बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा इआरसीपी उपचार पद्धति पुनः सुरु

सोमबार, ०५ माघ २०७७, १९ : १५
सोमबार, ०५ माघ २०७७

नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो ।

       कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्त नलीको पथ्थरी निकाल्न थालिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले जानकारी दिए । यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाइन्छ । इआरसीपी विधि सुरु नहुँदा पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने र संक्रमणको खतरा हुने चिकित्सकहरु बताउँछन् ।

       तर, इआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै वा दिसाको माध्यमबाट बाहिर निकालिने हुँनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकहरुको भनाइ छ । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि प्रभावकारी हुँने गर्छ ।

       नेपालका केही अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले २०७५ पुसबाट सुरुवात गरेको हो । नोबेलले इआरसीपी विधिबाट सयौं विरामीको सफलतापूर्वक पथरिया निकालेको छ । नोबेलले २०७५ फागुन २६ गते इआरसीपी विधिबाट एकैदिन हालसम्मकै धेरै १४ जनाको पित्तनलीको ढुंगा निकालेर नेपालमै पहिलो रेकर्ड बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप