अन्त्यहीन स्वतन्त्रताका उद्घोषक ओशो
१९ जनवरी १९९० का दिन पृथ्वीबाट यस शताब्दीका महान् अध्यात्मिक विभूति, क्रान्तिद्रष्टा ओशो रजनीश बिदा हुनुभयो । विश्वका महान् दार्शनिक विचारक तथा अनेक विद्वानहरूले ओशो रजनीशलाई ‘मेकर अफ द सेन्चुरी’ व्यक्तित्वका रुपमा सकारेका छन् । ओशोलाई आध्यात्मिक जगतका प्रखर, क्रान्तिकारी, प्रतिभावान्, सृजनशील व्यक्तित्वका रूपमा लिइएको छ । ओशोको जन्म १९३१ मा भयो । उहाँको जन्म भएको कालखण्डको पृष्ठभूमिलाई बुझ्ने हो भने मात्र ओशोको जन्मको रहस्य पटाक्षेप हुन्छ । उहाँको जन्म भएको समयमा पहिलो विश्व युद्ध सकिएर अब फेरि युद्ध नहोस् भन्ने उद्देश्यले गठन गरिएको लिग अफ नेसन पुरै असफल भइसकेको थियो । अर्को ठूलो युद्धको तयारीका तानावानाहरु बुनिइरहेका थिए । दोस्रो विश्व युद्धको तयारी भित्रभित्रै चलिरहेको थियो । वास्तवमा मनुष्यले शान्तिको समय धेरै कम जानेको छ । विगतको ३४ सय वर्षमा मात्रै ८ प्रतिशत समय मात्र यस्तो थियो जुन बेला पृथ्वीमा शान्ति थियो र हामी एक आपसमा लडेका थिएनौं । । बाँकी ९२ प्रतिशत समयमा यो पृथ्वीमा युद्धै मात्र भएको छ । वास्तवमा शान्तिको कालखण्ड भनिएको समय पनि युद्धको तयारीमा लागेको देखिन्छ ।
स्वामी आनन्द अरुण
पहिलो विश्वयुद्धको विभीषिकाले संवेन्दनशील मनुष्यलाई सोच्न बाध्य पार्यो । यो विश्वयुद्ध भन्दा अघिका युद्धहरु साना, सीमित र कुनै स्थान विशेषमा हुन्थे । त्यही कारणले त्यसको विनाशको असर पनि सीमित हुन्थ्यो । तर बीसौं शताव्दीको पूर्वार्धमा विज्ञानले ठुलो शक्ति मानिसलाई प्रदान गर्यो । यो शक्ति अब हुने युद्धमा प्रयोग हुने अवश्यम्भावी नै थियो जसले व्यापक विनास निम्त्याउने पक्का थियो । पहिलो विश्वयुद्धपछि चिन्तकहरुले यो सोच्न थाले कि अब मनुष्यले युद्धको विभीषिका झेल्न सक्दैन । किनभने युद्धमा प्रयोग हुने प्रविधिको कारणले मनुष्यताको व्यापक विनाश हुनेछ । यो पृथ्वीमा यस्तो व्यक्ति आउनु पर्यो, यस्तो दर्शन आउनुपर्यो, जसले मानिसको चेतनामा गहिरो रूपले लुकेको हिंसक वृत्तिलाई शमन गर्न सकोस् । विज्ञान र धर्मलाई समायोजन गरी प्रेमपूर्ण सह–अस्तित्वको लागि चेतनशील मनुष्यको जन्मको बीज रोप्न सकोस् ।
वास्तवमा यही प्रयासमा थियोसोफिस्टहरुको आन्दोलन उन्नाइसौं शताब्दीको उत्तरार्द्धतिरबाट सुरु भैसकेको थियो । यो आन्दोलनले आफ्नो लक्ष्यमा सफलता प्राप्त गर्दै अघि बढिरहेको थियो । एनी वेसन्ट, अकाल्ट र लीडविडरहरुले यस्तो व्यक्तिहरु खोजी गरिरहेको थिए जसले समग्र मनुष्यतालाई विश्व शान्तिको सन्देश दिन सकोस्, जसको सन्देशबाट विभिन्न मत मतान्तरमा बाँडिएको विश्वलाई एक गर्न सकोस् । वैचारिक मतभेदमा बाँडिएको यो विश्व एक हुन सकोस् । आपसको विभेद युद्धको कारण नबनोस् । थियोसोफिस्ट आन्दोलन अन्तर्गत “स्टार अफ् द ईस्ट” नामक एक संस्था खोलिएको थियो जसमा दुनियाका करिब एक लाख प्रभावशाली व्यक्तिहरु जोडिसकेका थिए । यसमा विश्वका दार्शनिक, विद्वान, लेखक, कवि, कलाकार जस्ता अनेक ठूला व्यक्तित्वहरू समावेस भएका थिए । एनी वेसंट र लीडविडरले यो उद्देश्यका लागि आउने युगको मसिहाको रुपमा जे. कृष्णमूर्तिलाई चुनेका थिए र विश्व गुरुको रुपमा कृष्णमूर्ति स्थापित भइरहेका थिए । आउने शताब्दीको संदेशवाहकको रुपमा कृष्णमूर्तिलाई पश्चिमा स्वीकार्ने क्रम बढ्दो थियो । तर ३ अगस्त १९२९ मा कृष्णमूर्तिले त्यो भूमिका निभाउन अस्वीकार गरी “स्टार अफ् द ईस्ट”लाई सत्यको कुनै मार्ग हुँदैन भन्दै विघटन गरिदिनुभयो । कृष्णमूर्तिले एक विश्वगुरुको पदार्पणलाई अस्वीकार गरी थियोसोफिस्टहरुको सारा प्रयासलाई असफल तुल्याई दिनुभयो । यो घटनाले सारा विभेदहरुलाई खतम गरी मनुष्य चेतनामा उत्क्रान्ति पैदा गर्ने एक विश्वगुरुको प्रतिक्षालाई पुनः बढाई दियो । यही प्रतिक्षाको क्षणमा ओशोको जन्म भयो ।
युरोपमा अशान्तिको बीज रोपिने क्रम जारी थियो । जर्मनीमा हिटलरको उदय भइसकेको थियो । हिटलर शक्ति आफ्नो हातमा लिन अनेक राष्ट्रबादी नाराहरु दिई अन्धराष्ट्रवाद र युद्धको तयारीमा जुटिरहेको थियो । रुसमा स्टालिनको शासनले पनि भित्रभित्रै युद्धको तयारी गरिरहेको थियो ।
ओशोको जन्म एक असाधारण घटना हो । कुन अर्थमा यो असाधारण घटना हो भने आइन्स्टाइन पछि विज्ञानले नयाँ फड्को मार्यो । पुरानो विज्ञानले नयाँ शताब्दीमा प्रवेश गर्यो । सिग्मन्ड फ्राइड पछि मनुष्यको सोच्ने धाराले नयाँ मोड लियो । सिग्मन्ड फ्राइड पछि मनुष्यले आफ्नो बारेमा सोच्ने पुरानो ढंगलाई नयाँ तरिकाले सोच्न बाध्य बनाइदियो । उनले मनुष्यको मनमा एक आमूल क्रान्ति ल्याए । कार्ल माक्र्सको प्रादुर्भाव पछि राजनीतिक शास्त्र, आर्थिक शास्त्र, शासनतन्त्रमा एक व्यापक परिवर्तन क्रान्ति ल्यायो । ओशो अघि धेरै धार्मिक गुरुहरु आए । सबैले मनुष्यको चेतनालाई परिवर्तन र प्रभाव पार्ने अनेकौ दर्शन र साधनाको विज्ञान दिए तर ओशोपछि धर्मले नयाँ भाषा सिक्यो । ओशोले धर्मको आगामी शताब्दीको मार्गदर्शन दिनुभयो ।
कुनैपनि क्रान्तिद्रष्टालाई बाचुन्जेल शरीरमा भइन्जेल उसलाई बुझ्न गाह्रो हुन्छ । किनभने मनुष्यको यो मनोविज्ञान नै हो कि उसको शिक्षण भन्दा उसको व्यक्तित्व ले त्यो समयलाई प्रभाव पारिरहेको हुन्छ । हामी केन्द्रमा भन्दा पनि परिधिमा बाँच्न रमाउने प्राणी भएको कारणले कुनैपनि गुरु वा बुद्ध पुरुषको कुरा भन्दापनि हामी उसको जीवनलाई बढी महत्व दिन्छौं । हामी उसको आत्मालाई भन्दा शरीरलाई बढी महत्व दिन्छौं । त्यस्ता महापुरुषहरु जब यस पृथ्वीबाट बिदा हुन्छन्, तब मात्र हामी उनीहरुको शिक्षणलाई महत्व दिन्छौं । हजारौं बर्षको मनुष्य इतिहास यस्तै छ । ओशोले शरीर छोडेको ३१ वर्षपछि आज उहाँलाई बुझ्न मनुष्यलाई सजिलो हुँदै आएको छ । ओशो शरीरमा भइञ्जेल धेरै विवादास्पद हुनुभयो, उहाँको जति आलोचना भयो त्यति कसैको भएन ।
उहाँलाई कसैले एक उपद्रवी विचारकको रुपमा लिए भने कतिले धर्मभंजकको रुपमा लिए । ओशोको क्रान्तिकारी दर्शन र साधना पद्धतिको मर्म बुझ्ने मानिसहरु धेरै कम थिए । आज ओशो हुनुहुन्न त्यसैले आजको मनुष्यले उहाँको दर्शनलाई बुझ्ने परिस्थिति बन्दै गएको छ किनभने मनुष्यले उहाँको व्यक्तित्वबाट आफ्नो नजर हटाएर उहाँको दर्शनको अध्ययन गरिरहेको छ । आजका महान् धार्मिक गुरुहरु जस्तै दलाइ लामाले ओशोलाई बुद्ध पछिका एक महान अवतार तथा सत्रौं कर्मापाले आधुनिक युगमा ओशोले साधना जगतमा ठूलो क्रान्तिकारी परिवर्तन ल्याउने कुरा बताएका छन् । त्यस्तै भारतका लेखक दार्शनिक पत्रकार एम. वि. कामथले भनेका छन् – “हामीले जतिसुकै क्रान्तिकारी, अपराम्परिक कुरा गरेपनि हामीलाई त्यसको सीमा थाहा हुन्छ । किनभने हामीलाई हाम्रो साहसको सीमाको बोध छ । तर रजनीशजीमा स्वतन्त्रताको कुनै सीमा छैन । उनका शब्दहरुले आन्दोलित गर्छन् र उनका प्रवचनहरु चुनौतीले परिपूर्ण भएर प्रवाहमान हुन्छन् ।” ओशो रजनीशले आफ्नो दर्शनको सुरक्षालाई महत्व दिनुभएन । उहाँले सत्यको शुद्ध अभिव्यक्तिलाई रोज्नुभयो । अहिले संसारका धेरै प्रतिष्ठित व्यक्तिहरुले ओशोको प्रतिभाबाट प्रभावित यस्ता अभिव्यक्तिहरु दिइरहेका छन् ।
कुनै पनि प्रतिभाशाली व्यक्तिलाई समकालीन समाजले बुझ्न कठीन हुन्छ । केही प्रतिभावान् व्यक्तिहरूले बुझ्न सके पनि समग्र समाजले त्यस्ता व्यक्तिहरुलाई बुझ्न र पचाउन गाह्रो हुन्छ । भ्यान गागको साधारण चित्रको पनि मुल्य आज करोडौंको छ । तर आश्चर्य लाग्छ, उ जीवित रहिन्जेल उसलाई पेट भर्ने ठूलो समस्या थियो । आफ्नो जीवनकालमा उनले एउटा पनि चित्र बेच्न सकेनन् । असफलता नै असफलताका बीच त्यति प्रतिभावान् व्यक्तिले आफैले गोली हानेर ३७ वर्षको उमेरमा आत्महत्या गर्नुप¥यो । यस्ता प्रतिभालाई बुझ्न पनि समयको अर्कै परिप्रेक्ष चाहिन्छ । वस्तुगत जगतमा त हामी प्रतिभावान् व्यक्तिलाई बुझ्न सक्दैनौं भने धर्म जस्तो नितान्त व्यक्तिगत जगतमा हामी कसैलाई कसरी बुझ्न सक्छौं ? यो यस्तो जगत हो जसमा कुनै प्रमाण देखाउन सकिदैन । ठोस चिज देखाउन सकिदैन । यस जगतमा ओशोलाई बुझ्न मनुष्यलाई समय लागिरहेको छ भने यो हामी बुझ्न सक्छौं, क्षमा गर्न सक्छौं किनभने ओशो प्रतिभाको ठूलो विष्फोट हो । यो विष्फोटको शक्तिलाई बुझ्न र ग्रहण गर्न मनुष्यतालाई अझै केही समय चाहिन्छ ।
म सबैलाई के आग्रह गर्न चाहन्छु भने ओशोलाई पढ्नुस्, ओशोलाई सुन्नुस् । वास्तवमा ओशोलाई पढ्नु पनि स्वतन्त्रताको अनुभूति हो । ओशोलाई तपाईंले पढ्नु भने तपाई आफ्नै मनको जेल र विचारहरूको नेलबाट मुक्त हुन सक्नुहुन्छ । ओशो स्वतन्त्रताको उद्घोषक हुनुहुन्छ । ओशो स्वतन्त्रताको बीज, मार्ग र गन्तव्य हुनुहुन्छ । मनुष्य आफ्नै मनको बन्धन र उत्पीडनबाट ग्रसित छ । आफैँभित्रको दासताबाट मुक्ति नभइकन बाहिरबाट जतिसुकै मुक्तिको कल्पना गरे पनि क्रान्ति गरेपनि अन्तमा त्यो अर्को शोषणको प्रपञ्च मात्रै सिद्ध हुन्छ । मानसिक स्वतंत्रताको पथ प्रदर्शक ओशो नै हुनुहुन्छ।
ओशोका ७०० पुस्तकहरु छन् त्यसमध्येबाट कुनै एक पुस्तक लिनुस् र पढ्नुस् । त्यसले तपाईंको सोचाइ, समस्त जीवन व्यवहारमा परिवर्तन अवश्य ल्याउने छ । रुपान्तरणकारी चित्तले मात्र ओशोलाई बुझ्न सक्छ, यथास्थितिवादी र जीर्ण पुरातनवादीहरुले ओशोलाई बुझ्न कदापि सक्दैनन् । प्रगतिशील पार्टीका हैनन् प्रगतिशील चित्तले मात्र उसलाई बुझ्न सक्छन् । ओशो स्वयम् कै क्षुद्रताबाट मुक्तिको नाम हो । स्वयम् कै आध्यात्मिक गुलामीबाट मुक्ति हो । उहाँको महापरिनिर्वाण दिवसका दिन म उहाँप्रति नमन र भक्ति प्रकट गर्न पाउँदा अत्यन्त अनुगृहीत छु ।
[email protected]