शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको जातीय असमानता अनुगमन समितिमा श्रेष्ठ नियुक्त

आइतबार, ०४ माघ २०७७, १५ : ४३
आइतबार, ०४ माघ २०७७

लण्डन । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद एवम् पूर्व मन्त्री मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’ मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पशायर प्रहरीले आफ्नो सल्लाहकार बोर्डमा मनोनित गरेको थियो । 

एशियन मूलका समुदायको प्रतिनिधित्व गर्दै जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको हो । उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख चीफ इन्सपेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्ड लगायत पनि सदस्य छन् ।

 त्यस्तै, स्थानीय बेजिङस्टोक अस्पताल ट्रस्टका प्रमुख, एल्डवर्थ स्कुलका हेडटिचरका साथै जातीय विभेदविरुद्ध क्रियाशिल समुदायका अगुवा समितिमा सदस्य छन् । बेलायतमा व्यापक रुपमा उठ्ने गरेको जातीयताको मुद्धालाई अनुगमन गर्ने र त्यसको निराकरण गर्नु समितिको प्रमुख लक्ष्य रहेको श्रेष्ठले बताए ।

जातीय विभेदसम्बन्धि अनुसन्धान र रोकथाम गर्ने भूमिकाको लागि आफूलाई नियुक्त गरेकोमा श्रेष्ठले खुसि व्यक्त गर्दै समाजसेवामा थप अवसर र हौसला मिलेको बताए । हाल बेलायती संसद ‘हाउस अफ कमन्स्’ को महिला तथा समानता छनौट समितिकी सभापति समेत रहेकी सांसद मिलरद्वारा गठित जातीय विभेदविरुद्धको समितिमा भएको नियुक्तिलाई आफूले एक अवसरका रुपमा लिएको श्रेष्ठले बताए । हजारौंको संख्यामा बेलायतमा रहेका नेपालीहरु पनि जातीय विभेदको चपेटामा परेकोले यसबारेमा विशेष भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

यसका साथै कोभिड १९ महामारीबीच बेलायतमा अहिले शुरु भइसकेको कोभिड खोप वितरणमा अल्पसंख्यक समुदायको समान पहुँचका लागि समेत समितिले काम गर्ने उनले बताए । 

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन् । लेबर पार्टीको बेजिङस्टोक कार्यसमितिमा पनि सदस्य रहेका  श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदायसम्बन्धी विभागमा संयोजक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप