शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन’

सोमबार, ०५ माघ २०७७, १५ : ५०
सोमबार, ०५ माघ २०७७

काठमाडौं । राजनीतिक दलका नेता तथा कानून व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।  सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाको निम्ति संघर्ष आवश्यक रहेको बताए । लोकतन्त्र, संविधानप्रतिको निष्ठा जायर गर्दै राजनीतिक दल नागरिक समाज लगायतले शक्ति प्रदर्शन गर्नसके अदालतले संविधान भित्रै रहेर निर्णय गर्ने उनको भनाई छ । प्रतिनिधिसभा विघटनमा अन्तर्राष्ट्रिय शक्तिको पनि गलत चलखेल रहेको भन्दै उनले शक्ति प्रदर्शनबाट त्यस्तो चलखेल रोकिने पनि बताए । उनले प्रतिनिधिसभालाई जिवित गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको सार्वभौमिकतालाई प्रतिनिधित्व गर्ने संसद कम्युनिष्ट पार्टीको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा विघटन गरिएको बताए । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेताहरुको रिसमा संसदमा आगो लगाएको उनको भनाई छ । संविधानले प्रधानमन्त्रीको तानाशाहलाई रोकेको भएपनि प्रधानमन्त्री ओलीले संसदमाथि अनाधिकृत आक्रमण गरेको उनले बताए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले संविधान निर्माणताका प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिनको निम्ति गरिएको छलफलको अभिलेख अदालतमा झिकाउनुपर्ने धारणा राखे । न्यायाधीशहरुले संवैधानिक सर्वोच्चता र विधिको शासन अनुरुप धर्म निर्वाह गर्ने हो भने प्रतिनिधिसभा पुनस्थापनाको विकल्प नहुने उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधिसभाको विघटन गरेसँगै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायतले दैनिकजसो प्रतिनिधिसभा विघटनको विषयमा विरोध तथा अन्तत्र्रिmया कार्यक्रम गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप