बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘स्पीड ब्रेकर’ : शहरका बीच बीचमा ‘मान्छे मार्ने छेकबार’

शनिबार, ०३ माघ २०७७, ०८ : ४२
शनिबार, ०३ माघ २०७७

काठमाडौँ – सडकमा राखिएका ‘स्पीड ब्रेकर’ले दूर्घटना न्यूनीकरण गर्नेभन्दा दूर्घटना हुने कारणहरु धेरै निम्त्याएपछि ललितपुर महानगरपालिकाले ‘स्पीड ब्रेकर’ हटाउने अभियान सुरु गरेको छ । 

ललिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा ललितपुरका भित्री सडकहरुमा नियमविपरित निर्माण गरिएका ब्रेकर हटाउन थालिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

‘स्पीड ब्रेकर’ का कारण ललितपुरमा दैनिकजसो दुर्घटना हुने गरेको गुनासाहरु आउन थालेपछि महानगरको पहलमा नगर प्रहरीले स्पीड ब्रेकर हटाउने, सडकमा बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ बनाएर ट्राफिक व्यवस्थापन सहज तुल्याउने, पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने तथा सवारी व्यवस्थापन चुस्त, दुरुस्त बनाउने जस्ता काम भइरहेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

सडकमा सवारी व्यवस्थापनसँगै सडकमा हुने विभिन्न समस्याहरुको समाधानका लागि महानगरपालिकाले ट्राफिक प्रहरीसँग साझेदारी गरेर नमुना सहर निर्माण गर्ने अभियानमा लागेको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

सडकमा सवारी व्यवस्थापनसँगै सडकमा हुने विभिन्न समस्याहरुको समाधानका लागि महानगरपालिकाले ट्राफिक प्रहरीसँग साझेदारी गरेर नमुना सहर निर्माण गर्ने अभियानमा लागेको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । उनले अब ललितपुरका सार्वजनिक सडकहरुमा स्पीड ब्रेकर नहुने जानकारी समेत दिए ।

के हो ‘स्पीड ब्रेकर’ ?

सामान्य भाषामा ‘स्पीड ब्रेकर’ भनिने सडकका विभिन्न स्थानमा सवारी साधनको तीव्र गति कम गराउन निर्माण गरिएका ऊँटको ढाडमा हुने उठेको डल्लो जस्तो ब्रेकरलाई ‘स्पीड हम्प’ भनिन्छ । यसलाई नेपालको ट्राफिकको भाषामा ‘उठेको बाटो’ भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्किङस्थल, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, हाउजिङ क्षेत्रमा रबरको सामान्य ब्रेकर राखिने प्रचलन रहेको छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार स्पीड ब्रेकरको उचाई २.२ वा २.५ इन्च सम्मको राख्न पाइन्छ । तर, नेपालमा टोल सुधार समितिको आग्रहमा सडक विभागले जुनसुकै सडकमा पनि ब्रेकर निर्माण गरिदिएको पाइन्छ । नेपालमा ८ देखि ९ इन्च उचाई र २० फिट चौडाईसम्मको स्पीड ब्रेकर निर्माण गरिएका छन् । नेपालमा दुई प्रकारका स्पीड ब्रेकर निर्माण भएका छन् । एउटा सडक विभागले सडक पिच गर्ने समयमा निर्माण गरेको छ भने अर्को स्थानीयले ढलान गरेर निर्माण गरेका छन् । नयाँ र राम्रो पिच बाटोहरुमा जथाभावी निर्माण गरिएका स्पीड ब्रेकर मान्यताविपरीत रहेको नगर प्रमुख हाछेथुले बताए । नेपालमा सामान्यतयाः सवारी साधनको तीव्र गति नियन्त्रण गरी दुर्घटना नहोस् भन्नका लागि विभिन्न टोलटोलमा र सार्वजनिक सडकहरुमा जथाभावी छ्याप्छ्याप्ती स्पीड ब्रेकरहरु राख्ने गरिएको छ ।

‘स्पीड ब्रेकर’ का कारण दुर्घटना

लामो समयसम्म ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेका नगर प्रमुख हाछेथुले तीव्र गति नियन्त्रणका लागि निर्माण गरिने स्पीड ब्रेकरका कारण दुर्घटना भएका थुप्रै उदाहरणहरु रहेको बताए । उनले स्पीड ब्रेकर दुर्घटनाको प्रमुख कारण रहेको समेत जिकिर गरे । उनले स्पीड ब्रेकर दूर्घटना न्यूनिकरणका लागि नभई मान्छे मार्ने छेकबार मात्रै भएको दावी समेत गरे ।

दूर्घटना कम गराउन भनी राखिएका त्यस्ता स्पीड ब्रेकरहरुबाट उल्टो नतिजा आएकाले त्यस्ता जथभावी राखिएका स्पीड ब्रेकरहरु भत्काउने कार्य थालिएको र त्यसको विकल्प खोजिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

उनका भनाइअनुसार निम्न कारणले अहिले शहर, टोल, गल्लीगल्लीका सडकहरुम जथाभावी अवैज्ञानिक ढंगले राखिएका स्पीड ब्रेकर ठीक छैनन् :

–   एक सुरमा चलाइरहेको सवारी साधन एक्कासी स्पीड ब्रेकरमा ब्रेक समाउँदा पनि दुर्घटना हुने र नसमाउँदा पनि सवारी साधन उफ्रिएर सडकमा नै बजारिने गरेका छन् ।

–   स्पीड ब्रेकरमा एक्कासी ब्रेक लगाउँदा दुई पाँङ्ग्रे सवारीको पछाडि बस्ने व्यक्तिको मेरुदण्डको हड्डी भाँच्चिने सम्भावना हुन्छ ।

–   स्पीड ब्रेकरको अनावश्यक उचाइका कारण कारको तल्लो भागले स्पीड ब्रेकर छुने र स्टेरिङ नियन्त्रणबाहिर जाँदा अन्य सवारी, पैदल यात्री वा सडकका भित्ताहरुको ठोक्किने गर्छन् ।

–   स्पीड ब्रेकरमा अचानक ब्रेक लगाउँदा गाडीको पछाडि सिटमा बस्नेहरु हुत्तिएर दुर्घटना हुने गर्छ ।

–   समथर सडकमा चलाइरहेको सवारी साधन अचानक उठेको बाटो देखेपछि तुरुन्तै ब्रेक लगाउँदा पछाडि रहेको सवारी साधनसँग ठोक्किने सम्भावना हुन्छ ।

–   एम्बुलेन्स, दमकल लगायतका इमरेजेन्सी काममा कुद्ने सवारी साधनहरु स्पीड ब्रेकरमा दुर्घटना भई बिरामीको मृत्यु हुने वा अन्य ठूला दुर्घटना हुने जोखिम बढ्छ ।

–   ब्रेकर छलेर बाङ्गो पारेर सडकमा सवारी चलाउँदा विपरीत दिशाबाट आएको सवारीले ठक्कर दिँदा पनि कतिपय अवस्थामा दुर्घटना हुने गरेको छ ।

–   रातिको समयमा कुद्ने भारी मात्रामा सामान लोड भएका टिपर, ट्रकहरु स्पीड ब्रेकर देखेर अचानक  गति कम गर्दा रोकिँदा रातिको समयमा अत्यधिक ठूलो आवाज आउँदा स्थानीयमा त्रास बढाउँछ ।

दूर्घटना कम गराउन भनी राखिएका त्यस्ता स्पीड ब्रेकरहरुबाट उल्टो नतिजा आएकाले त्यस्ता जथभावी राखिएका स्पीड ब्रेकरहरु भत्काउने कार्य थालिएको र त्यसको विकल्प खोजिएको नगर प्रहरी प्रमुख हाछेथुले बताए । उनले यसको विकल्पमा स्पीड कम गर्न सडकमा छेउछाउमा विभिन्न प्रकारका सूचना, सडक बत्ती, रबरको कोण वा डिभाइडर राख्न सकिने सुझाव समेत दिए ।

स्पीड ब्रेकर र सडकका खाडलहरुमा कुनै पनि भिन्नता नभएको भन्दै नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘राम्रो बाटोमा स्पीड ब्रेकर राख्नु र दुई फिट चार इन्चको खाडल खन्नुमा कुनै पनि फरक छैन ।’ उनले स्थानीयको ‘स्पीड ब्रेकर हटाउँदा दुर्घटना भएमा को जिम्मेवार हुने त ?’ भन्ने प्रश्नमा स्पीड ब्रेकरका कारण दुर्घटना कम नहुने र यस्ता ब्रेकरहरु राख्ने अनुमति कसैलाई नभएको जवाफ दिए । उनले स्पीड ब्रेकरको फाइदा र बेफाइदाका विषयमा सर्वसाधारणलाई सु–सुचित गराउने काम पनि सँगसँगै अगाडि बढाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप