शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतको प्रशंसा गरेपछि पाकिस्तानका कार्यक्रम प्रस्तोता निशानामा

मङ्गलबार, ०६ माघ २०७७, ०७ : ४५
मङ्गलबार, ०६ माघ २०७७

पाकिस्तानमा टिभी कार्यक्रमको प्रस्तोताको रुपमा कार्यरत इकरारुल हसन सोमबार आफ्ना केही ट्वीटका कारण निशानामा आएका छन् । उनलाई देशद्रोहीसम्म भन्न थालिएको छ । 

‘सार–ए–आम’ नामको पाकिस्तानी टिभी शोका प्रस्तोता इकरारुल हसनले १७ जनवरीमा भारतको नीति आयोगका सिइओ अमिताभ कान्तको एउटा ट्वीट रिट्वीट गरेका थिए । 

अमिताभ कान्तले आफ्नो ट्वीटमा भारतलाई संसारको भ्याक्सिन हब बताएका थिए । यो ट्वीटलाई रिट्वीट गर्दै हसनले लेखेका थिए, ‘इन्डिया भर्सेस पाकिस्तान – अहिलेसम्म पाकिस्तानले भ्याक्सिन मगाउँछ कि मगाउँदै भनेर नै निश्चित भइसकेको छैन । बनाउन त टाढाको कुरो । प्रतिस्पर्धा नै गर्नु छ भने तालिममा गर्नुहोस्, विज्ञानमा गर्नुहोस्, खेलमा गर्नुहोस्, संरचनामा गर्नुहोस्, अर्थव्यवस्थामा गर्नुहोस्, प्रविधिमा गर्नुहोस्... र वास्तविकताको सामना गर्नुहोस् ।’

यसअघि सैय्यद इकरारुल हसनले दुई तस्बिर पोस्ट गरेका थिए । दुबैमा पाकिस्तान र भारतको सार्वजनिक यातायातको तुलना गरिएको छ । पाकिस्तानसँग सम्बन्धित तस्बिरमा सडकमा गुडिरहेको एउटा जर्जर गाडी छ  जसमा केही उभिएका छन् त कोही बसेका । यस्तै भारतसँग सम्बन्धित तस्बिरमा जन शताब्दी एक्सप्रेसभित्रको तस्बिर छ जसमा आरामदायी सिट चम्किरहेका छन् । 

यो तस्बिरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १६ जनवरीमा ट्विीट गरेका थिए । मोदीले तीन तस्बिर पोष्ट गर्दै लेखेका थिए, ‘यो अहमदाबादबाट केवठिया जाने जन शताब्दी एक्सप्रेस हो ।’

इकरारुल हसन यतिमा मात्रै रोकिएनन् । उनले पाकिस्तानी पासपोर्ट र मुद्राको कमजोर स्थितीबारे पनि जानकारी दिए । उनले आफ्नो यो ट्वीटमा लेखे, ‘दुर्भाग्यले पाकिस्तानी पासपोर्टको स्थिती सोमालिया र अफगानिस्तानभन्दा मात्रै राम्रो छ । पाकिस्तानी रुपैयाँ बंगलादेशको एक टकाका लागि १.९० र भारतको एक रुपैयाँका लागि पाकिस्तानले २.२० दिनुपर्छ । हामीले सही अर्थमा पाकिस्तानको जिन्दाबाद गर्न सक्ने शक्ति अल्लाहले हामीलाई प्रदान गरुन् ।’

इकरारुल हसनको यी टिप्पणीमाथि थुप्रै पाकिस्तान भड्किएका छन् । कतिले त उनलाई गद्दारसम्म भने । इकरारुलसँग माफी माग्न भनिएको छ । पाकिस्तानको ट्विटरमा #ApologiseToTheCountry ट्रेन्ड हुन थालेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तहरिक–ए–इंसाफ पार्टीका नेता हंस मसरुर बदवीले इकरारुलको ट्विीटमा आपत्ति जताउँदै भने, ‘के तपाईं पनि भारतमा शरण चाहनुहुन्छ ? यदि होइन भने पाकिस्तानको सुन्दरता देखाउनुहोस् ।’

तर इकरारुलको विरोध मात्रै भएको भने होइन । पाकिस्तानका ठूला हस्ती पनि उनको समर्थनमा आएका छन् । इकरारुलको समर्थनमा #WeSupportIqrar चल्न थाल्यो । 

पूर्व पाकिस्तानी क्रिकेटर शोएब अख्तरले इकरारुललाई समर्थन गर्दै भनेका छन्, ‘कसैलाई निशाना बनाउनु अघि सुरुमा ती व्यक्तिले के भन्न चाहिरहेका छन् भनेर सन्दर्भ बुझ्न जरुरी छ । इकरारुल हसनलाई आफ्नो पाकिस्तानप्रति जति प्रेम र समर्पण छ, त्यसमा न त कुनै विवाद छ न नै प्रश्न खडा गर्न सकिन्छ ।’

पूर्व पाकिस्तानी क्रिकेटर कामरान अकमल पनि इकरारुल हसनको समर्थन आए । उनले ट्वीटरमा लेखे, ‘जो व्यक्ति आफ्नो मुलुकमा आफ्ना मानिसहरुका लागि राम्रो यातायात व्यवस्था चाहन्छ, उसको पोस्टको आधारमा हामी देश प्रति उनको निष्ठा र प्रेमलाई कठघरामा उभ्याउन पाउदैनौं ।’

पाकिस्तानी गायक अली जाफरले पनि इकरारुलको समर्थनमा पोष्ट गरेका छन्, ‘जो व्यक्तिले आफ्नो मुलुक र जनताका लागि थुप्रै पटक ज्यान जोखिममा पारेको छ, नथाकिकन लगातार काम गरिरहेको छ, उनको एक पोस्टको विषयमा शंका गरिँदैछ जसमा उनी सायद राम्रो यातायात व्यवस्थाको कुरा गरिरहेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप