शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनको एक महिना : काँग्रेसको प्राथमिकता के ?

देउवा–पौडेलको स्वार्थ काँग्रेसमा मतभेदको जड
मङ्गलबार, ०६ माघ २०७७, ०८ : १८
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनको निर्णय लिएको एक महिना भइसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा प्राथमिकताको ‘कित्ता क्लियर’ हुन सकेको छैन । संस्थापन र इतर पक्षले गुटगत लाभहानीको लेखाजोखा गरि धारणा बनाउँदा पनि काँग्रेसमा अलमल देखिएको छ ।

संसद् विघटनको विषयमाथि छलफलका लागि पुस ७ बाट जारी केन्द्रीय समिति बैठक पनि यसमै अल्झिएको छ । सुरुवाती चार दिन नियमित र पुस १९ मा गरी पाँच दिन बैठक बसेर दुई चरणका आन्दोलनको घोषणा गरेको काँग्रेसले बैठक टुङ्ग्याएको छैन । मंगलबार (आज)का लागि बोलाइएको केन्द्रीय समिति बैठक  माघ १३ गतेका लागि सारिएको छ ।

विघटनका विषयमा सर्वोच्च अदालतको अन्तिम फैसला स्वीकार गर्दै केन्द्रीय समितिबाट अन्तिम निर्णय लिने काँग्रेसको रणनीति देखिन्छ । यता सर्वोच्च अदालतको संवैधानिक इजालसमा माघ ८ बाट सुरुको संसद विघटनमाथि बहस जारी छ ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले पनि अदातलको फैसला अनुसार काँग्रेसले रणनीति बनाएर जाने बताए । उनले भने, ‘सर्वोच्चले जे निर्णय गर्छ, त्यसलाई स्वीकार गर्छौं । विघटन सदर गर्यो भने तत्काल निर्वाचनका लागि दबाब दिन्छौं । चुनावका लागि तयार रहन्छौं । अब संसद पुनःस्थापना गर्यो भने सरकार निर्माणको नयाँ कोर्स सुरु हुन्छ । त्यही अनुसार रणनीति बनाउछौं ।’ अहिले नेताहरुले विभिन्न टिप्पणी गरे पनि पार्टी यस कुरामा प्रस्ट रहेको उनको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही नेताले त्यसको विपक्षमा मत प्रकट गर्दै आएको पाइन्छ ।

पौडेलले संसद् पुनः स्थापनालाई प्राथमिकताका साथ उठाउँदै संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । ‘प्रतिनिधि सभा विघटन नै असंवैधानिक छ, अप्रजातान्त्रिक छ । त्यो सच्चिनुपर्छ । हाम्रो पहिलो कुरा त्यो हो । संविधान नै एकतिर मिल्काइएपछि केको चुनाव ?,’ प्रश्न गर्दै पौडेलले रातोपाटीसँग भने, ‘चुनावको हतारो हामीलाई होइन, हामीलाई संविधान र लोकतन्त्र बचाउने हतारो हो । काँग्रेस संविधान बचाउने पक्षमा छ । लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’

पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताए । ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भने । 

काँग्रेसको उद्देश्य नै देशलाई व्यवस्था दिनुभएको भन्दै सांसद मात्र भन्ने कुरालाई उद्देश्य ठान्न नहुने उनको भनाइ छ । ‘चुनाव आइहाल्यो, अब त आनन्दले सांसद हुन पाइने भयो भनेर दङ्ग नपरौँ । किनभने हाम्रो उद्देश्य सांसद बन्नु मात्र होइन । मन्त्री बन्नु मात्र होइन । हाम्रो उद्देश्य देशलाई व्यवस्था दिनु हो,’ पौडेलले भने, ‘देशको उन्नति दिनु हो । जनतालाई स्वतन्त्रता दिने हो । नेपाली जनताको सार्वभौम सत्तालाई साकार पार्ने हो हाम्रो उद्देश्य हो । लोकतन्त्र नै हाम्रो महान् मिसन भएकाले लोकतन्त्रको मिसनमा बिना सङ्कोच र बिना द्विविधा अगाडि बढ्नुपर्छ ।’

पौडेलको मतलाई सभापति देउवा पक्षले क्षणिकको ‘पपुलर’को रूपमा अथ्र्याएको छ । अहिले चुनावमा जाँदा पार्टीलाई फाइदा हुने देउवा पक्षीय बुझाइ छ ।

सभापति शेरबहादुर देउवाको विश्वास पात्रका रूपमा चिनिने नेता गोपालमान श्रेष्ठले भने, ‘त्यो क्षणिक पपुलरको कुरा हो । नागरिक समाज, बुद्धिजीवी र ग्रासरुटका काँग्रेसहरु चुनावको पक्षमा छन् । देशव्यापी आन्दोलनका क्रममा पनि ग्रासरुटका नेता–कार्यकर्ता चुनावको पक्षमा जोड दिएको पाइन्छ ।’ तर संसद् पुनः स्थापना हुँदा पनि निर्वाचनका लागि डेढ दुई वर्ष कुर्न काँग्रेस तयार नै रहेको उनको भनाइ छ ।

नेता श्रेष्ठले भने, ‘संसद् पुनः स्थापना भएर चुनाव भएन भने पनि ठीकै छ, डेढ दुई वर्ष कुरौँला । सर्वोच्च अदालतबाट संसद् पुनः स्थापनाको पक्षमा फैसला आए पनि सबैभन्दा पहिले स्वागत गर्छौं ।’

अदालतबाट संसद् विघटनको निर्णय सदर भए पनि मुलुक र प्रजातन्त्रलाई फाइदा हुने गरी काँग्रेसले नीति अख्तियार गर्ने उनको भनाइ थियो । ‘मुलुकलाई जता फाइदा हुन्छ त्यता जाने हो । जे गर्दा प्रजातन्त्रलाई फाइदा हुन्छ, त्यही गर्छौं । हाम्रो प्रजातान्त्रिक पार्टी हो । त्यहीअनुसार हाम्रो नीति बन्छ ।’

सार्वजनिक रूपमा कसले के भने भन्ने विषयलाई लिएर संसद् विघटनका सन्दर्भमा काँग्रेसभित्र दुई मत छ भनेर बुझ्न नहुने श्रेष्ठको भनाइ छ । ‘संसद् विघटनविरुद्ध काँग्रेस एक छ । हामी एक छौँ । बैठक गर्दा एउटै निर्णय गरेका छौँ, असंवैधानिक कदम फिर्ता लिनुपर्छ भनेकै छौँ । जितेको सभापति शेरबहादुर हो, हारेको सभापति रामचन्द्रजी हो । बाँकी त अरूको कुरा हो,’ उनले भने ।

संसद् विघटनविरुद्ध आन्दोलन चुनावी अभियान नभई सङ्गठन निर्माणको अभियान भएको श्रेष्ठले बताए । काँग्रेस सङ्गठन विभाग प्रमुखसमेत रहेका उनले भने, ‘अहिले हामीलाई सङ्गठन चाहिएको छ । मत बटुल्न पनि सङ्गठन चाहियो । भोलि आन्दोलन गरेर आँधीबेहोरी ल्याउन पनि सङ्गठन त चाहियो । असारसम्म पनि चुनाव गराएनन् भने केपीलाई घोक्रेठ्याक लगाएर निकाल्नुपर्ने हुन्छ । त्यसका लागि पनि सङ्गठित चाहियो । हाम्रो आन्दोलन संसद विघटनको विरोध र सङ्गठन निर्माणको अभियान हो ।’

देउवा–पौडेलको स्वार्थ काँग्रेसमा मतभेदको जड

काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच संसद् पुनः स्थापना कि निर्वाचन भन्नेमा एक महिनादेखि दोहोरी जारी छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटनको घोषणा गरेपछि देउवाले निर्वाचन र पौडेलले संसद पुनःस्थापनामा जोड दिएको पाइन्छ ।

सरकारले बैशाख १७–२७ का लागि मध्यावधि चुनावमा घोषणा गरेको छ । देउवाले त्यसका लागि तयार रहन कार्यकर्तालाई सार्वजनिक रुपमा निर्देशन दिरहेको अवस्था छ ।

सडक संघर्षबाट भए पनि संसद पुनःस्थापनाका लागि काँग्रेस तयार हुनपर्नेमा पौडेलको जोड छ । यही विषयमा केन्द्रीय कार्यसमिति बैठकदेखि सार्वजनिक कार्यक्रममा समेत देउवा र पौडेलबीच जोहारी छलफल गरेको छ ।

देउवा र पौडेलको यो मतभेदमा व्यक्तिगत स्वार्थ हावी भएको काँग्रेस नेता डा. नारायण खड्काको बुझाइ छ । ‘रामचन्द्रजीलाई महाधिवेशन पहिला भए सभापति हुन्छु कि भन्ने लागेको होला,’ काँग्रेसमा तथष्ट नेताको छवी बनाएका खड्काले भने, ‘देउवाजीलाई पनि आफ्नो नेतृत्वमा पार्टी कमजोर भयो । चुनावमा जान पाए पार्टी पहिलो बनाएर जस लिन्छु भन्ने लागेको होला । दुवै नेताले आफ्ना निजी चाहना त्याग्न नसकेर नै काँग्रेसमा विवाद देखिएको हो ।’

उनका अनुसार दुवै नेताले मुलुक र जनताको स्वार्थ हेर्ने हो भने काँग्रेसमा ठूलो सैद्धान्तिक विवाद छैन ।

‘काँग्रेसको मुख्य भूमिका मुलुक र जनताको स्वार्थ हेर्ने हो । मलाई लाग्छ हाम्रा नेताहरु आफ्नै स्वार्थका पछाडि कुदेका छन् । के गर्दा मलाई मात्रै फाइदा हुन्छ भन्ने सोचबाट सबै नेताहरु मुक्त हुनुपर्छ,’ उनले भने, ‘यस विषयमा मैले देउवाजी र पौडेलजीलाई दुई जना परामर्श गरेर मुलुकलाई संकटबाट पार लगाउन जुट्नुहोस् भन्दै आएको छु ।’

यतिबेला देउवा र पौडेलको मिलनले देश र लोकतन्त्रलाई फाइदा हुने उनको भनाइ छ ।

‘लामो समयका सहयात्री भएकाले देउवाजी र पौडेलजी मिलेर जाँदा काँग्रेससँग सँगै लोकतन्त्रलाई फाइदा हुन्छ । देशलाई संकटबाट जोगाउने क्षमता देखाउने बेलामा आफैभित्र मतभेद भएको राम्रो होइन । यो विषयमा दुई जना बसेर परामर्श गर्न जरुरी छ,’ खड्काले भने ।

यता देउवाले पनि सोमबार अपरान्ह पौडेलकै निवास बोहोराटार भेटवार्ता गरेका थिए । करिब एक घण्टा पार्टी सांगठनिक र समसामयिक विषयमा वातचित भएको पौडेलको जानकारी दिए । पार्टीको सांगठनिक विवाद र संसद विघटनबारे देखिएको मतदेभमाथि थप छलफल गर्ने देउवा– पौडेलबीच समझदारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप