शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

मङ्गलबार, ०६ माघ २०७७, ०९ : २४
मङ्गलबार, ०६ माघ २०७७

विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ ।

नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ । भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पु¥याउन थालेका हुन् । वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ । गत वर्ष प्रतिकिलो रु ९० को हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो रु १४० मा किनबेच भइरहेको छ । यसै वर्षको भाउ पनि एकरुपता छैन ।

शुरुमा रु १०० रहेकामा विस्तारै बढेर रु १४० पुगेको हो । कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरे बताउँछन् । यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ ।

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्न सक्ने उनको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ । ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्लिसोको फल नै कुचो हो । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने व्यवसायीलाई कुचो बेच्ने गरेका छन् । यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्लिसो थुत्ने गर्दछन् । यसपछि सुकेपछि बेच्ने गरेका छन् ।

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि भाउ कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ । “कुचो जुन सालको हो । त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ”, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका छन् ।

यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको भाउ कम मात्र दिने गरेको छ ।  यस वर्ष भने भाउ उल्लेखीय आएकाले किसानसमेत बेच्न कसिएका छन् । कुचोको भाउ उल्लेखीय आएकाले  माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्लिसो थुतेर बेच्न शुरु गरेको जानकारी दिए । 

भाउ घटबढ भइरहने हुनाले तत्काल बेच्नका लागि मेघाले यस वर्ष कुचो बेच्न हतार गरिरहनुभएको छ । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहेनत गर्नु नपर्ने भएकाले पनि किसानले अम्लिसो खेती गर्छन् । गाई भैँसीको लागि मुख्य घाँसको रुपमा किसानले अम्लिसो रोप्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप