बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारबाट सहिद परिवार अपमानित, आन्दोलनमा जाने तयारी

सोमबार, ०५ माघ २०७७, १३ : ०९
सोमबार, ०५ माघ २०७७

मधेश आन्दोलनको आज १२ वर्ष भएको छ । मधेशवादी दलका नेताहरुले राज्यले आफूहरुको माग पुरा नगरेको आरोप लगाइहँदा मधेशका सहिद परिवार भने त्यही मधेशवादी दलका नेताहरुले आफूहरुको माग पुरा नगरेको आरोप लगाइरहेका छन् । सहिद परिवारले प्रदेश २ सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै आन्दोलनमा जाने भएका छन् । उनीहरुले मधेशी सहिद परिवार तथा घाइते हकहित संघर्ष समिति गठन गरेर प्रदेश २ सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

समितिका अध्यक्ष नरेश यादव भन्छन्, ‘मधेशका युवाको बलिदानका कारण देशमा संघीयता आएको हो । मधेश सरकार गठन भएको हो । तर आज त्यही सहिद परिवारलाई त्यहाँको सरकारले अपमान गरिरहेको छ ।’

‘मधेश आन्दोलनमा सहादत दिएका परिवारका सदस्यहरुको अवस्था दयनीय छ । कतिपय परिवार सडकमा आइसकेका छन् तर मधेश सरकारले कुनै मतलब राखेको छैन,’ उनले भने, ‘प्रत्येक सहिद परिवारका एकजनालाई जागिर दिने, घाइतेलाई उपचार गरिदिने, बालबच्चालाई निःशुल्क पढाइ दिने जस्तो प्रतिबद्धता सरकारले जनाएको थियो तर हालसम्म केही गरेको छैन ।’

सहिद परिवारका करिब ५५ जनालाई नियुक्ति पत्र हातमा दिइएको छ । तर त्यसमध्ये करिब २५ जनालाई मात्र काममा लगाएको छ । प्रायः सबैलाई कार्यालय सहयोगीमा मात्र नियुक्ति दिइएको छ तर काम भने दिइएको छैन । अध्यक्ष यादवले भने, ‘नियुक्ति दिएको तर काम नपाएका बारेमा मुख्यमन्त्री लालबाबु राउतसँग कुरा गर्दा मन्त्रीसँग कुरा गर्नुस् भन्नुभयो । मन्त्रीहरुसँग कुरा गर्दा मुख्यमन्त्रीसँग कुरा गर्नुस् भन्नुहुन्छ । सहिद परिवार दौडधुप गर्र्दा थाकेर अब बाध्य भएर आन्दोलनमा जान बाध्य बनेका छन् ।’

२०६३ सालमा सहिद भएका दिनेश यादवको नाममा सर्लाहीमा एउटा प्राथमिक विद्यालय स्थापना गरिएको छ । तर त्यही विद्यालयको लागि सहयोग माग्न जाँदा सहिद परिवार अपमानित हुनपरेको छ । समितिका अध्यक्ष नरेश यादव दिनेश यादवका भाइ हुन् । उनले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश यादवसँग सहयोग मागेका थिए । मन्त्री यादवले वजेटमा विद्यालयको नाम राखेका थिए । तर पछि रेडबुकमा नाम देखिएन । उनले भने, ‘मैले मन्त्रीज्यूसँग सोधे कि स्कूलका लागि वजेट राखिदिनु भएन त ? उहाँले स्कूलमा वजेट दिने अधिकार मेरो होइन भन्नुभयो । तर, मैले फेरि रेडबुक हेरेर अरु स्कूलाई वजेट हालेको रहेछ त भनेर प्रश्न गर्दा वहाँ मसँग रिसाउनु भयो ।’

मन्त्री यादवले आफूलाई ‘यो सहिद फहिदको कुरा मसँग नगर्नुस् । तपाईं सक्नुहुन्छ भने मलाई मन्त्रीबाट हटाई दिनुस्’ भन्दै सहिदहरुमाथि अपमानजनक शब्दहरु प्रयोग गरेको उनको आरोप छ । अध्यक्ष यादवले भने, ‘एउटा मन्त्रीबाट होइन, त्यहाँका मुख्यमन्त्री, मन्त्रीहरुबाट सहिद परिवार पटक– पटक अपमानित हुनुपरेको छ ।’

अब प्रदेश २ सरकारविरुद्ध आन्दोलन नै गर्नुपर्छ भन्दै समिति गठन गरेको र चाँडै नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए । उनले भने, ‘समितिको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतलाई १४ बुँदे मागपत्र बुझाउँन जाँदा उहाँले समिति किन गठन गरेको भनेर हप्काउनु भयो । हामीले सहिदका लागि यत्रो काम गरेका छौँ, अझै गर्दैछौँ तैपनि यो समिति बनाउने किन आवश्यकता पर्यो ? समिति बनाउनु भयो ठिकै छ तर आन्दोलन नगर्नुस् । यसले राम्रो सन्देश जाँदैन, बरु के के माग पुरा गर्नुपर्छ गरौँला भन्नुभयो । त्यो कुरा भनेको पनि एक महिना भन्दा बढी भइसक्यो तर हालसम्म कुनै माग पुरा भएको छैन । यो बलिदानी दिवसको उपलक्ष्यमा आन्दोलनमा जाने घोषणा गर्न लागेका हौँ ।’

सर्लाहीका सहिद रामनारयण साहका छोरीलाई क्यान्सर भएको छ । उनी भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् तर उनको आर्थिक अवस्था राम्रो नभएको कारण उपचारमा निकै समस्या भइरहेको छ । उपचारमा सहयोग गरि दिनका लागि अध्यक्ष नरेश यादवलगायतका सहिद परिवारका अन्य सदस्यहरु मुख्यमन्त्री राउतलाई सम्पर्क गरेका थिए ।

सहयोग गर्ने भनि प्रतिवद्धता जनाउँदै मुख्यमन्त्री राउतले आफ्ना सहयोगी दीपक यादवको नम्बर उनीहरुलाई दिएका थिए । दीपक यादवले खाता नम्बर र उपचार गराइरहेको सबै रिपोर्ट पनि उनीहरुबाट लिए । तर झण्डै एक महिना हुन लाग्यो, तर एक रुपियाँ पनि सहयोग प्राप्त नभएको अध्यक्ष नरेश यादवले बताए । अब त दीपक यादवले फोन उठाउन पनि छाडिसकेको भन्दै उनले मधेश सरकारकै कारण सहिद परिवारको विच्चली भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप