शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिन्ता कोरोनाको दोस्रो लहरको

जनस्वास्थ्यविद्को चेतावनी : हाम्रै लापरवाहीले आउन सक्छ
मङ्गलबार, ०६ माघ २०७७, १२ : ५९
मङ्गलबार, ०६ माघ २०७७


काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) देखापरेको एक वर्ष पुगिसकेको छ । सङ्क्रमण उत्कर्षमा पुगेको समय एकै दिन २५ हजार सक्रिय सङ्क्रमित पाइएको नेपालमा अहिले ३ हजार ८ सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ६५ पुगेको छ । नेपालमा महामारी फैलिने समय लम्बिएसँगै पछिल्लो समय सङ्क्रमण उल्लेख्य रूपमा घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । यद्यपि सङ्क्रमण दर घट्यो वा लुकेको अवस्थामा छ भन्नेबारे सम्बन्धित निकायबाट ठोस धारणा आएको छैन ।

नेपालमा सङ्क्रमण दर ओरालो लागिरहँदा बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजातिबाट ३ जना सङ्क्रमित भएको पुष्टि भएको छ । सोमबार २८ वर्षीया एक महिलासँगै ६७ र ३२ वर्षीय दुई पुरुषलाई नयाँ प्रजातिको कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २१ डिसेम्बरमा नेपाल आएका सङ्क्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । ६७ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर पौडेलले बताए ।

६७ वर्षीय पुरुषको सम्पर्कमा भएका व्यक्तिमा कोभिड पोजिटिभ देखिएको छैन । तर थप सतर्कता नअपनाए नेपालका लागि खतराको घण्टी बजेको जनस्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको छ । भाइरसको पुरानो प्रजातिको तुलनामा यो ५६ देखि ७० प्रतिशत बढी फैलिने अध्ययनहरुले देखाएको छ । त्यसैले वर्तमान समयमा कोरोना सङ्क्रमणको त्रास छैन भनेर पुरानै जीवनशैलीलाई अपनाइरहँदा नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिएका छन् ।

नेपालमा सङ्क्रमण दर घट्यो भनेर एकथरीले जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्न थालेका छन् भने अर्कोथरी कोरोना भाइरसको नयाँ प्रजाति शीघ्र फैलिनसक्ने भन्दै त्रसित छन् ।

राजनीतिले जनताको स्वास्थ्यलाई अप्ठ्यारोमा पार्न सक्छ : डा. शरद वन्त (जनस्वास्थ्यविद्)

वर्तमान समयमा कोरोना सङ्क्रमणको दर घटेको छ । स्वास्थ्य मन्त्रालयबाहेक सङ्क्रमितको तथ्याङ्क राख्ने अरु कुनै संस्था छैन । त्यसैले मन्त्रालयको तथ्याङ्कलाई आधार मान्नेभन्दा अरू विकल्प छैन ।

विगतमा सङ्क्रमण बढ्यो भन्दा पनि विश्वास ग¥यौँ, अहिले सङ्क्रमण दर घट्यो भन्दा पनि विश्वास मान्नुपर्ने अवस्था छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आधार मानेर बोल्ने हो । सङ्क्रमण घटेकै कारणले सङ्क्रमणको खतरा ट¥यो भनेर ढुक्क हुने अवस्था छैन ।

कोरोना सङ्क्रमण दर घटे पनि सरकार र जनताले लापरबाही गरेको खण्डमा सङ्क्रमणको दर तीव्र रूपमा बढ्न सक्छ । सङ्क्रमण घटेकै कारण यहाँ कोही पनि सुरक्षित छैन । भाइरसकोे नयाँ प्रजातिबाट सङ्क्रमितको सङ्ख्या विश्वमा बढिरहेको छ ।

विदेशमा सङ्क्रमण दर ह्वात्तै घट्ने र सङ्क्रमणको दर क्रमशः बढ्दै उच्च बिन्दुमा पुगेर पुनः लकडाउन गर्नुपर्ने स्थिति सिर्जना भएको छ । चुनौती भए पनि सावधानी अपनाउनका लागि हेल्चेक्र्याइँ गर्न हुँदैन । किनभने यस्ता प्रकोप चरणबद्ध रूपमा आउने–जाने गर्छन् ।

कोभिड—१९ का बारेमा पूर्ण रूपमा तथ्यहरू अझै पनि बाहिरिएको अवस्था छैन । नेपालमा कोरोना खोप तत्काल उपलब्ध भइहाले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न कदापि बिर्सन हुँदैन । सङ्क्रमण दर घट्यो, खोप पनि ढिलोचाँडो आइपुग्छ भनेर अब सङ्क्रमणको त्रास कम भयो भन्दै ढुक्क हुने अवस्था छैन । कोरोनाविरुद्धको खोप दिइसकेको बेलायत लगायतका देशहरुमा समेत पूर्ण रूपमा सावधानी अपनाइएका छन् । त्यहाँ कोरोना सङ्क्रमणको दोस्रो लहर आएरपछि पुनः लकडाउन गरियो ।

भाइरसको नयाँ प्रजाति आएकै कारण त्रसित हुनु पर्दैन । किनभने विगतदेखि नै सङ्क्रमण हुन नदिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउँदै आएका छौँ ।

यदि सावधानी अपनाउने सन्दर्भमा फेरि पनि ख्यालठट्टा ग¥यौँ भने नेपालमा दोस्रो लहर आउने अवश्यम्भावी हो । जनस्वास्थ्यका मापदण्ड पालना गरेको खण्डमा कोरोना भाइरसको नयाँ–नयाँ जुनसुकै प्रजाति आए पनि फरक पर्दैन । सरकारी तवरबाट नयाँ प्रजातिको भाइरस नेपालमा फैलिन नदिनका लागि स्थलमार्ग, हवाई मार्गमा निगरानी कडा रूपमा हुनुपर्छ । स्थल र हवाई मार्ग हुँदै आउनलेलाई परीक्षण गर्ने, क्वारेन्टिनमा राख्ने, कोरोनाको नयाँ प्रजाति देखिएको प्रमाणित भएका देशबाट केही समयको लागि यात्रालाई बन्द गर्ने ।

अझै पनि अन्तर्राष्ट्रिय रूपमा आवतजावत गरिहाल्ने समय  आएको छैन । कोरोना भाइरसमा देखिएको नयाँ प्रजातिका बारेमा अझै पनि अध्ययन भइरहेको छ । के कुरा भुल्न हुँदैन भने नेपालमै देखिएको कोरोना भाइरस पनि म्युटेसन  भएर नयाँ प्रजातिमा परिणत हुन सक्छ ।

सङ्क्रमण दर घटेको समय भनेको अत्यन्तै महत्त्वपूर्ण क्षण हो । किनभने सङ्क्रमणलाई रोक्नका लागि जनस्वास्थ्यका मापदण्डको पालना झन् प्रभावकारी ढङ्गबाट गर्न जरुरी हुन्छ । पछिल्लो समय देशका विभिन्न भागमा सरकार र राजनीतिक दलका कार्यकर्ता, विभिन्न पेसा, धर्ममा विश्वास गर्ने व्यक्तिहरुले सामूहिक प्रदर्शन गरेका छन् । जिम्मेवार व्यक्तिहरुले लापरबाही गरेमा नेपालमा दोस्रो लहर पक्कै आउँछ । किनभने सामाजिक जमघट, सभा, प्रदर्शन आवेगमा, भावनामा आएर अव्यस्थित तरिकाले अगाडि बढेकाले झन् खतरा बढ्यो ।

वर्तमान समयको राजनीतिक परिवेशले जनताको स्वास्थ्यलाई अप्ठ्यारोमा पार्न सक्छ ।

हाम्रै गल्तीले कोरोनाको दोस्रो लहर आउन सक्छ : डा. रवीन्द्र पाण्डे ( जनस्वास्थ्यविद्)

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति ५६ देखि ७० प्रतिशत बढी फैलिने अध्ययनहरु देखाएका छन् । सावधानी नअपनाएमा यो भाइरस छिटो फैलिन्छ । भौगोलिक अवस्था अनुसार भाइरसको म्युटेसन हुने हुँदा भाइरस कमजोर बन्न सक्छ भने थप शक्तिशाली पनि बन्न सक्छ । भाइरसको आनुवांशिक परिवर्तनसँगै उसको व्यवहारमा समेत परिवर्तन हुन्छ । त्यसैले यस भाइरसको फैलावट उच्च छ भने मृत्यु दर कम छ । तर नेपालमा फैलियो भने अस्पताल चाप बढ्न सक्छ । यसले मनोसामाजिक त्रास उत्पन्न हुन्छ । यो महामारी कतिसम्म फैलन्छ भन्ने थाहा हुँदैन । त्यसैले जनस्वास्थ्यको मापदण्ड अपनाउनुको विकल्प छैन ।

विगतमा सङ्क्रमित बढ्दा धेरै जना डराएर घरभित्र सीमित भए । तर अहिले विगतको जस्तो त्रासमा छैनन् । जुलुस, प्रदर्शनसँगै सामाजिक दूरी कायम नगरीकन जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्ने बढे । साथै शैक्षिक संस्था, नाइट क्लबसँगै भिडभाड हुने ठाउँ विस्तारै पुरानो अवस्थामा फर्किन थालेका छन् । यस्तो अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा सङ्क्रमणको दोस्रो लहर आउन सक्छ । नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति देखिइसकेको अवस्था छ । भारतमा ठूलो सङ्ख्यामा नयाँ प्रजातिको भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हवाई, स्थल मार्गमा कडाइ गरिएको छैन । त्यसैले यो भाइरस सङ्क्रमण दर बढ्न सक्ने सम्भावना धेरै छ । अझ यो नयाँ प्रजातिको भाइरस बालबालिका तथा युवामा बढी असर गर्ने भनिए पनि यसबारेमा अध्ययन भने भएको छैन । कोरोना भाइरसको नयाँ प्रजाति फैलिएमा सर्वसाधारण नै जिम्मेवार हुन्छन् । किनभने विगतदेखि नै सङ्क्रमण दर घट्यो भनेर ढुक्क तरिकाले हिँड्ने प्रवृत्तिले निरन्तरता पाइरहेको छ ।

नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति देखिए पनि आनीबानी, जीवनशैलीमा परिवर्तन गरे सङ्क्रमण हुँदैन । नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएकै कारण आत्तिनु पर्दैन किनभने यसबाट बच्न अनिवार्य रूपमा मास्क प्रयोग, सामाजिक दूरी कायम, भीडभाड नगर्ने, हात नियमित धुने वा सेनिटाइज गरेमा जति नयाँ खालको प्रजाति आए पनि फरक पर्दैन । यदि नेपालमा दोस्रो लहर आयो भने हामीले यो बिर्सन हुँदैन कि हामी नै यसका लागि जिम्मेवार छौँ भनेर ।

हाम्रा लागि मास्क नै खोप हो : डा. प्रभात अधिकारी (सरुवा रोग विशेषज्ञ)

नेपालमा कोरोना सङ्क्रमणको पहिलो लहर आएर सङ्क्रमण दर कम भयो भनेर वर्तमान समय अनुमान लगाउन सकिन्छ । काठमाडौँ उपत्यकाको हकमा पनि कोरोनाभाइरस कोभिड—१९ को पहिलो लहर आएर सङ्क्रमण दर कम हुँदै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको तथ्याङ्कबाट थाहा पाउन सकिन्छ ।

वर्तमान समयमा विश्वमा कोरोना महामारीको पहिलो लहर आउने त्यसपछि केही समय सङ्क्रमण दर ह्वात्तै घट्ने भएको छ । सङ्क्रमण दर घटेपछि जनस्वास्थ्यका मापदण्ड पालना नगरेर क्रमशः सङ्क्रमण दर बढ्दै जाने वा दोस्रो लहर देखिने भएको छ ।

सरकारसँगै सर्वसाधारण जनताले सतर्कता नअपनाएको खण्डमा ढिलो वा चाँडो दोस्रो सङ्क्रमणको लहर आउँछ । बेलायतबाट नेपाल आएका ३ जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको छ । नेपाल सरकारले उनीहरुबाट अन्य व्यक्तिलाई सङ्क्रमण भएको छैन भने पनि अन्य ठाउँबाट आएकाहरुबाट सङ्क्रमण भएको छ कि छैन भनेर थाहा पाउने अवस्था पनि छैन । यदि त्यो भाइरस हवाई, स्थाल मार्ग हुँदै आएका व्यक्तिबाट नेपालमा फैलिएको खण्डमा विगतमा भन्दा तीव्र रूपमा फैलिन सक्छ । त्यसैले पहिला भन्दा बढि सङ्क्रमित भएपछि पहिलाभन्दा बढी गम्भीर खालका बिरामी अवश्य पनि बढ्न सक्छ । वर्तमान समयमा कोरोना सङ्क्रमण दर घट्यो भन्दै जनस्वास्थ्य मापदण्ड पालना नगरिकन बस्न मिल्दैन । मास्कले कोरोनाविरुद्धको खोपले जस्तै काम गर्छ । किनभने मास्क लगाउँदा भाइरस नाकमुखबाट धेरै छिर्न पाउँदैन ।

विश्वको तथ्याङ्क हेर्ने हो भने जुनजुन देशले मास्कको प्रयोग गरे त्यस देशमा सङ्क्रमण दर, जटिलखालका बिरामीको सङ्ख्या घटेको पाइएको छ । जुन देशले मास्क प्रयोगलाई बेवास्ता गरे त्यहाँ सङ्क्रमितको उच्च भयो । कोरोना सङ्क्रमणको पहिलो लहरमै धेरै मानिसको ज्यान गएको छ । त्यसैले नयाँ प्रजातिलाई नेपालमा तीव्ररूपमा फैलिन नदिन स्थानीय, प्रादेशिक, केन्द्रीय सरकारले ध्यान दिनुको विकल्प छैन । भाइरसमा नयाँ प्रजाति देखिएका देशबाट नेपाल प्रवेश गर्नेलाई कडाइका साथ निगरानी गर्नुपर्छ । हामी सबैले कोरोना भाइरस सङ्क्रमणलाई सामान्य रूपमा नलिएर आफु पनि जोगिऔं, अरूलाई पनि जोगाऔँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप