शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देखाउने काम माछापालन र मनि ट्रान्सफर, मुख्य काम ठगी

विदेशीसँग मिलेर अनलाइनमार्फत १ करोड ठग्ने नेपाली एजेन्ट
आइतबार, ०४ माघ २०७७, २२ : ४८
आइतबार, ०४ माघ २०७७

काठमाडौं । ललितपुरको सानेपा बस्ने सञ्जय (नाम परिवर्तन) स्नातक पढ्दै छन् । फेसवुकबाट सम्पर्क भएका एकजना विदेशीले अमेरिकबाट उनलाई आइफोन प्रोम्याक्स–११ पठाउँदै थिए । १ लाख ६२ हजार पर्ने प्रोम्याक्स ७५ हजारमा कार्गोबाट आउँदै थियो, उनी खुसी थिए । 

पुस १० मा महानगरीय प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतले उनलाई फोन गरेर बोलाए । अनि, सोधे–‘ई–सेवामा यति धेरै पैसा किन डिपोजिट गरेको ?’  सञ्जयले भने– ‘मेरो प्रोम्याक्स आउँदै छ ।’ प्रहरी अधिकृतले उनलाई ‘तपाई ठगको चंगुलमा पर्नुभो, थप पैसा नहाल्नुस् ।’ 

शुरुमा उनले पत्याएनन् । आइफोन पठाउने विदेशी नागरिकले उनलाई ट्रयाकिङ आइडी दिएका थिए । सो आईडीबाट आफ्नो सामान कहाँ आईपुग्यो भनेर हेरिरहेका उनले प्रहरीको भनाई नपत्याएका हुन् । तर, अहिले तिनै सञ्जय अनलाईन ठगीको जाहेरी लिएर महानगरीय प्रहरी परिसर ललितपुर पुगेका छन् । 

‘स्काई मोबाइल’ नामको फेसबुक पेजमा कम्युटर, मोबाइल, घडी, ल्यापटप र क्यामेरा जस्ता ग्याजेट ४० प्रतिशत छुटमा पाउने विज्ञापन हेरेर किन्न खोज्दा सञ्जय जस्ता धेरै ठगिएका छन् ।  आइफोन प्रोम्याक्स–११ र एम–५१ मोबाइल अर्डर गरेका सञ्जयले ७५ हजार इसेवा मार्फत डिपोजिट गरे । तर, उनको सामान आएन् । 

अमेरिकी र अफ्रिकनसँग मिलेर अनलाईनमार्फ ठगी गर्ने दुई जना नेपाली एजेन्टलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएका प्रमोद शाह उर्फ अजय र मेवालाल साह तेली छन् ।  फेसबुकमा आकर्षक विज्ञापन गरेर ग्याजेट किन्न चाहनेलाई ह्वाट्स एप मार्फत कुरा गरेपछि ठगी गर्ने गिरोहका नेपाली एजेन्ट हुन्, अजय र मेवालाल । 

यसरी ठग्थे

फेसबुकको विज्ञापनमा लोभ्याएर सो गिरोहले विदेशी नागरिक गर्दिनिया दुवात्रेसँग सम्पर्क गराउँथे । सामान खरिदका लागि ५ हजारको फर्म भर्न भन्थे । ह्वाट्स एपबाट मात्र कुरा गर्थे । डिएचएल कार्गोबाट सामान नेपाल पठाउन लागेको जानकारी दिन्थे । विश्वास जित्न ट्र्याकिङ आइडी दिन्थे । 

‘विदेशबाट कुरा गर्नेले इ–सेवामा पैसा डिपोजिट गरेर स्लिप पठाउनुस अनि, यताबाट सामान डेलिभरी हुन्छ भनेर डिल गरेको देखिन्छ’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्य भन्छिन् ।  पैसा डिपोजिट गरेपछि विभिन्न देशमा सामान अड्केको देखाएर सो गिरोहले थप पैसा माग्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

‘सामान सिपिङ हुँदैछ’ भनेर ह्वाट्स एपमा फोटो पठाएपछि सञ्जयले शुरुमा इसेवामार्फत अनिश गुरुङको नामा १० हजार पैसा पठाएका थिए । पछि, विभिन्न देशमा सामान अड्किएको भन्दै ठगीमा संलग्न समूहले उनीसँग ७५ हजार पैसा लिएपछि सम्पर्कविहिन भए । सामान आएन् । 

‘भारतमा सामान आइपुगेपछि उनीहरुले लास्ट पेमेन्ट डिपोजिट गर्न दवाव दिन्छन्’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्– ‘त्यसपछि सो समूह सम्पर्क बिहिन हुने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

देखाउने माछा पालन र मनि ट्रान्सफर

अनलाइन फ्रड गर्नेहरुले ई–सेवाबाट मात्रै भुक्तानी लिने गरेको क्लू पाएपछि प्रहरीले ई–सेवाका ट्रान्जेक्सन मगाएर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धान गर्दै जाँदा छैटौं तह पार गरेपछि ३९ वर्षीय मेवालाल शाह तेलीको बैंक खातामा पैसा ट्रान्सफर गरिएको खुल्यो । 

पर्सा बहुदरमाई नगरपालिका घर भएका मेवालाल काठमाडौंका गौशाला बस्छन् । उनी मेनपावरका एजेन्ट हुन् । प्रमोश शाह उर्फ अजयचाहि माछा पालक पनि हुन् । वीरगञ्जमा उनको माछापोखरी छ । पर्साको पकाहा मैनपुर गाउँपालिकामा उनले ‘डिपो मनि ट्रान्सफर’ चलाएका छन् । 

माछापालन र मेनपावर एजेन्ट देखाउने काम भएपनि उनीहरुको मुख्य काम ठगी रहेको ललितपुर प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध ललितपुर परिसरमा ८ वटा उजुरी दर्ता भएका छन् ।  ‘अहिलेसम्म ३० लाखको ट्रान्जेक्सन देखिएको छ’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्–‘सो समूहले १ करोड हाराहारी ठगेको हाम्रो निष्कर्ष छ ।’ 

ट्रयाकिङ सफ्टवेयर समेत बनाएर ठग्ने सो समूह प्राविधिक रुपमा अगाडि छ । ग्रिक, ईटली, पाकिस्तान हुँदै भारतमा सामान आएको सो सफ्टवेयरबाट देखिन्थ्यो । तर, भारत आएपछि अन्तिम किस्ता हाल्न लगाएर शुरु डिल गर्ने विदेशी सम्पर्क बिहिन हुन्थे । यता, पैसा डिपोजिट गरिएको खातावालसँग पीडितको भेटघाट र चिनजान नै नहुने प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यले बताइन् । 

प्रमोद शाहले ई–सेवाबाट कारोवार गर्न गाउँका १५ जनाको नाममा ई–सेवा आईडी बनाएका छन् । अहिलेसम्म प्रमोद र मेवालालले २५ जनाको ई–सेवा आईडी र बैंक खाता प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 
महङ्गो ग्याजेट सस्तोमा बेच्ने लोभ देखाएर ठगी गरेको पैसा ६ लेयर पार गरेपछि अजयकहाँ पुग्थ्यो । उनी, अन्तिममा पैसा निकाल्थे र आफ्नो कमिशन राखेर विदेशमा पठाउँथे । लुटमा संलग्न विदेशीको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । ललितपुर प्रहरीले अजय र मेवालाललाई ठगी मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप