केन्द्रीय संस्करण

रानीपोखरीको हरियो लेउ र झ्याउ थालियो हटाउन

person explore access_timeमाघ ५, २०७७ chat_bubble_outline0

काठमाठौं । रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले  पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालेको छ ।  महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ । 

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुनर्निमाण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुर्ननिर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’ 

सहरको सौदर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाई छ । 

‘पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि हामीले नगरप्रहरीको सहयोगमा त्यहाँको लेउ र झ्याउ हटाउन थालेका छौँ । दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइलाई महानगरपालिकाले नियमित गर्छ,’ ज्ञवालीले भने, ‘पानीमा माछा नहालेकाले हो अथवा सुरुमा हालेको पानीका कारणले त्यस्तो भएको हो । यो विषयमा पनि हामीले विज्ञहरुसँग छलफल गरेका छौँ । पोखरी लेउ र झ्याउले कुरुप भयो । त्यसैले हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालिन समस्या समाधानको बाटो अपनाउने तयारी गरेका छौँ ।’ 

काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले पनि दैनिक २० बढी नगरप्रहरी खटाएर उनीहरुकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए । उनले ‘दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ पिटपर जति लेउ र झ्याउ झिक्ने काम भएको छ ।’ 

उनले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिए । अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिए । ‘अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भने, ‘यो अवस्थामा काठमाडौँ महानगरपालिकाले सफा गर्ने असल उदेश्यले गरेको कार्य सकारात्मक छ ।’

प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालीन रुपमा हाटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्र्दभमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उनले बताए । पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उनले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिए ।

‘अहिले महानगरपालिकाले अस्थायी रुपमा जे गरिहेको छ । त्यो सकारात्मक छ । तत्काल सफा नगर्ने हो भने पोखरीको सबै पानी दुर्घन्दित हुने खतरा बढी हुन्छ । पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन । यो विषयमा पनि हामी सोचिरहेका छौँ’ उनले भने, ‘लेउ खाने जातीका माछा हालेर पनि रानीपोखरीलाई सफा र सुन्दर राख्न र पोखरीको सौदर्य बढाउन सकिन्छ भन्ने विकल्पमा पनि छौँ ।’  उनले यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको भन्दै अहिले पानीको लेवल घटेको जानकारी दिए ।

‘हामीले सुरुमा पाँच फिट २ इन्च पानी पोखरीमा भरेका थियौँ । अहिले पोखरीमा पानीको लेवल कम भएको छ । त्यहाँ करीब तीन फिट जति मात्रै पानी छ,’ उनले भनेयो, ‘तीन करोड २२ लाख लिटर जति पानी हामीले पोखरीमा भरेका थियौँ । अहिले करीब २ करोड लिटरको हाराहारीमा पानी रहेको अनुमान गरेका छौँ ।’ पोखरीमा पानी भर्ने सन्दर्भमा पनि महानगरपालिकासँग छलफल भएको र केही दिन भित्रमै पोखरीमा पानी टनाटन भरिने जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.