शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीमा राजाको भाषा ह्वास्सै गन्हायो : प्रचण्ड

मङ्गलबार, ०६ माघ २०७७, १६ : ३४
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् ।  प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए । 

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ प्रचण्डको भनाई छ । उनले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताए ।

उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताए । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए ।

प्रचण्डले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको बताए । ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो । उहाँलाई म गाली गर्दिन । तर्क गरिरहेको छु । पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ । माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे । उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए ।

उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताए । प्रचण्डले हिटलर र गोर्भाचोभसँग तुलना गर्दै ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’ उनले अन्ततः फैसला गर्ने निर्वाचन आयोगलाई आफुले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

उनले अन्ततः जनताले मात्रै सहि फैसला दिने भएकाले आफुहरु जनतामा गएको बताए । केपी ओलीले आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको प्रचण्डले बताए । देश भाँडमा जाने ओलीको कर्मको फल ओलीले चाँडै भोग्ने बताउँदै प्रचण्डले प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्नेगरी आन्दोलनको आँधीहुरी ल्याउनका लागि अघि बढ्न आग्रह गरे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप