बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अन्ना हजारेले मोदीलाई लेखे चिट्ठी, फेरि अनशन थाल्ने चेतावनी

शुक्रबार, ०२ माघ २०७७, १५ : १६
शुक्रबार, ०२ माघ २०७७

एजेन्सी । भारतका सामाजिक कार्यकर्ता अन्ना हजारेले एकपटक फेरि किसानहरुको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिट्ठी लेखेका छन् । उनले किसानलाई बालीको ५० प्रतिशतभन्दा धेरै मूल्य मिल्नुपर्ने भएपनि सरकारले यसअघि यसबारे दिएका आश्वासन कार्यान्वयन नभएको बताएका हुन् । 

यस विषयमा चार पाँचपटक मोदीलाई पत्र लेखेपनि कुनै जवाफ नपाएको हजारेको गुनासो छ । त्यसैले जनवरीको अन्त्यदेखि फेरि रामलिला मैदानमा भोक हड्ताल सुरु गर्ने निर्णय गरेको उनले बताएका छन् ।  हिन्दीमा लेखिएको यस चिट्ठीमा अन्नाले सरकारसँग विगतमा भएका सम्झौताबारे स्मरण गराएका छन् ।

‘रामलिला मैदानमा सात दिनसम्म चलेको उपवासपछि तपाईको सरकारले २९ मार्च २०१८ दिएको आश्वासन अहिलेसम्म यो पूरा गरिएको छैन । तपाईको सरकारले स्वामीनाथन आयोगका सिफारिसहरुलाई स्वीकारेको थियो । यदि स्वीकार गर्नुहुन्छ भने यसलाई पालना गर्नु पनि जरुरी हुन्छ,’ उनले लेखेका छन् । 

आयोगले आफ्नो सिफारिसमा कृषि उत्पादनको लागतबाट ५० प्रतिशतभन्दा धेरै मूल्य किसानलाई दिने विषय उल्लेख गरेको छ । यसबारे २३ मार्च २०१८ देखि हजारे अनसनमा बसेका थिए । २९ मार्चमा कृषि राज्यमन्त्री गजेन्द्र सिंह शेखावत र तत्कालीन महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पठाएर मोदीले हजारेको अनसन तोडाएका थिए । यसक्रममा आयोगका सिफारिसहरु पूरा गर्ने लिखित आश्वासन हजारेसामु व्यक्त गरिएको थियो । 
केन्द्र सरकारले बालीको लागतको ५० प्रतिशतभन्दा बढी न्युनतम मूल्य तय गरेर यसलाई बजेट भाषणमा समेत समावेश गरेको तर पालना नगरेको हजारेले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप