शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सभापति देउवा र महामन्त्री कोइरालाको तारन्तार संवादले काँग्रेसमा तरङ्ग

आइतबार, ०४ माघ २०७७, १४ : २४
आइतबार, ०४ माघ २०७७


काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो ।

संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा देउवाले महामन्त्री कोइरालासँग आन्तरिक भेटघाट बढाएको देखिन्छ । देउवा निर्वाचनको पक्षमा देखिँदा पौडेल भने संसद पुनःस्थापनामा जोड दिइरहेको पाइन्छ ।

संसद विघटनविरुद्ध प्रतिनिभिसभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र पालिकास्तरीय विरोधसभामा देउवा पक्ष निर्वाचन र पौडेल पक्ष संसद पुनःस्थापना एजेण्डामा उभिएको देखिन्छ ।

तर, सर्वोच्च अदातलबाट संसद विघटनको निर्णय सदर वा बदर भएपनि स्वीकार गरेर जाने काँग्रेसका अधिकांश नेताको मत छ । तर वरिष्ठ नेता पौडेल भने सडकबाटै भएपनि संसद पुनःस्थापना गर्नुपर्ने अडानमा छन् ।

पौडेलको अडान कमजोर बनाउन देउवाले ‘शशांक कार्ड’ खेल्ने संकेत देखिएको छ । सोही अनुसार पार्टीभित्र निर्वाचनका पक्षमा माहोल बनाउन देउवाले महामन्त्री शशांकसँग रणनीति छलफल अगाडि बढाएको देखिन्छ ।

देउवाले विरोध प्रदर्शनको अघिल्लो दिन शशांकलाई आफ्नो निवासमा बोलाएर निर्वाचनमुखी माहोलका बनाउन कसरत गरेको बुझिएको छ । सभापति देउवाले शुक्रबार पनि महामन्त्री कोइरालालाई निवासमै बोलाएर यसका लागि सहयोग गर्न आग्रह गरेका थिए । कोइरालासहित देउवाले आफ्ना टिमका नेताहरूसँग पनि शुक्रबार लामो अनौपचारिक छलफल गरेका थिए । छलफलमा देउवाले निर्वाचनकै पक्षमा माहोल बनाउन जुट्नुपर्ने धारणा राखेको बुझिएको छ ।

देउवाले महामन्त्री कोइरालालाई संसद पुनःस्थापनाको पक्षमा नबोल्न र निर्वाचनमा जाने वातावरणकै लागि सहयोग गर्न १२ पुसमा पनि आग्रह गरेका थिए । १३ पुसमा भएको विरोध प्रदर्शनमा कोइरालाले पार्टीका लागि मत मागेका थिए । मध्यावधि निर्वाचन तोकिएकै मितिमा गराउन काँग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको बताएका थिए ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले काँग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने महामन्त्री कोइरालाको मत थियो । तर पौडेलले पक्षले महामन्त्री कोइराला यसरी निर्वाचनको पक्षमा उभिन नहुने सुझाएको थियो । त्यसपछि २५ पुसमा उनले आफ्नो प्रस्तुतिमा केही बदलाव ल्याएका थिए ।

तर शुक्रबार देउवाले कोइरालासँग फेरि संवाद बढाए । स्रोतका अनुसार पुनःस्थापनाको पक्षमा नलागी आफूलाई सहयोग गर्न देउवाको आग्रहमा कोइरालाले अदालतको निर्णय मानेर जाने कुरा समस्या नभएको जवाफ दिएका थिए ।

तर संसद विघटनको निर्णयलाई साथ दिएको सन्देश जाने गरी प्रस्तुत हुन नहुने कोइरालाले भनाइ थियो । पछिल्लो समय कोइरालाले प्रस्तुति पनि सोही अनुरुपको छ ।

शुक्रबार सभापति देउवालाई भेटेर नवलपरासी हिँडेका कोइरालाले अदातलले गर्ने निर्णय स्वीकार्य हुने अभिव्यक्ति दिएका थिए ।  देउवासँगको भेटपछि कोइरालाले संसद् विघटन मुद्दा अदालतीय प्रक्रियामा रहेकाले अदालतको निर्णय काँग्रेसलाई मान्य हुने बताएका थिए ।

पुस १२ मा देउवा र कोइरालाको भेटपछि १३ गतेको विरोधसभा देउवा र कोइरालाको एउटै बोली आएको थिए । किन भने  १२ पुसमा देउवा आफैले फोन गरेर महामन्त्री कोइरालालाई आफ्नो निवासमा बोलाएका थिए ।

भेटमा सभापति देउवा, महामन्त्री कोइराला, अर्का महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थितमा करीब दुई घण्टा छलफल भएको थियो । छलफलको प्रभाव प्रदर्शनमा परेको देखिन्थ्यो ।


देउवा र कोइरालाले आन्तरिक र राष्ट्रिय मुद्दाहरुमा सभापति र महामन्त्रीको धारणा एउटै बनाएर जाँदा सबैलाई फाइदा हुने देउवा पक्षको बुझाइ छ । यस्तै देउवा र कोइरालाबीचको छलफलमा भावी सम्भावनाबारे कुराकानी भएको स्रोतले बतायो ।

संसद पुनःस्थापना हुँदा काँग्रेसको समर्थन बिना सरकार बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा कसैलाई समर्थन गरेर जानुपर्दा काँग्रेसबाट नेतृत्व गर्दै शशांक उपप्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिन्छ ।

काँग्रेसमा अधिकांश शीर्ष नेता सांसदमा पराजित भएकाले अहिलेसम्म राजकीय पद प्राप्त नगरेको शशांकको सम्भावना बलियो छ । उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा हुनु र प्रकाशमान सिंहले संसदीय दलको नेतामा देउवाविरुद्ध उम्मेदवारी दिनाले पनि शशांकका लागि सम्भावनामा सहजता देखिन्छ ।

यस्तै सरकारको नेतृत्व काँग्रेसले गर्ने अवस्थामा पनि सभापतिमा दोहोरिन चाहेका देउवाले शशांकलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने सम्भावनाबारे पनि काँग्रेसभित्र चर्चा हुने गरेको छ ।

शशांकले  महाधिवेशनमा कम्प्रमाइज गर्न तयार भए यसको पनि सम्भावना रहेको देउवा पक्षीय एक नेताको दाबी छ । शशांकलाई निर्वाचनको पक्षमा उभ्याउने अर्को कडी पार्टीले ०७४ मा भोगेको पराजय पनि भएको कतिपयको बुझाइ छ ।

गत निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोगेपछि सभापति देउवा र महामन्त्री कोइरालाको क्षमतामाथि प्रश्न उठाइएको थियो । मध्यवाधि निर्वाचन नभएर १४ औं महाधिवेशनमा जाँदा सभापतिका आकांक्षीले देउवा र कोइरालामाथि पार्टी कमजोर बनाएको एजेण्डा बोक्ने निश्चित छ । शशांकको क्षमतामाथि प्रश्न उठाउँदै शेखर कोइरालाले नै सभापतिको दाबी प्रदर्शन गरिरहेकाले निर्वाचनपछि मात्र महाधिवेशनमा जाँदा दुबैका लागि फाइदा हुने देउवा पक्षको बुझाइ छ ।

किनभने महामन्त्रीका हैसियत ०७४ मा पार्टीले भोगेको पराजयको दोस्रो भागेदार शशांक पनि थिए । त्यसैले उनी यही कार्यकालमा काँग्रेसलाई पहिलो पार्टी बनाएर १४ औं महाधिवेशन जान इच्छुक नै देखिएको पाइन्छ । वर्तमान पदाधिकारीमा शशांक मात्र संस्थापन इतर पक्षको भएकाले उनलाई पनि निर्वाचनको पक्षमा उभ्याउँदा पार्टीमा निर्णय लिने देउवालाई सहज हुनेछ ।

संसद पुनस्र्थापना हुँदाको सरकार, निर्वाचन र महाधिवेशनसम्म देउवा र शशांकबीच समझदारीको सम्भावनामाथि संवादलाई काँग्रेसवृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति विमलेन्द्र निधिलाई बाहिर राखेर देउवाले शशांकसँग आन्तरिक संवाद बढाउनुको प्रभाव सार्वजनिक रुपमा प्रकट पनि भएको पाइन्छ । यता देउवा र शशांकबीचको आन्तरिक संवादले पौडेल र शेखरमा बेचैनी थपिएको छ ।

संसद विघटन विरुद्धको आन्दोलन देउवाले कमजोर बनाउन खोजेको आरोपसँग शशांकसँगको आन्तरिक संवादलाई जोडेर गरिएको छ । शनिबार विराटनगरको एक कार्यक्रमा शेखर कोइरालाले पार्टी सभापतिजीको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलन सशक्त हुन नसकेको आरोप लगाएका थिए । ‘सभापतिकै कारण काँग्रेसले प्रतिगमी कदम रोक्न र त्यसविरूद्धको आन्दोलन प्रभावकारी बनाउन सकेन,’ कोइरालाले भनेका थिए ।

यस्तै पौडेलले देउवाले चुनाव चुनाव मात्र भनेर पार्टीभित्र अलमल सिजर्ना गराएको आरोप लगाएका थिए । ‘संसद् पुनःस्थापना हुँदा पनि हामीलाई फाइदै हुन्छ । हामी निर्णायक हुन्छौँ,’ उनले भने, ‘तालुमा आलु फले (शेरबहादुरदेउवा) फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ । किन चुनाव, चुनाव भनिरहनुभएको छ ?,’ पौडेलेको प्रश्न थियो ।

चुनाव आइहाल्यो भनेर काँग्रेस दौडिएर नजाने भन्दै पार्टीमा अलमल सिजर्ना नगर्न भनेका थिए ।

‘लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो । हामीले पहिले लोकतन्त्र जोगाउँछौं । पहिले यो संविधानलाई जोगाउँछौ। यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ । चुनाव चुनाव भनेर पार्टीलाई अलमल राख्न पाइँदैन,’ पौडलले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप