बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

न्यायपालिकाको गरिमा र न्यायाधीशहरुको प्रतिष्ठामा आँच ल्याउने हाम्रो कुनै मनसाय छैन

शुक्रबार, ०९ माघ २०७७, ११ : ००
शुक्रबार, ०९ माघ २०७७

यही माघ २ गते रातोपाटीमा प्रकाशित ‘भेटेकै हुन् त न्यायाधीशहरुले प्रधानमन्त्रीलाई ?’ शीर्षकको समाचारप्रति सर्वोच्च अदालत र न्यायाधीशहरुबाट सार्वजनिक रुपमा एवं विभिन्न स्रोतहरुमार्फत् प्रकट भएको आपत्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा उल्लेख गरिएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की र सपना प्रधान मल्लको प्रधानमन्त्रीसँग भेट भएको भन्ने समाचार सत्य तथ्य नभएको भनी सर्वोच्च अदालतबाट जारी विज्ञप्ति र अदालत स्रोतहरुबाट समेत यस विषयमा केही पुष्टी हुने जानकारी उपलब्ध भएको छ ।

हामीलाई अधिकांश समाचार तथा सूचनाहरु स्रोतबाट नै प्राप्त हुन्छन् । स्रोतको विश्वास नै नगर्ने भन्न पनि सकिँदैन । तर, स्रोतबाट प्राप्त सूचनालाई पुष्टी गर्ने क्रममा कहिलेकाहीँ केही कमजोरी हुन सक्छन्, जुन कुरा उक्त समाचारमा हामीबाट पनि हुन पुग्यो।

हामीलाई स्रोतबाट प्राप्त उक्त समाचार असावधानीका कारण पूर्णरुपमा पुष्टी नभई प्रकाशित भएकाले सच्चाइएको छ । साथै, प्रकाशित समाचारले सर्वोच्च अदालतका न्यायाधीशहरुको प्रतिष्ठा तथा सर्वोच्च अदालतको गरिमामा समेत आँच आउने परिस्थिति आएको भन्ने विषयमा हामी दुखित छौँ । न्यायपालिकाको गरिमा र न्यायाधीशहरुको प्रतिष्ठामा आँच ल्याउने हाम्रो कुनै मनसाय थिएन, छैन र रहने पनि छैन l

हामी सक्षम र स्वतन्त्र न्यायपालिकामाथि विश्वास गर्छौँ र यसको गरिमा बचाइ राख्नुपर्छ भन्नेमा पूर्ण प्रतिवद्ध छौँ । न्यायाधीशहरुको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याउने हाम्रो नियत नहुँदा नहुँदै पनि यस समाचारबाट सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि पर्न गएको आघातप्रति हामी उहाँहरुसँग क्षमाप्रार्थी छौँ । हामी न्यायापालिका र मिडियाबीचको सम्बन्ध रचनात्मक र सौहार्दपूर्ण रहोस् भन्ने चाहन्छौँ ।

साथै हाम्रा आदरणीय पाठकहरुलाई आगामी दिनमा यस्ता समाचार प्रकाशन गर्दा स्रोतप्रति पूर्ण सजगता अपनाउने विश्वास समेत दिलाउन चाहन्छौँ ।

सम्पादक

रातोपाटी डट कम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप