शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

आइतबार, ०४ माघ २०७७, १३ : २९
आइतबार, ०४ माघ २०७७

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १० औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए । 

कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उनले बताए । सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उनले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स्तरवृद्धि र  समस्याप्रति गम्भीर रहेको उल्लेख गरे ।

सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भूमि रहेको भन्दै मुख्यमन्त्री राउतले मधेसी समुदाय उत्पीडित, पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाले अधिकार प्राप्तिका लागि समय समयमा विभिन्न आन्दोलनसमेत गरेको बताए । मिडियाको भूमिका अग्रस्थानमा भए मात्र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ थियो ।  

कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक विकासमन्त्री नवलकिशोर साहले बर्सेनि आउने बाढीले क्षतिग्रस्त र डुबान हुने सप्तरीको पूर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप