमतिमा कतारी क्लब अल दुहाईसँगको सम्झौता रद्द गरेयता कुनै क्लबमा आबद्ध नरहेका ३४ वर्षीय म्यान्जुकिचसँग मिलानले ६ महिनाका लागि सम्झौता गर्न लागिरहेको छ । 

मिलानका भेट्रान स्ट्राइकर ज्लाटान इब्राहिमोभिक यो सम्झौतालाई लिएर उत्साहित देखिएका छन् । उनले एसी मिलानको टोलीमा म्यान्जुकिच आएको हेर्न आतुर रहेको बताए । आफ्नो टोलीमा अब दुई खतरनाक गोल स्कोरर रहने र यसबाट विपक्षी टोलीका डिफेन्डरहरु तर्सने उनले बताएका छन् । आफुसँगका अधिकांश समकालिन खेलाडीहरुले सन्यास लिइसक्दा पनि ३९ वर्षीय इब्राहिमोभिक अझै जोशमै छन् ।

उनले सोमबार दुई गोल गर्दा १० खेलाडीमा सिमित मिलानले क्याग्लीअरीलाई २–० ले हरायो । यससँगै इब्राहिमोभिकले यस सिजन ८ खेल खेलेर आफ्नो गोलसंख्या १२ पुु¥याएका छन् । इटालियन सिरिएमा यस सिजन १८ खेलबाट ४३ अंक जोड्दै मिलान शीर्ष स्थानमा छ । दोस्रो स्थानको इन्टर मिलान ३ अंकले पछि छ । 

युभेन्टस्का पूर्वस्टार म्यान्जुकिचलाई क्लबमा भित्र्याएपछि मिलान अझै बलियो बन्ने समर्थकहरुको आँकलन छ । फ्रेन्च मिडफिल्डर सोउअलिहो मेइतेलाई पनि क्लबले भित्र्याउने तयारी गरेको छ ।  ‘म निकै खुसी छु,’ इब्राहिमोभिकले भनेका छन्,‘अब विपक्षीलाई तर्साउन हामी दुई हुनेछौं । हामीले राम्रो गरिरहेका छौं । हामी लिगको मध्यतिर छौं र अब खेलहरु थप कठिन हुँदैछन् ।’ 

मिलानका प्रशिक्षक स्टेफानो पिओलीले पनि दुुई भेट्रान स्ट्राइकरहरुलाई एकसाथ खेलाउन आफु उत्सुक रहेको बताएका छन् । २०१५ देखि २०१९ सम्म युभेन्टस्मा रहेका म्यान्जुकिचले गत सिजन कतारी क्लब अल दुहाईबाट खेलेका थिए । तर, ५ जुलाई २०२० मा उनले यस क्लबसँग आपसी सहमतिमा सम्झौता रद्द गरे । त्यसयता, टर्किस क्लब फेनरवाच, इटलीका इन्टर मिलान, फियोरेन्टिना र एसी मिलानले यी खेलाडीलाई भित्र्याउन चासो दिइरहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप