शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्साको करियरमा मेस्सीलाई पहिलो रातो कार्ड, सुपरकपको फाइनलमा पराजित

सोमबार, ०५ माघ २०७७, ०८ : ०४
सोमबार, ०५ माघ २०७७

कप्तान लियोनेल मेस्सीले क्लब करियरमा पहिलो रातो कार्ड पाउँदा बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ । बार्सिलोनाका लागि ७५३ औँ खेल खेलिरहेका मेस्सीले अतिरिक्त समयको अन्तिम समयमा रातो कार्ड पाएका हुन् ।

एसियर भिल्लालिब्रेमाथि हात उठाएका मेस्सीलाई भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को मद्दतले रातो कार्ड देखाइयो । मेस्सीको हर्कतलाई मैदानमा रहेका रेफ्रीले शुरुमा देखेका थिएनन् तर भीएआर स्क्रिनमा हेरेपछि उनले मेस्सीलाई रातो कार्ड देखाए ।

३३ वर्षीय खेलाडीले आफ्नो करियरमा यसअघि दुई पटक मात्र रातो कार्ड पाएका छन् । सन् २००५ मा हंगेरीविरुद्ध अर्जेन्टिनाका लागि डेब्यु खेल र २०१९ मा कोपा अमेरिकाअन्तरगत चिलीविरुद्ध तेस्रो स्थानको प्लेअफमा । मेस्सी अब कम्तिमा ४ खेलमा प्रतिबन्धित हुनसक्छन् । सुपरकपको प्रतिबन्ध लिग र कप खेलमा पनि लागू हुन्छ ।

बार्सिलोनाले खेलमा दुई पटक एन्टोनी ग्रिजमानको गोलको मद्दतले अग्रता लिएको थियो । तर, एथ्लेटिकोका लागि ओस्कार डे मार्कोस र भिल्लालिब्रेले बराबरी गोल फर्काएका थिए । निर्धारित समयकम खेल बराबरीमा टुंगिएपछि खेलाइएको अतिरिक्त समयमा इनाकी विलियम्सले विजयी गोल गरेपछि एथ्लेटिको ३–२ ले विजयी बन्यो ।

योसँगै कीर्तिमानी १४ औँ पटक उपाधि जित्ने अवसरबाट बार्सिलोना बञ्चित हुनपुग्यो । मेस्सीका लागि यो आठौँ सुपरकप उपाधि हुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप