ad
केन्द्रीय संस्करण
राजनीति

‘विचाराधीन मुद्दामा मेरो भन्नु केही छैन, तर प्रधानमन्त्रीलाई छुट छ’

'हाम्रा केही साथीहरु केपी कमरेडलाई कारवाही गरेर आफै अध्यक्ष हुनुभयो रे !'

person explore access_timeमाघ ३, २०७७ chat_bubble_outline1

म यहाँहरु समक्ष केही समसामयिक सन्दर्भका कुरा राख्न चाहन्छु । मलाई हिजो जनआन्दोलनको बेलाको याद आउँछ । यतिबेला सम्झना आउँछ– जनआन्दोलनको बेलामा आन्दोलनमा उत्रनका लागि, आन्दोलनमा सहभागी हुनका लागि आग्रह गर्दा जनताले, दिदीबहिनी, दाजुभाइले सोध्ने गर्नुहुन्थ्यो, ‘अब तपाईहरु घरीघरी शान्ति र प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा उत्रनुप-यो भन्नुहुन्छ तर कहिले यो अस्थिरतालाई समाप्त गर्नुहुन्छ ?’ 
सबैको जिज्ञासा त्यही थियो । मलाई राम्रो सम्झना छ, हामीले जवाफ दिएको हिजोअस्ति जस्तो लाग्छ– अब फेरि आन्दोलन गर्ने स्थिति आउन दिनेछैनौं । 
तर हामीले भन्यौं– हामी यो अस्थिरतालाई समाप्त गर्छौैं ।

हामीले भनेका थियौं– सरकार ५ वर्ष चल्ने ल्याउछौं, तपाईहरु मत हालेर पठाउनुस्, त्यो सरकारले ५ बर्ष सेवा गर्छ । तर दुःखका साथ, त्यो ठाउँबाट दुःखका साथ कुरा गर्नुपर्छ, जनताले केपी ओलीको आह्वान र आग्रहमा उहाँलाई प्रधानमन्त्री मान्न निर्वाचनमा जिताएर पठाएको हामीले अलिकति भए पनि स्वीकार गर्नुपर्छ । 

५ वर्ष नपुगिकन उस्तै स्थिति सामना गर्नुपर्ने भयो । प्रधानमन्त्रीले भन्नुभएको छ ‘बाध्यता’ । यो बाध्यताका कारण जनताको बीचमा उजुर लिएर आउनुप¥यो । यो बाध्यताका कारण मैले आफ्नो कुरा भन्न आउनुप-यो । तर स्वाभाविक रुपमा अहिले हामी यहाँ उपस्थित भएका छौं, यसलाई चिर्दै अघि बढ्नुबाहेक अर्को विकल्प छैन । प्रधानमन्त्रीको भनाइ छ– जब कुनै पनि विकल्प देखिँदैन, त्यतिबेला जनतामा जानु नै सबैभन्दा राम्रो उपाय हो । त्यसैले जनताको बीचमा जानका लागि भनेर हामी अग्रसर भएका छौ र त्यही क्रममा यहाँ भेला भएका छौं । 

म धेरै समय लिन चाहन्न । हामी स्थिरताका लागि काम गरिरहेका छौं । समृद्ध नेपाल सुखी नेपालीका लागि काम गरिरहेका थियौं । त्यो दिशामा अग्रसर भइरहेका थियौं तर यो किन पाच्य भएन ? अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भनिराख्नुभएको थियो– म कक्षा दोहो-याउने विद्यार्थी होइन । कम्युनिस्ट पार्टीमा महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ । तपाइहरुले महाधिवेशनबाट मलाई निर्वाचित गर्नुभयो, त्यो जिम्मेवारीलाई सम्हाल्दै म यहाँ आइपुगेको छु । पार्टीको महाधिवेशन आयोजना गरेर दुई ठुला पार्टीको बीचमा एकता कायम गर्दै यो विन्दुसम्म आइपुगेर र यस ठाउँसम्म ल्याएर उपयुक्त समयमा महाधिवेशन गरौं, आवश्यकता पर्छ भने अलिकति चाँडो महाधिवेशन गरौं । 
पछिल्लो समय प्रस्ट शब्दमा उहाँले भन्नुभएको छ– म नयाँ पुस्तालाई त्यो जिम्मेवारी सुम्पन्छु । छोटकारीमा म कक्षा दोहो-याउने विद्यार्थी होइन । 

महाधिवेशनमार्फत नयाँ पुस्तालाई नेतृत्व सुम्पने अनि निर्वाचनमार्फत जनताको जनादेशको आधारमा नयाँ सक्षम व्यक्तित्वलाई प्रधानमन्त्री पद सुम्पने उद्घोषका साथ प्रधानमन्त्री अघि बढिरहेको बेलामा यस्तो स्थिति उत्पन्न किन गरियो ? किन यो ठाउँमा आइपुग्न हामी बाध्य भयौं ? प्रश्न भनेको यो हो । यो प्रश्नको जवाफ आउने दिनहरुमा हामी पाउँदै जानेछौं । 

मलाई आश्चर्य लाग्यो, मैले अहिलेसम्म पत्याएको छैन । आफ्नो पार्टी अध्यक्ष महाधिवेशन चाँडो सम्पन्न गरेर नेतृत्व सुम्पने उद्घोष गर्नुभएका अध्यक्ष, नयाँ जनादेशबाट नयाँ नेतृत्वलाई प्रधानमन्त्री पद सुम्पने उद्घोष गरेका प्रम केपी ओलीलाई किन यो अवरोध ? किन यी अप्ठ्याराहरु उहाँको यो बाटोमा तेर्स्याइन्छन् ? आदि प्रश्नहरु उठिरहेका बेलामा अस्ति सञ्चारमाध्यमले एउटा समाचार प्रकाशनमा ल्यायो, उद्घाटित ग¥यो– दुईजना नेताहरु भेट्न जानुभयो रे । भेटेर हाम्रा प्रतिपक्षी साथीहरुलाई भन्नुभयो रे, ‘संसद पुनर्स्थापना गरौं, पुनर्स्थापित संसदबाट प्रधानमन्त्री त तपाईहरुलाई नै बनाउछौं’ भन्नुभयो रे ।

मैले राम्रोसँग कुरा बुझिनँ । मैले विश्वास नलागी नलागी यो कुरा तपाईहरुलाई सुनाएको मात्रै हो । अनि फलानोफलानो जानुभयो भनेर यसो नक्सा पनि देखाउनुभयो साथीहरुले । कताकता चिनेकोजस्तो लाग्यो तर बिर्सिएँ । यो कुराहरु भन्न पनि त्यति आनन्द लाग्दैन, मन लाग्दैन । तर मैले नपत्याई नपत्याई हो कि होइन ? यसतर्फ यहाँहरुले नै ध्यान दिइदिनोस् न भनेर मैले यहाँहरु समक्ष यो कोट्याउदै यो कुरा राखेको हुँ । 

केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? देशले यसको जवाफ खोजिरहेको छ । मेची–महाकाली र पार्टी कार्यकर्ताले जवाफ खोजिरहेको छ । त्यसको जवाफ चाँडै पाउनेछौं भन्ने मलाई विश्वास छ । आज म योभन्दा बढी कुरा राख्न चाहन्नँ । बास्तवमा अहिले यतिबेला नेकपा केपी ओलीको नेतृत्वमा अगाडि बढिरहेको छ । हामीले भनेका छौं– त्यसबाट देखिन्छ हामी को हौं ? हाम्रो चाहाना के हो ? हाम्रो नेकपाको अध्यक्ष क. केपी ओली, त्यसका महासचिव विष्णु पौडेल हुनुहुन्छ । मैले यो नाम लिनुको विशेष कारण छ । हाम्रा दोस्रा अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ, अहिले पनि हुनुहुन्छ । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल हामीले कसैलाई पनि कारवाही गरेर निकालेका छैनौं किनभने हामी पार्टी एकताको पक्षमा छौं ।

हामीले कसैलाई कारवाही गरेर निकालेका छैनौं तर मैले नाम बिर्सेँ, हाम्रा केही साथीहरु त कारवाही गर्दै, केपी कमरेडलाई कारवाही गरेर आफै अध्यक्ष हुनुभयो रे ! को अध्यक्ष हुनुभयो नाम बिर्सेँ मैले । हाम्रै केपी कमरेडसँग निर्वाचनमा अलि अगाडि हार्नुभएको थियो रे ! अहिले आएर उहाँले केपीलाई निकालेर आफै अध्यक्ष हुनुभयो रे ! कस्तो सजिलो तरिका रहेछ, थाहै थिएन । मलाई पत्यार लागी नलागी निर्वाचन आयोगमा पुगेपछि भने यी केही कामहरु गर्न खोजिएको रहेछ भन्ने थाहा पाएर तपाईहरुलाई सुनाएको हुँ । फेरि आज बिहान उठेर तपाईहरुसँग भेट हुन्छ भन्दै खुसी मानेर आउने तयारी गर्दै थिएँ, फेरि समाचार सुनियो– हाम्रो महासचिव विष्णु पौडेललाई पनि कारवाही गर्नुभयो रे ! यो सबै त सुनियो, अध्यक्षलाई निकालेर आफै अध्यक्ष बन्नुभएछ ।

महासचिवलाई निकाले, अब आफै बन्ने हुनुहोला । त्यसमा पनि पाँच÷दश जना नै लाग्नुभएको छ रे, महासचिव कसलाई बनाउनुहुन्छ, थाहा छैन । हाम्रा प्रधानमन्त्री केपी ओलीलाई हटाएर तपाईलाई बनाउँछौं भनेको अचम्म लागेकाले सुनाएको मैले । यो केको परिचायक हो ? यो के गर्न खोजेको ? यो सम्पूर्ण कुराको जवाफ तपाई हामी सबैले जनतालाई दिनुपर्छ । मेची–महाकालीमा हामीलाई पर्खेर बसेका जनतालाई दिनुपर्छ । 
अहिले धेरै घटनाक्रमहरु अघि बढिरहेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकताको विषय उठिरहेको छ । छलफल भइरहेको छ । सम्मानित सर्वोच्च अदालतमा विघटनसम्बन्धी मुद्दामा छलफल भइरहेको छ । थुप्रै प्रश्नहरु छन् । यो केपी ओलीको सरकारले विकासका केही पनि काम गरेन, सिन्को भाँचेन भनेर केही साथीहरुले केही विषय उठाइरहनुभएको छ । अनि यही क्रममा पार्टी अध्यक्ष केपी ओलीलाई पनि हामीले कारवाही ग¥यौं भनेर प्रश्न उठाइरहनुभएको छ । यो के हो ? यसको बारे म यहाँहरुको थोरै समय लिन चाहन्छु । 

उदाहरणको लागि प्रत्येक विषयमा विवाद उठाउने, जनतालाई निराश बनाउने, पार्टी पंक्तिलाई निराश बनाउने खालका कामहरु अहिले भइरहेका छन् । प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो, राष्ट्रपतिले विघटनको घोषणा गर्नुभयो, अनि प्रश्न उठ्यो । प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुभएको छैन । किन गर्नुभएन र राष्ट्रपतिले यो सरकारलाई किन काम चलाउ घोषणा गर्नुभएन ? प्रधानमन्त्री केपी ओली त मन्त्रीमण्डल पुनर्गठन गरिरहनुभएको छ । अहिले संसद विघटन गरेको अवस्थामा प्रधानमन्त्री ओलीले कसरी मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो ? पुनर्गठित केही साथीहरु त यहीँ पनि उपस्थित हुनुहुन्छ, यस्ता प्रश्न मैले पाएँ । म तपाईहरुलाई प्रस्ट शब्दमा भन्न चाहन्छु, हाम्रो अहिलेको संविधानमा यस सम्बन्धमा प्रस्ट एउटा व्यवस्था राखिएको छ । यसबारेमा पनि मुद्दा परेको छ । सर्वोच्च अदालतमा यो विचाराधीन छ । त्यसैले यसको म धेरै कुरा गर्न चाहन्नँ । तर, एउटा पक्ष तपाईहरुका अगाडि राख्न चाहन्छु । यो एकदमै स्वाभाविक कुरा पनि हो । हाम्रो संविधानको धारा ७७ ले प्रधानमन्त्री कतिबेला रिक्त हुन्छन् भन्ने लेखेको छ । त्योे प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहेमा, उहाँले लिखित राजीनामा दिएमा, विश्वासको मत प्राप्त गर्न नसकेमा आदि । 

धारा ७७ को ३ मा लगेर यसरी पद रिक्त हुन पुगेमा अथवा यस्तो अवस्थामा त्यस्तो प्रधानमन्त्रीले अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले आफ्नो कार्यसञ्चालन गर्छ । अर्थात् घोषणा भएको निर्वाचन सम्पन्न भएपछि, जो अर्को प्रम आउन्जेलसम्म यही मन्त्रिपरिषदले काम गर्छ भनेर हाम्रो संविधानमै प्रस्ट शब्दमा लेखिएको छ । यस्तो अवस्थामा किन प्रश्न उठाइएको छ, मैले बुझेको छैन । म अलिक लाटालाटो नै छुु धेरै बुझ्दिनँ । त्यतिमात्रै होइन, राष्ट्रपतिलाई तानेर राष्ट्रपतिले किन यो नगरेको ? यो ढंगले चर्चा गर्ने प्रयासहरु पनि भएका छन् । संविधान बमोजिम यो सरकार अहिले कार्यरत छ, कार्यसञ्चानल गरिरहेको छ । यो सरकारले सवै कुरा गर्नसक्छ । एउटा सरकारले गर्न पाउने सबै काम गर्न पाउँछ । जुन दिन निर्वाचन आयोगले आचारसंहिता घोषणा गर्छ, त्यतिबेला आचारसंहिताले कतिपय कामहरु रोक लगाउँछ ।

आचारसंहिता घोषणा नगरिञ्जेलसम्म यो सरकारले फुलफेजमा काम गर्न पाउँछ । मैले साथीहरुको तरिका बुझेको छैन । अघि पनि भनेँ, मैले नाम पनि बिर्सेँ, अनुहार पनि बिर्सेँ, २४ सै घण्टा देखेको, भेटेको प्रिय साथीहरु जस्तो लाग्छ । उहाँहरु गएर निर्वाचन आयोगलाई भन्नुभएछ, निर्वाचन आयोगले के कामहरु किन गरेको ? त्यो कामहरु गर्ने सिलसिलामा निर्वाचन आयोग सायद आचारसंहिता कुनै पनि बेलामा घोषणा गर्ने अवस्थामा हो । एकातिर साथीहरु केही पनि नगर भन्नुहुन्छ, अर्कोतिर यो सरकारले किन काम ग¥यो पनि भन्नुहुन्छ । निर्वाचन आयोगले आचार संहिता घोषणा गरिसक्दा त सायद उहाँहरुले भन्न पाउनुहुन्थ्यो । अब आचार संहिता घोषणा भयो, यो सरकारले केही पनि गर्न पाउँदैन भन्न पाउनुहुन्थ्यो तर आफै निर्वाचन आयोगमा गएर केही पनि काम नगर भन्नुहुन्छ, अनि कामचलाउ सरकार यो काम किन गरेको पनि भन्नहुन्छ । त्यसैले साथीहरु किन कन्फ्युज जस्तो, अन्योलजस्तो ! म यसबारेमा अरु धेरै टिप्पणी गर्न चाहन्नँ । 

यही बेलामा तपाईहरुले देखिहाल्नुभयो, संवैधानिक इजलास कि वृहत् इजलास भन्ने पनि विवाद भयो । हिजोमात्रै आएर टुगिंयो, मलाई यही आश्चर्य लागिरहेको छ । निर्वाचन आयोगमा गएर कुनै पनि काम नगर्नु भनेर भन्ने, सर्वोच्च अदालतमा वृहत् इजलास कि संवैधानिक इजलास भनेर अहिलेसम्म सर्वोच्चमा दायर रिटमा सुनुवाइ हुन सकेको छैन । ढिलाइ गरिएको छ । कसले ढिलाइ ग¥यो, त्यतातिर पनि जान्नँ, यहाँहरुले बुझ्नु नै भएको छ । सामान्य मुद्दा दायर गर्दा थोरै पैसा लाग्छ । संवैधानिक इजलामा मुद्दा अघि बढ्दा ५ हजार लाग्छ । उदाहरणको लागि यो संवैधानिक इजलासको मुद्दा भनेर ५ हजार रुपैयाँ पनि साथीभाइहरुले बुझाउनुभयो । अनि फेरि संवैधानिक कि वृहत् भनेर सर्वोच्च अदालतलाई अड्काउने काम भइरहेको छ । बल्ल हिजो टुंगियो र आइतबारबाट निरन्तर सुरु हुन्छ । 

एउटा सानो र चाखलाग्दो कुरा म तपाईहरुलाई बताउँ है ! अनि अगाडि बढ्छु । योभन्दा अगाडि प्रधानन्यायाधीश सुशिला कार्की हुनुभएको बेला सर्वोच्च अदालतले एउटा निर्णय ग¥यो, वृहत् बेञ्चबाटै । त्यसले के भन्यो भन्दा संवैधानिक इजलास तोक्नका लागि जसमा विवाद छ, यहाँहरुले देखिरहनुभएको छ– त्यो संवैधानिक इजलास कतिजनाबाट तोकिन्छ ? अहिले सर्वोच्च अदालतले नियम बनाएर १४ जना न्यायाधीशहरुको प्यानल बनाएको छ । त्यो १४ जना न्यायाधीशहरुमध्येमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले ५ जनाको बेञ्च बनाउने भनेर अधिकार कसलाई दिएको छ ? प्रधान न्यायाधीशलाई नै छ ।

यो कहिले तय भयोभन्दा सुशिला कार्की प्रधानन्यायाधीश हुँदा आदेश भएको छ । अहिले आएर भने त्यही अनुसार अहिलेका प्रधानन्यायाधीशले संवैधानिक इजलास बनाउने भनेर बढ्दा ‘होइन ! वृहत् इजलास चाहिन्छ’ भनेर विवाद उठाइयो । तर अब संवैधानिक इजलासबाटै यो मुद्दा टुंगोमा पुग्छ । यही बीचमा एउटा वृहत् प्रश्न उठाउने गरेको पाइन्छ– निर्वाचन हुन्छ कि हुँदैन ? निर्वाचन कुन मितिमा हुन्छ ? 
प्रधानमन्त्रीज्यू सधैँ भन्नुहुन्छ, निर्वाचन वैशाख १७ र २७ गते । सरकारले जुन मिति घोषणा गरेको छ, त्यो मितिमा चुनाव हुन्छ । प्रधानमन्त्री, जसले संसद विघटनको सिफारिस गरेको छ, उहाँ संसद विघटनको बारेमा बोल्न सक्नुहुन्छ । मैले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सन्दर्भको कुरा गरेको हुँ । 

किनभने म भनिरहेको छु, अहिले पनि भन्छु यो कुरा सर्वोच्चमा विचाराधीन भएकाले मेरो यसमा धेरै भन्नु छैन है भनेर । तर प्रधानमन्त्रीलाई यो कुरा लाग्दैन । किनभने प्रधानमन्त्री स्वयंले संसद विघटनको सिफारिस गर्नुभएको हो । उहाँले भन्न पाउनुहुन्छ, भन्न सक्नुहुन्छ– मैले यो कारणले संसद विघटन गरेको हो । अब के ठिक हो भन्ने सर्वोच्च अदालतले निर्णय गर्छ । मैले यहाँ जोड्न खोजेको वैशाख १७ र २७ मा चुनाव हुँदैन, यो सरकारले गर्दैन भन्ने भ्रम फैलाएर सर्वोच्च अदालतलाई अनावश्यक दबाब दिने प्रयास भएको छ भन्ने विज्ञहरुको टिप्पणी छ ।

यो मेरो आरोप होइन, भनाइ होइन । निर्वाचन नै हुँदैन, तोकिएको मितिमा चुनाव नै हुँदैन भन्ने जस्ता भ्रमहरु फैलाएर सर्वोच्च अदालतलाई अनावश्यक दबाब दिने, नहुने निर्वाचनका सन्दर्भमा श्रीमान किन अगाडि बढ्ने ? जस्ता कुराहरु गर्न खोजिएको छ भन्ने कुरा उठेको छ । म अरु भन्न चाहन्न तर तोकिएको समयमा निर्वाचन गर्नुपर्छ, हुन्छ । देश त निर्वाचनमा गइसकेको छ, मैले अन्यथा भन्न खोजेको होइन । स्वयं हेर्नुस्, प्रतिपक्ष निर्वाचनमा गइसकेको छ । प्रतिपक्षले सरकारका कदमको चर्चा र टिप्पणी गर्नुलाई अन्यथा मान्नु हुँदैन । उहाँहरुले यो असंवैधानकि भनेर विरोधका कार्यक्रम राख्नुभएको छ ।

त्यो अचम्मको कुरा होइन, उहाँहरुले पहिलो चरणमा १६५ निर्वाचन क्षेत्रमा आमसभा राख्नुभयो । त्यसपछि गाउँ–नगरमा आमसभा, अब वडावडासम्म पुग्ने रे । हाम्रा प्रतिपक्ष, प्रतिस्पर्धीले त निर्वाचनसम्बन्धी काम झण्डैझण्डै भ्याउन थाल्नुभयो, तपाई हामीलेचाहिँ अझै पनि धेरै काम गर्न बाँकी छ । यसले सिंगो देश निर्वाचनमय हुनेतर्फ अघि बढिरहेको छ । हामीले यो कुरालाई केन्द्रविन्दु बनाएर अगाडि बढ्नुपर्छ, यो नै हाम्रो जिम्मेवारी हो भन्ने मेरो आग्रह छ । अस्ति भर्खर प्रधानमन्त्रीले यस दिशामा सिंगो देशलाई आग्रह पनि गरिसक्नुभएको छ । 

आयोगमा आधिकारिकताको विवाद छ । यो विवाद भएकाले धेरै लामो टिप्पणी गर्न चाहन्नँ । यो पनि आयोगको विचाराधीन नै हो । तर यतिकुरा भन्न चाहन्छु, हामीले सारै मेहनत, छलफल र तयारी गरेर हाम्रा विधानहरु, हाम्रा अभ्यासहरुको यथार्थ धरातलमा उभिएर आयोगलाई आफ्नो लिखित जवाफ बुझाएका छौं । हामीले आयोगलाई भनेका छौं, हाम्रो पार्टीको निर्णय गर्ने प्रक्रियालाई आयोगले कसरी हेर्नुपर्छ भन्ने विस्तृत रुपमै राखेका छौ । जतिबेला पार्टी एकता भयो, त्यतिबेला एकता हुन्छ भनेर कसैले पत्याएका थिएनन् ।

निर्वाचनको गठबन्धन गर्दा पनि धेरैले पत्याएका थिएनन् तर हामी गठबन्धन गरेर अघि बढ्यौं । पछि दुई पार्टीको बीचमा एकता कायम ग-यौं । दुई पार्टीबीचको एकता घोषणा गर्दा हाम्रा दुई अध्यक्षले ६० र ४० को रेसियोमा घोषणा गरेको हामीलाई सम्झना छ, । अध्यक्षहरुले सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी घोषणा गर्नुभयो, हामीले त्यसलाई मान्यौं, अनुमोदन ग-यौं । त्यो ६० र ४० के को आधारमा गरिएको थियो । त्यो सबै सन्दर्भलाई ध्यानमा राखेर तपाईहरु निश्कर्षमा पुग्नुपर्छ भनेर हामीले उहाँहरुलाई भनेका छौं । त्यतिमात्रै होइन, सिंगो पार्टीको प्रक्रिया सहमतिको हो ।

सहमति र समझदारीमा हामी अगाडि बढ्छौं । विधानमा त्यही लेखेका छौं । तर बहुमत र अल्पमतका कुरा ल्याउँदै विग्रह उत्पन्न गर्ने काम भयो । अहिले त उहाँहरु हुँदाहुँदा कारवाहीतिर अगाडि बढ्नुभयो र हामी अहिले यो ठाउँमा उभिएका छौं । कतिसम्म भने हाम्रा अरु साथीहरुले निर्वाचन आयोगमा बुझाएको कागजपत्रमा पनि एक नम्बरमा त केपी ओलीकै नाम रहेछ । मैले उहाँहरुलाई जिस्काउन खोजेको होइन । महासचिव त रदै रहेनछ ।
 

(ओली पक्षीय नेकपाको प्रदेश सम्पर्क कमिटी प्रदेश नम्वर १ द्वारा आयोजित कार्यकर्ता भेलामा नेम्वाङले राखेको धारणाको मुख्य अंश )


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 18, 2021, 3:56 p.m. सेवक
    Rt. Hon. Newang Jee Really I am surprised by observing nowadays your the personalty of sycophancy , of no integrity towards the constitution, inconsistent with your values and conviction, unaccountable to the people and so on endless adjectives of bad law makers and people's representative. Therefore I withdraw my words calling you Rt. Hon; for which you don't deserve.
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.