रौतहटमा शीतलहरबाट जनजीवन थप कष्टकर
रौतहट । कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारी साधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।
एक्कासी बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकलाई समेत समस्या भएको छ । शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएको गौर अस्पतालका डा.कृष्णा साहले जानकारी दिए ।
उनले कोरोना सङ्क्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरीयाका बिरामीको सङ्ख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन, तातो झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरे ।
बाक्लो हुस्सुका कारण बिहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, वीरगञ्ज भित्रिने तथा बाहिरिने सवारीसाधनका चालक तथा यात्रुलाई समस्या भएको छ । बाक्लो हुस्सुका कारण बाटोसमेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकलाई आग्रह गरेको छ ।
साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठनसमेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणको कारण झण्डै आठ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोका कारण विद्यार्थीको सङ्ख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकले जनाएका छन् ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानसमेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेका कारण पटकपटक गरी बिहानका केही उडान ढिलो हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराका उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिए ।
जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको छ । सत्तरी वर्षभन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामीण क्षेत्रमा चोक गल्लीमा आगो तथा घुर बालेर ताप्नेको सङ्ख्या बढ्दै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल