आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

भक्तपुरमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सुरु

आइतबार, ०४ माघ २०७७, १५ : ०५
आइतबार, ०४ माघ २०७७

भक्तपुर । विश्वरभर फैलिएको कोरोना भाइरसको त्रासको कारण देशभरका विद्यालय गत चैतदेखि बन्द थिए । धेरै विद्यालयहरुले अनलाईन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका थिए । तर, सबै विद्यार्थीहरु यसको पहुँचमा थिएनन् ।  तर, आइतबारदेखि भने भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितमा नै कक्षा सुरु भएको छ । योसँगै जिल्लामा रहेको सबै विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सुरु गरेका छन् । 

मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुरले भने उपत्यकामा नै सबैभन्दा अन्तिममा निर्णय गरेर कक्षा सञ्चालन गरिएको बताए ।  नगर प्रमुख श्रेष्ठले भने ‘भोलि कुनै समस्या आएमा पूनः बन्द गर्ने र स्वास्थ्य सुरक्षाको नियमलाई पालना गर्दै भौतिक कक्षा सुरु निर्देशन दिएका छौं ।’

त्यसकोलागि मापदण्डअनुसार भए नभएको हेर्न नगरपालिकाले अनुगमन समेत गर्ने भएको छ । आइतबारदेखि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थिति मै कक्षा सञ्चालन भएका छन् ।  नगरपालिकाहरुले अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक र शिक्षिका, सञ्चालक लगायत सरोकारवालाहरुबाट प्राप्त राय सुझाव र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेको जानकारी दिएका छन् । 

चाँगुनारायण नगरपालिकाले नगरक्षेत्र अन्तर्गतका विद्यालयहरु गत मंसिर ९ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्दै आएको छ । नगरप्रमुख सोमप्रसाद मिश्रले रातोपाटीसंग कुरा गर्दै भने ‘अहिलेसम्म कुनै समस्या आएको छैन्, पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न भनेका छौं ।’

भक्तपुर नगरपालिकाले पुस १ गतेबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरुको कक्षा सञ्चालन सुरु गरिसकेको छ । यस नगरपालिका भने जोर विजोर, आलोपालो गरेर कक्षा सञ्चालन हुँदै आएको थियो ।  सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले माघ ४ बाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालनको तयारी गरेको छ । विद्यालय खुला गर्ने सन्दर्भमा नगरपालिकाले निर्णय गर्नुअघि नै शिक्षक,अभिभावक,विभिन्न शिक्षक संघ र विद्यार्थीका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । 

भक्तपुर नगरपालिकाले पुस १ गतेबाट ८,९ र १० कक्षाका विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको र माघ १ गतेबाट शिशु कक्षादेखि १० कक्षा सम्मकै कक्षा सञ्चालन गरेको छ ।  विद्यालयले विद्यार्थी कक्षा प्रवेश गर्नुअघि ज्वरो नाप्ने, स्यानिटाइजर प्रयोग गर्न लगाउने र मास्कलाई अनिवार्य गर्न स्थानीय सरकारले कडा रुपमा निर्देशन दिएका छन् ।  प्रकोपका कारणले गत चैतको पहिलो हप्ताबाट बन्द रहेका भक्तपुरका विद्यालयहरु सञ्चालनमा आएका छन् । कतिपय विद्यालयले भने जोर विजोर रोल नम्बरको आधारमा कक्षा सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप