‘कुलमानको सेलिब्रेटी स्टाटसले चुनौती थपिदिएको छ’
पछिल्लो समय बिजुली पटक पटक किन जान्छ भन्ने आम चासो छ । फेरि लोडसेडिङ हुने त होइन भन्ने आशङ्का पनि गर्न थालेका छन् । तर नेपाल विद्युत् प्राधिकरण अब लोडसेडिङ इतिहास भएको बताउँदै आएको छ । यसपटक रातोपटीले प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग पटक पटक बत्ति निकै जान्छ । वर्षौं विवादित डेडिकेटेड ट्रङ्कलाइनको विषय किन समाधान भएन, विद्युत् चुहावट नियन्त्रण लगायतका विषयसँग रहेर कुराकानी गरेको छ । प्रस्तुत छ रातोपाटीका लागि एलिजा उप्रेतीले कामु कार्यकारी निर्देशक शाक्यसँग गरेको कुराकानीको अंश :
तपाईं अहिले जुन स्थानमा हुनुहुन्छ यो स्थान कतिको चूनौतीपूर्ण छ ?
ऊर्जा क्षेत्र नेपालको अर्थतन्त्रका लागि एकदमै महत्त्वपूर्ण छ । विकासशील देशको अर्थतन्त्रमा ऊर्जाले निकै ठूलो अर्थ राख्छ । त्यसको जिम्मेवारी भनेको चुनौतीपूर्ण नै हुन्छ ।
मैले यस मानेमा चुनौती नखोजेको थिएँ तपाईं जुन सिटमा हुनुहुन्छ त्यो सिटले तपाईंभन्दा अघिल्लो कार्यकारी निर्देशक कुलमान घिसिङलाई सेलिब्रेटी नै बनाएको थियो । त्यस हिसाबले तपाईं यो स्थानमा हुँदा कतिको चुनौती महसुस गर्नुभएको छ ?
हो, थप छ । मिडिया फोकसमा परेको छ । हरेक गतिविधि मिडियाको फोकसमा परेको छ । त्यसले गर्दा सानोतिनो कमीकमजोरी हुँदा तुरुन्त हाइलाइट हुन्छ । यसले पनि चुनौती थपिन्छ । विगतका सेटिब्रेटी स्टाटसको चुनौती चाहिँ छ ।
तपाईं त्योभन्दा माथि पुग्न सक्छु वा त्यहाँसम्म पुग्नसक्छु भन्ने लागेको छ ?
सेलिब्रेटी स्टाटस विद्युत् प्राधिकरणको एमडीले पाउनुपर्छ भन्ने छैन । मेरो विचारमा विद्युत् प्राधिकरणको एमडीले आफ्नो दायित्व पूरा गर्ने हो । सस्तो, भरपर्दो बिजुली सबै घरहरुमा लगातार पुर्याउने हो । अत्यावश्यकीय सेवाको रूपमा पुर्याउने हो । त्यहाँ पुर्याउन एउटा कार्यकारी निर्देशकको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने हो । एउटा राष्ट्रको नोकरको रूपमा काम गर्ने हो । त्यतिबेलाको सेलिब्रेटी स्टाटस भनेको परिस्थितिजन्य उपज हो । त्यतिबेला समाजले दिएको परिस्थिति हो । अहिले फरक परिस्थिति छ ।
पछिल्लो समय बत्ति गइरहेको हुन्छ । कतिपयले लोडसेडिङ हुने हो कि भनेर आशङ्का पनि गरिरहेका हुन्छन् । हुन त पटक पटक विज्ञप्ति नै निकालेर स्पष्टीकरण दिइसक्नुभएको छ । तैपनि रातोपाटीमार्फत अब लोडसेडिङ हुँदैन भनेर कसरी आम जनतालाई कन्भिन्स गराउनुहुन्छ ?
यो जुन प्रतिक्रिया आइरहेको छ त्यो लोडसेडिङप्रतिको चिन्ता हुँदै होइन । यसबाट स्पष्ट छ अब लोडसेडिङ हुने सम्भावना छैन । जाडो महिनामा पनि आयात गर्ने माध्यमहरु धेरै छन् । १३२ केभी, ४०० केभी विभिन्न विन्दुबाट आयात हुने ठाउँ छ । एउटा विन्दुमा केही कारण रोकियो भने नेपालमा फेरि लोडसेडिङ हुन्छ भन्ने पनि छैन । चाहिएको बेलामा आयात र बढी भएको बेला निर्यात पनि गर्छौं । आपूर्ति र मागमा फरक भएर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । हिजो हामी भारत र नेपाल छुट्टै भएर चलाउँदा नेपालमा नपुग हुँदा लोडसेडिङ गर्नुपरेको पथियो । अब त्यो दिन गए । अब इन्टर कनेक्टेड सिस्टम छ । यसमा धेरै संस्थाहरु गइसक्नु भएको छ । इन्टरकनेक्टेड सिस्टममा साढे तीन लाख मेगावाट क्षमता भएको भारतसँग हामी जोडिएका छौँ । अब नपुग हजार पाँच सय मेगावाट ल्याउन बाटाहरु जोडिएको छ । उहाँहरुको संवेदनशीलता चाहिँ लोडसेडिङ भन्दा पनि विभिन्न कारण जाने बत्तिमा छ । विशेषगरी इन्टरनेटको कारणले गर्दा यसो भएको हो ।
जतिबेला बत्ति जान्छ त्यतिबेला कुलमानलाई सम्झन्छन् । त्यो स्थानमाा आफूलाई रिप्लेस गर्न कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?
जनताले मलाई सम्झनेभन्दा पनि विद्युत् प्रधिकरणले गरेको काम ठीक भइरहेको छ भनोस् । प्राधिकरणभित्र को छ वा छैन भन्ने विषयले प्रधान नपाउओस् भन्ने मेरो मान्यता हो । सिस्टमभित्र बसेर काम गरौँ भन्ने नै हो । अब लोडसेडिङ बन्द भयो । जुन प्राविधिक कारण बत्ति जान्थ्यो, अस्ति बढी थियो होला आज कम छ होला तर पनि त्यति पनि नजाने गरी विश्व स्तरमा अथवा दक्षिण एसियास्तरभन्दा कम नहुने गरेर विश्वसनीय बिजुली पुर्याउनुपर्छ । कमसेकम काठमाडौँमा भरपर्दो बिजुली बनाउनुपर्छ । अब जनताले प्राधिकरणको बिजुली राम्रो आएछ भनुन्, त्यसभित्र को छ भन्दा पनि । प्राधिकरणको कार्यकारी निर्देशकको त्यससँग सम्बन्ध नरहोस् भन्ने हो ।
अहिले बिजुलीको माग र आपूर्तिको अवस्था कस्तो छ ?
अहिले गत वर्षभन्दा ५० मेगावाट वृद्धि मात्र होइन कि यो लगातार जाडो महिनामा १४ सय मेगावाट देखिएको छ । यसबाट भन्न सकिन्छ हाम्रो माग बढेको छ । ४० प्रतिशतभन्दा बेही बढी भारतबाट आयात गरिरहेका छौँ । तर यो माघ फागुनसम्म हो । चैतपछि हिमालहरु पग्लेर खोलामा पानी बढ्न थालेपछि विस्तारै आयात गर्नेक्रम घट्दै जान्छ । जेठमा पुगेपछि आयात बन्द हुन्छ । जेठ १५ देखि निर्यात गर्नुपर्ने अवस्था आउँछन् ।
दुई महिनाका लागि थप विद्युत् आयात गर्ने प्रक्रिया कहाँ पुग्यो ?
अहिले टनकपुरबाट ८५ मेगावाटको बाटो खोलिसक्यौँ । ढल्केबरतर्फबाट ३५० मेगावाटका लागि ट्रान्सफरमरको व्यवस्था गरिसकेका छौँ । भारतले ३५० मेगावाटको स्वीकृति दिनका लागि केही थप बुझ्नुपर्ने भनेर पठाएको छ । सो प्रतिक्रिया बमोजिम जानकारीे बुझाइसक्यौँ । छिट्टै उसले स्वीकृति दिन्छ भन्ने आशा छ ।
पछिल्लो समय विद्युत् चुहावट बढेके हो ? किन बढिरहेको छ ?
विद्युत् चुहावट गत वर्षको तुलनामा एक, डेढ प्रतिशत बढेको हो । दुईवटा कारणले बढेको छ । एउटा प्राविधिक हिसाबले औद्योगिकको खपत बढेको बेला चुहावट कम हुन्छ । औद्योगिक खपत १०, ११ प्रतिशतमा हुन्छ । औद्योगिक खपतले चुहावट हुन कम गर्छ । औद्योगिक खपत कम हुँदा चुहावट बढेको हो । अर्को कारण वास्तविक रूपमा केही ठाउँमा चुहावट नियन्त्रणको काम कारबाही कम भयो । कोभिडको कारणले कर्मचारीहरु घरमा बसे, अफिसमा जान सकेनन् । मङ्सिर मसान्तसम्म घर पायकमा बस् भनेर पनि हामीले छुट दियौँ । त्यसले गर्दा पनि नियन्त्रणको काम कम भयो । दुईवटै कारणको फलस्वरूप चुहावट बढ्यो । तर यो साउन, भदौ, असोज, कात्तिक, मङ्सिर हुँदै चुहावट घट्ने क्रम छ । हाम्रो आशा यो वर्ष कोभिडका बाबजुत पनि गत वर्षकै हाराहारीमा हुन्छौँ । झार्नुपर्ने साढे १४ मा थियो तर १५ कै वरिपरि हुन्छौँ । अहिले प्राविधिक सुविधा जे गर्छौं त्यसले अर्को वर्ष चुहावट घटाउँछौँ ।
विद्युत् चुहावट नियन्त्रण गर्न प्राविधिक रूपले काम गर्दैछौँ जसले चुहावट कम हुन्छ भन्नुभयो, के गर्दै हुनुहुन्छ ?
एउटा प्रसारण लाइन र वितरण लाइन थप बढाउँदैछौँ । कन्डक्टरहरु फेर्ने, केवलहरु थप्ने, ट्रान्सर्फमरहरु थप्ने जस्ता काम गर्छौं । यसले तारमा हुने चुहावटको मात्रा कम गर्छ । विगतमा यही कारणले पनि विद्युत् चुहावट घटेको थियो । नेपाल सरकारले प्रसारण लाइन विशेषगरी वितरण लाइन र ट्रान्सर्फमरमा अर्बौं लगानी गर्यो । यो कुनै जादुभन्दा पनि प्राविधिक रूपमा गरेको लगानीले हो । त्यो लगानी अझै बढाउँदा चुहावट घट्दै जान्छ । त्यसबाहेक अप्राविधिक (चोरी) चुहावट नियन्त्रण गर्न स्मार्ट मिटरहरु लगाइरहेका छौँ ।
विद्युत् व्यापारका लागि प्रक्रिया कति अगाडि बढ्यो ?
यसमा तीनवटा पक्ष छन् । भारतको तत्कालै बेच्न सकिने बजारमा प्रवेश जुन हामीलाई उपयुक्त हुन्छ । यद्यपि त्यो बहुत सस्तो मूल्यमा बेच्नुपर्ने हुन्छ । तर हामीलाई कतिबेला बिजुली बढी हुन्छ भन्ने रन अफ द रिभरले बताउँछ । जति बेला खोलामा पानी बढ्यो बिजुली पनि बढ्छ । भएका बिजुली तत्काल बेच्नका लागि त्यो बजार ठीक छ । त्यसमा हामीले प्रवेश पाएका छैनौँ । दुई वर्ष भइसक्यो हामी पर्खाइमै छाँै । अर्को दुईवटा पक्ष भनेको एउटा बङ्गलादेशसँग त्रिपक्षीय सम्झाता जुन भारत हुँदै जाने हो । त्यसमा प्रयास भइरहेको छ । यसमा भारतको सहमति चाहिन्छ । अहिले पनि सचिव स्तरको वार्ता भइरहेको छ । तेस्रो भनेको भारतमै बेच्ने जुन बोलपत्रमार्फत भाग लिनका लागि प्रयास जारी गरिरहेका छौँ । अहिलेसम्म यो प्रक्रिया टुङ््गोमा पुर्याउन सकेका छैनौँ ।
विद्युत् व्यापारकै कुरा गर्दा निजी क्षेत्रले हामीलाई अनुमति दियो भने भारत र बङ्गलादेशको निजी क्षेत्रसँग व्यापार गर्छौं । उनीहरुलाई व्यापारको अनुमति दिन केले रोक्यो ?
निजी क्षेत्रलाई पनि अनुमति त दिन मिल्छ होला तर त्यसले नेपालको बजारमा कस्तो प्रकारको रूपान्तरण ल्याउँछ भन्ने महत्त्वपूर्ण छ । हामीले सस्तोमा बिजुली पनि दिन्छाँै । जाडोमा अलिकति महँगोमा बिजुली किन्छौँ र गर्मीमा सस्तोमा बेच्छौँ । सबैलाई एउटै भाडामा मिसाएर तयसपछाडि हामीले बढी भएको बिजुली भारतमा बेच्छाँै । निजी क्षेत्रले त्यसो गर्न सक्तैन । निजी क्षेत्रले त त्यो सक्तैन । जे किन्यो त्यो तत्काल बेच्नुपर्ने हुन्छ । होलसेलरको काम उसले गर्न सक्तैन । उसले सस्तो बिजुली लगेर सीधै भारतमा बेच्ला तर हामीलाई महँगो बिजुली बाँकी रहन्छ । महँगो बिजुली हाम्रो भागमा पर्ने र बढी हुने बिजुली एकदमै सस्तोमा भारतमा बेच्नुपर्ने अवस्थाले एक प्रकारले विचलन ल्याउँछ । निजीलाई दिनु सैद्धान्तिक हिसाबले राम्रो भए पनि तर जिम्मेवारी पनि सँगसँगै लिनुपर्यो । त्यो लिन सकेन भने समस्या हुन्छ ।
विशेषगरी उद्योगी व्यवसायीलाई रुष्ट बनाएको डेडिकेटेड ट्रङ्कलाइनको वर्षौं पुरानो विवाद किन समाधान हुन सकिरहेको छैन ?
डेडिकेटेड ट्रङ्कलाइनमा अलिकति अफ्ठ्यारो छ । हाम्रो सञ्चालक समितिले पैसा उठाउनु भनेर निर्णय गरिसकेको छ । त्यसैबीच उद्योगी व्यवसायीबीच र सर्वोच्च अदालतको आदेशलाई मनन गर्दै समिति बनेर सो समितिले प्रतिवदेन दिएको छ । त्यसमा तीनवटा कालखण्डका बिजुली छन् । समितिले प्रतिवेदन दिएको छ तयसलाई लागू गर्नु भनेर नेपाल सरकारले निर्देशन दिएको छ । त्यसअनुसार केही हामीले गर्नुपर्ने र केही नियमन आयोगमा गएको छ । यसमा निर्णय नभइन्जेल पर्खेर हामीले किन बसिरहेका छौँ भने नेपाल सरकारकै मन्त्री स्तरीय निर्णयबाट तत्काल उठाउने भनेर बोर्डले भन्यो तर हाललाई कोभिड अवस्था रहेसम्म नउठाउनु भनेर निर्णय भएकाले हामीले पर्खेका हौँ । अब त्यो नउठाउनु भन्ने निर्णय एक ठाउँमा छ र तीनवटा कालखण्डमध्ये कुन विषय कसरी कार्यानवय गर्ने भन्ने छ । यी दुवै स्पष्ट भएपछि मात्र कार्यान्वयनमा जान्छौँ ।
यो विषय तत्काल समाधान हुँदैन उसो भए ?
जुन चाहिँ निर्णय पहिले हुन्छ त्यहीअनुसार अघि बढ्छौँ ।
गाउँका धेरै ठाउँमा ट्रान्सफरमर बिग्रेको महिनौँसम्म नबनेको गुनासो आइरहेको छ किन यस्तो भइरहेको छ ?
यो नहुनुपर्ने कुरा हो । यदि त्यसो हो भने हाम्रो हटलाइनबाट ऊर्जा मन्त्रालयमार्फत निर्देशन प्राप्त हुन्छ । त्योबाहेक नो लाइट र एमडी तथा डीएमडी आउन सक्छन् । त्यति लामो समय हुनु भनेको स्वीकार्य छैन । ट्रान्सर्फमर जलेको ठाउँमा बिजुली गइसकेको हुनुपर्छ । पहिले जस्तो हँुदैन । अलि दुर्गमा छ भने समय लाग्छ तर तीन महिना त स्वीकार्य होइन ।
सूचना नआएर अथवा सूचना दिनुपर्छ भन्ने जानकारी नभएर पनि हो कि ?
यस्तो विरलै हुनुपर्ने हो । बत्ति नभईकन हामी विरलै बस्छाँै । धेरै कराउँछौँ । तुरुन्तै प्रतिक्रिया जनाउँछौँ ।
तपाईं अहिले कामु हुनुहुन्छ, पूर्ण रूपमा कार्यकारी निर्देशकको भूमिकामा आउनेमा कतिको आशावादी हुनुहुन्छ ?
जिम्मेवारी फुल दिँदा निर्णय गर्न सजिलो हुन्छ । तर त्यसो भन्दैगर्दा कायम मुकायम हुँदा पनि मैलै जोइन गरेकै दिनमा भनेको थिए । आज यो एक हप्तालाई म छु, अर्को हप्ता नहुन पनि सक्छु । कुनै पनि दिनमा म रिजाइन गर्न अथवा फिर्ता हुनसक्छु भनेर आएको छु । तर मैले गरेको निर्णयमा यो कहिलेसम्मका लागि भन्ने नहोस् भन्ने हिसाबले पनि पूर्णकालीन बनाए सजिलै हुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा