मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनलाई ‘भ्यागुता’ भन्दै विपक्षी नेताले गरे आन्दोलनको अपिल

मङ्गलबार, ०६ माघ २०७७, १३ : ००
मङ्गलबार, ०६ माघ २०७७

रुसी विपक्षी नेता एलेक्जाई नाभाल्नीले सोमबार जनतालाई आन्दोलनमा उत्रन अपिल गरेका छन् । युट्युबमार्फत भिडियो सन्देश जारी गर्दै नाभेल्नीले आन्दोलनको अपिल गरेका हुन् । ‘यी भ्यागुता (भ्लादिमिर पुटिन) सबैभन्दा धेरै केसँग डराइरहेका छन् ? यी बंकर चोरहरु केसँग धेरै डराइरहेका छन् ? तपाईहरुलाई राम्ररी थाहा छ, उनीहरु मानिस सडकमा आउँछन् कि भनेर तर्सिरहेका छन् । त्यसैकारण तपाईंहरु सडकमा आउन तर्सनुहुन्न । मेरा लागि होइन, तपाईं र तपाईंको भविष्यका लागि,’ उनले भने ।  

नाभाल्नीलाई ३० दिनसम्म थुनामा राख्ने आदेश आएपछि उनले यस्तो अपिल गरेका हुन् । आइतबार पक्राउ परेयता उनी मस्को पुलिसको हिरासतमा छन् र उनको विषयमा एक घण्टासम्म अदालती सुनुवाई चलेको थियो । अदालती सुनुवाईअघि उनलाई वकिलहरुसँग सम्पर्क राख्न नदिइएको उनको कानूनी टिमको आरोप छ । 

अमेरिका र युरोपेली युनियनले नाभाल्नीको रिहाईको माग गरेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नाभेल्नी पक्राउ परेको समाचार सुनेपछि आफुलाई गहिरो दुख लागेको बताएका छन् । ‘आत्मविश्वास भएका नेताहरु राजनीतिक विपक्षीसँग तर्सनुहुन्न, न त उनीहरुले हिंसा वा गलत रुपमा विपक्षीलाई हिरासतमा राख्ने काम नै गर्छन्,’ उनले ट्वीटरमा लेखेका छन् । 
ट्वीटरमार्फत युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिचेलले पनि नाभाल्नीको तत्काल रिहाईको माग गरेका छन् । थुनामा राख्ने काम अस्विकार्य हुने उनले बताएका छन् । 

किन पक्राउ गरियो ?
रुसी अधिकारीहरुले पक्राउ गर्ने धम्की दिएपनि त्यसलाई बेवास्ता गर्दै नाभेल्नी घर फर्किएका थिए । भनुकोभो विमानस्थलमा नाभेल्नीका दर्जनौं समर्थक र पत्रकारसँगै दंगा प्रहरी पनि उनलाई कुरेर बसेको थियो । 
तर, पूर्व निर्धारित गन्तव्य परिवर्तन गर्दएै बर्लिनबाट मस्कोस्थित सेरेमेतयेभो विमानस्थलमा उनको जहाज अवतरण गरेको थियो । युरो न्युजकी संवाददाता गालिना पोलोन्सकाया पनि उनीसँग विमानमा थिइन् । हवाई यात्राका क्रममा नाभेल्नीले रिपोर्टरहरुसँग जोक गरिरहेको उनले बताइन् । उनले विमानमा अन्तर्वार्ता दिन भने अस्विकार गरेका थिए । तपाईंलाई पक्राउ पर्छु भन्ने डर त छैन भनेर एक व्यक्तिले सोधेपछि उनले जवाफ फर्काएका थिए, ‘म किन पक्राउ पर्ने ?’

पाइलटहरुले पहिले ३० मिनेट विमान अवतरणमा ढिलाई हुने घोषणा गरेका थिए । त्यसपछि प्राविधिक कारणवस् भनुकोभो विमानस्थल नभएर सेरेमेतयेभो विमानस्थलमा जहाज अवतरण गर्ने जानकारी गराए । त्यसपछि नाभाल्नीले यस्तो हुने अपेक्षा आफूले नगरेको बताएका थिए । ‘यसले देखाउँछ कि उनीहरु मसँग कुन हदसम्म तर्सिएका छन् ?’ उनले भनेका थिए । 

नर्भ एजेन्ट (विषाक्त केमिकल) को प्रयोगपछि झन्डै मृत्युको मुखमा पुगेका नाभेल्नी जर्मनीमा उपचार गराएर घर फर्किएका हुन् । फेरि जेल हाल्नसक्ने रुसी अधिकारहिरुको चेतावनीका बाबजुद गत बुधबार उनले आफू घर फर्कने घोषणा गरेका थिए । गत अगस्टमा रुस सरकारले नै आफूमाथि विष प्रयोग गरेको उनको आरोप छ । यद्यपी, रुसले विपक्षी नेताको विष प्रकरणमा सरकारको संलग्नता नरहेको बारम्बार जनाउँदै आएको छ । 

डिसेम्बरको अन्त्यमा रुसी संघीय पेनिटेन्सियरी सर्भिस (एफएसआईएन) ले आफ्नो कार्यालयमा तत्कालै रिपोर्ट  नगरे नाभाल्नीमाथि जेल सजाय हुनसक्ने धम्की दिएको थियो । सन् २०१४ मा नाभाल्नीले सम्पत्ति शुद्धीकरणको मामिलामा पाएको निलम्बित सजायकै नियमित प्रक्रिया अनुरुप बयान दिनुपर्ने यस संस्थाले जनाएको थियो । यद्यपी, यस कदमलाई नाभेल्नीले राजनीतिक रुपमा प्रेरित आरोप भनेका छन् । 
युरोपियन कोर्ट फर ह्युमन राईटस्ले पनि यो आरोपलाई गैरकानूनी भनेको थियो । एफएसआईएनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो कार्यालयमा नाभाल्नीले रिपोर्ट नगरेपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । नाभाल्नीको ३ वर्ष ५ महिनाको निलम्बित सजायलाई कार्यान्वयन गर्न मस्को अदालतसँग एफएसआईएनले माग गरेको छ ।  

नोभिचोकको प्रयोग 
२० अगस्ट २०२० मा साइबेरियाबाट मस्को जाँदै गर्दा एकाएक हवाईजहाजमै बिरामी भएका ४४ वर्षीय नाभाल्नी कोमामा पुगेका थिए । उनलाई पहिले साइबेरिया र त्यसपछि जर्मनीको बर्लिनस्थित अस्पताल लगिएको थियो । जर्मनी, फ्रान्स र स्विडेनका ल्याब तथा अर्गनाइजेशन अफ द प्रोहिविशन अफ केमिकल विपन्सले गरेको परीक्षणबाट नाभाल्नीमा सोभियतकालिन नोभिचोक नर्भ एजेन्ट प्रयोग भएको देखिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप