शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनी मिलको विकल्पमा क्रसर

किसान भन्छन्– उखुको भुक्तानी लिन सास्ती हुँदैन
शनिबार, ०३ माघ २०७७, ०९ : ४१
शनिबार, ०३ माघ २०७७

सर्लाही । चिनी मिलबाट पीडित भएपछि उखु किसानहरु विकल्पका रुपमा क्रसरलाई रोज्न थालेका छन् । चिनी मिलले तीन÷चार वर्षसम्म उखुको भुक्तानी रोकेर सास्ती दिन थालेपछि किसानले क्रसरमा उखु बेच्न थालेका हुन् ।
सर्लाही जिल्लामा दर्जनौं क्रसर छन्, जहाँ उखु पेलेर सखर (मिठा) बनाइन्छ । उखु खेती हुने क्षेत्रमा खुलेका यस्ता क्रसरले किसानबाट नगदै उखु किनेर सखर बनाउने गरेका छन् ।

मानपुरका किसान राम एकवाल रायका अनुसार क्रसरले चिनी मिलको जस्तो ठुलो परिमाणमा उखु खरिद गर्न सक्दैन । तर जति खरिद गर्छ, त्यसको नगदै भुक्तानी गर्ने गरेको उनले बताए ।
मानपुरकै एक क्रसरमा काम गर्दै आएका दिलिप साहका अनुसार एक क्वीन्टल उखु पेल्दा २० किलो सखर तयार हुन्छ । किसानसँग ५०० रुपैयाँ प्रति क्वीन्टलमा उखु खरिद गर्दै आएको उनले सुनाए । बजारमा प्रतिकिलो ६० रुपैयाँमा सखर विक्री हुँदै आएको छ ।

धनकौलका किसान धिरजा यादवका अनुसार चिनी मिलसम्म उखु ढुवानी गरेर लैजानुभन्दा गाउँघरमै भएका क्रसरमा उखु बेच्नु फाइदाजनक हुन्छ । ‘क्रसरले धेरै उखु किन्न सक्दैन तर थोरै उखु लगाउने किसानका लागि भने यो फाइदाजनक छ,’ उनले भने, ‘मिलसम्म ढुवानीमा लाग्ने खर्च हेर्ने हो भने गाउँघरमै खुलेका क्रसरमा उखु दिनु फाइदाजनक हुन्छ । क्रसरले पैसा पनि रोक्दैन ।’

क्रसरबाट उत्पादित सखर स्थानीय बजारमै खपत हुने गरेको छ । अलग अलग गुणस्तरका सखर उत्पादन गरी तिनलाई विभिन्न प्रयोजनमा उपभोग गरिन्छ । एक नम्बर सखरलाई चिनीकै विकल्पमा चिया, सेल रोटी लगायत मिठाइमा समेत प्रयोग गर्न सकिने क्रसर उद्योगका कर्मचारी दिलिपको भनाइ छ ।

उखु खेती घट्दै


पछिल्लो समय तराई मधेसमा उखु खेतीसमेत घट्न थालेको छ । चिनी मिलले उखुको भुक्तानीमा आलटाल गर्न थालेपछि किसानले उखु खेती घटाएका हुन् । पाँच वर्षअघि झण्डै पाँच बिघा जमिनमा उखु खेती गर्ने धनकौलका रामनरेन्द्र राय यादवले हाल करिब अढाइ बिघामा मात्र उखु लगाउने गरेका छन् ।

‘भुक्तानी समयमै पाउने हो भने त सबै खेतमा उखु लगाउन सजिलो पनि हुन्छ र फाइदा पनि हुन्छ,’ उनले भने, ‘भएभरको जमिनमा उखु लगाएको अवस्थामा धान, गहुँ, मकै लगायतका अन्न किन्नु पर्छ । तर चिनी मिलले भुक्तानी दिने टुंगो नै नहुँदा हामीले आफूलाई चाहिने अन्नपात किन्न पनि ऋण खोज्नुपर्ने हुन्छ, त्यसैले उखु खेती घटाएर अरु अन्नबाली लगाउन थालेका हौं ।’
उखु खेती घटाएका किसानलाई स्थानीय स्तरमा खुलेका क्रसिङहरु राम्रो विकल्प बन्न थालेका हुन् । त्यस्ता क्रसिङमा उखु लैजान ढुवानी खर्च कम लाग्ने, नगद भुक्तानी पाइने भएकाले पनि किसानहरु थोरै खेती गरेर भए पनि चिनी मिलको फन्दामा पर्नबाट जोगिने उपाय रोज्न थालेका हुन् ।

स्थानीय किसान मेघु राय यादव भन्छन्, ‘हामीलाई धान, गहुँ, मकै पनि चाहिन्छ, सबै जमिनमा उखु लगाउँदा त्यही उखु बेचेको पैसाले आफूलाई आवश्यक अन्न किन्नु पर्छ । चिनी मिलले वर्षौंसम्म पैसा नदिएपछि हामीले दुई छाक टार्नका लागि पनि ऋण लिनुपर्ने हुन्छ ।’

आफूले लगाएको उखुको भुक्तानी नपाउने तर तीन/चार वर्षसम्म घर खर्च चलाउनका लागि ऋण लिनुपर्ने बाध्यता आएसँगै उखु खेती घटाएर अन्य बाली लगाउन थालिएको उनको भनाइ छ । 
उल्लेखनीय छ, धनकौलका अधिकांश उखु किसानले चार वर्षदेखि अन्नपूर्ण सुगर मिलबाट उखुको भुक्तानी पाएका छैनन् । सोही गाउँपालिका–७ का किसान नारायण राय यादवको केही साताअघि आन्दोलनकै क्रममा हृदयाघातका कारण मृत्यु भएको थियो । उखुको भुक्तानीका लागि काठमाडौंमा भएको दबाबमुलक आन्दोलनमा सहभागी भएकै अवस्थामा उनको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप