बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘इकु’ अर्थात् सुलेमानका ५ अनौठा रुप

शुक्रबार, ०२ माघ २०७७, ०९ : ०३
शुक्रबार, ०२ माघ २०७७

सुलेमान शंकरको अर्काे परिचय ‘इकु’ हो । धेरैले उनलाई वास्तविक नामले भन्दा पनि ‘इकु’ भनेर चिन्ने गर्दछन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट पाएका हुन् । जब ‘इकु’को भूमिका निर्वाह गरे, त्यसपछि उनले कलाकारितामा पछाडि फर्किएर हेर्नु परेको छैन ।

शृङ्खलामा ‘इकु’ एक जंगली पात्रको कल्पना गरेर तयार गरिएको चरित्र हो । जसमा उनको पातलो शरीर र सामान्यभन्दा केही होचो उचाइ र छुस्स दारीले साथ दिएको छ । शृङ्खलामा मात्र होइन, उनले केही फिल्ममा पनि यो भूमिका निर्वाह गरेका छन् । जसबाट उनी दर्शकको मन जित्न सफल छन् ।

धेरैले नोटिस नगरेको पनि हुनसक्छ, पर्दामा ‘इकु’को चरित्रबाट हिट सुलेमान कलाक्षेत्रमा निर्माण, निर्देशनसहित अन्य केही पाटोमा समेत क्रियाशील छन् । उनको जीवनलाई नजिकबाट नियाल्ने हो भने उनका धेरै रुप (पाटाहरु) भेट्न सकिन्छ । तीमध्ये ५ रुप (पाटाहरु)को चर्चा यहाँ गर्न खोजेका छौ ।

कलाकार सुलेमान

स्कुल÷कलेजमा अध्ययन गर्दादेखि नै सुलेमान जोक्सहरु गरेर सबैलाई हँसाउथे । त्यसैले उनलाई सबैजनाले कला क्षेत्रमा लाग्दा राम्रो हुने सुझावसहित हौस्याउथे ।

सबैको सल्लाह मध्यनजर गर्दै उनले कलाकारिता रोजे । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘थोरै भए पुगिसरी’ र ‘तितो सत्य’बाट उनको कलाकारिताको यात्रा सुरु भयो । ठुलो भुमिका नभए पनि यी सिरियलमा उनी रिएक्सन आर्टिस्टका रुपमा थिए ।

त्यसपछि उनलाई ‘मेरी बास्सै’मा ‘इकु’को भूमिका निर्वाह गर्ने अवसर मिल्यो । ‘इकु’को भुमिकापछि उनले अभिनय क्षेत्रमा  पछि फर्किएर हेर्नु परेको छैन ।

सानो पर्दाका अलवा उनी ठुलो पर्दाका पनि कलाकार हुन् । ‘दाइको ससुराली’, ‘कुसुमे रुमाल २’, ‘गुरुदक्षिणा’, ‘रेश’, ‘हिरो रिटर्न्स’, ‘सम्बोधन’, ‘ईकु एक र दुई’ र ‘फिर्के’ गरेर उनले करिव दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । ‘ईकु’ एक र दुई बाहेक अन्य सबैमा उनको फरक भूमिका थियो । अहिलेसम्म फिल्मका लागि उनले नेता, हिरोको साथीलगायत भूमिका निर्वाह गरेका छन् ।

उनले अभिनय गरेको म्यूजिक भिडियो पनि करिब आधा दर्जनको हाराहारीमा छन् । ‘अस्ट्रेलिया जाउली माया’ र ‘माया लाउन मसँग’ उनको अभिनय रहेको भर्खर रिलिज भएको भिडियो हो । यतिबेला दुवै म्यूजिक भिडियो चर्चामा छ । अव छिट्टै फेरि उनी ‘ईकु’कै भूमिकामा देखिँदैछन् ।

अभिनयमा उनलाई अहिले ‘इकु’ जस्तै चर्चा हुने फरक भूमिका गर्न मन लागेको छ । इकुले यस्तो पनि भूमिका गर्नसक्छ भन्ने उनी देखाउन चाहन्छन् । कलाकार बन्नका लागि ठुलो संघर्ष गरेका उनले संघर्षबाट पार भएपछि कलाकारितामा जुन माया र सम्मान पाइन्छ, त्यो खुसीलाई अन्य कुनै खुसीले नभेट्ने बताउँछन् ।

समाजसेवी सुलेमान

सुलेमान समाजसेवी पनि हुन् । मुलपानी जोरपाटीमा उनको चलाएको स्वेहा आश्रम छ । ६ कोठा भाडामा लिएर संचालन गरेको आश्रममा अहिले १४ बालबालिका छन् ।

आश्रम उनले २०७२ सालको भूकम्पपछि सुरु गरेका हुन् । सो समय राहतका लागि विभिन्न स्थानमा जाँदा बुबाआमाविहीन  बालबालिका भेटेका उनले तिनीहरुलाई आश्रय दिन आश्रम सुरु गरेका थिए ।

आश्रममा ३ देखि १४ वर्षसम्मका बालबालिका छन् । तीमध्ये केहीलाई बोर्डिङ स्कुल र केहीलाई सरकारी स्कुलमा पढ्ने ब्यवस्थासमेत उनले मिलाएका छन् ।

‘भूकम्पबाट जीवनका धेरै कुरा मैले सिकेँ । घरपरिवार, आफन्त के हो भन्ने सबैकुरो बुझेँ, जान्न पाएँ,’ सुलेमानले भने, ‘छोटो जीवनमा केही गरौँ, नाम राखेर जाऔँ भन्ने सोचेर आश्रम चलाएको हो ।’

आश्रमको काममा उनलाई सम्झना घिमिरे भन्ने एक महिलाले पनि साथ दिएकी छन् । आफ्नो कलाकारिताको सम्पूर्ण आम्दानी उनले आश्रममा लगाउने गरेका छन् । त्यसको अलावा उनलाई चिन्ने, माया गर्ने फ्यान, आफन्त, साथीभाइ लगायतले पनि सहयोग गर्दै आएका छन् । देश विदेशबाट पनि केही सहयोग आइरहेको उनले बताए ।

आश्रमका लागि भवन बनाउने उनको सपना छ । आमाबुवालगायत सहाराविहीन भएकाहरुले सजिलै आश्रय पाउने आश्रम बनाउने उनको योजना हो । यसका लागि उनी दिनरात लागिपरेका छन् ।

कोरोनाले देश विदेशको कार्यक्रम रोकिएको तथा आश्रमको खर्चले गर्दा उनी १०÷१५ लाख ऋणमा डुबेका छन् । त्यो तिर्ने र भवन बनाउने चुनौती उनका सामु छ ।

निर्माता सुलेमान

कलाकारमा मात्र सीमित छैनन् सुलेमान । पछिल्लो समय कलाक्षेत्रमा उनले निर्माताको रुपमा पनि आफूलाई स्थापित गरेका छन् । सन् २००४ मा ‘प्रभु कस्तो अचम्म’ भन्ने डकुमेन्ट्री निर्माण गरेर उनी निर्माण क्षेत्रमा होमिएका हुन् । सो डकुमेन्ट्री ड्रग्सको बिषयमा निर्माण भएको थियो ।

‘इकु’ फिल्मबाट उनले ठुलो पर्दाको निर्माणमा हात बढाएका हुन् । टेलिभिजनमा इकुको भूमिका हिट भएपछि यही भूमिकामा उनले इकु फिल्म बनाएका थिए । यो फिल्मबाट उनले नाम , दाम दुवै कमाउन सफल भएका थिए । उनी सोझो र सानो कलाकार भएका कारण फिल्मले धेरै नाफा कमाए पनि वितरकले उनको हातमा १० लाख रुपैयाँभन्दा बढी दिएनन् ।

‘इकु’ पछि ‘इकु २’ का अतिरिक्त ‘फिर्के’ चलचित्र निर्माण गरेका उनले व्यावसायिक लाभ भने उठाउन सकेनन् ।

अहिले उनी अन्तर्राष्ट्रिय महोत्सवहरुलाई लक्षित गरेर फिल्म निर्माण गर्दैछन् । त्यसको अलावा केही व्यावसायिक फिल्म निर्माणको समेत आफुले तयारी गरिरहेको सुलेमानले बताए । फिल्मबाट डुबाएको पैसा फिल्मबाटै उठाउने प्रयासस्वरुप फिल्म निर्माणमा जुटेको उनले सुनाए ।

फिल्मको अलावा उनी ‘लुकामारी’ शृङ्खला निर्माण गरिरहेका छन्  । ‘इकु’लाई पर्दामा फर्काउने उद्देश्यले उनले यो शृङ्खला निर्माण गरेका हुन् ।

निर्देशक सुलेमान

सुलेमान निर्देशक पनि हुन् । उनले सन् २००४ मा निर्माण गरेको डकुमेन्ट्री ‘प्रभु कस्तो अचम्म’ आफैले निर्देशन गरेका थिए । त्यसपछि उनले कलाकार गोपाल ढकाल ‘छन्दे’सँग मिलेर नेपाल टेलिभिजनका लागि सिरियल ‘५२ घुस्सा ५३ ठक्कर’ निर्देशन गरेका थिए ।

उनले ४/५ वटा म्यूजिक भिडियोसमेत निर्देशन गरेका छन् । ‘इकु’ टेलिभिजनमा फर्काउन लागेको टेलिशृङ्खला ‘लुकामारी’मा पनि उनकै निर्देशन रहेको छ । यसको लेखन समेत उनी आफैले गरेका छन् । कमेडी बिषयमा निर्माण भएको सिरियल प्रसारणका लागि उनी टेलिभिजन मिलाउँदैछन् ।

‘हिजोका दिनमा इकु मनपराउने बच्चाहरु अहिले ठुलाठुला  भैसके,’ सुलेमानले भने, ‘अहिलेका बच्चाहरुले इकु कस्तो थियो, इकु के हो भनेर हेर्न डिमान्ड गरेका छन् । त्यसैले शृङ्खला मार्फत इकु फेरि सानो पर्दामा ल्याउन लागेका हो ।’

देश तथा विदेशका कार्यक्रममा जाँदा बुढापाका र बालबालिकाले टेलिभिजनमा इकु हेर्ने चाहना राखेकाले इकुलाई टेलिभिजनमा फेरि फर्काउन लागेको सुलेमानले सुनाए ।

गायक सुलेमान

सुलेमानको रुचि सानैदेखि गायनमा थियो । उनी स्कुल÷कलेज अध्ययनको समय त्यहाँ आयोजना हुने सांगीतिक कार्यक्रममा गीत पनि गाउँथे । त्यतिबेला उनी लोकशैलीका विभिन्न गीतहरु गाउँथे । उनले पहिलो पटक आधिकारिक रुपमा गीत रेकर्ड भने टेलिशृङ्खला ‘मेरी बास्सै’को आफ्नै भूमिका ‘इकु’को लागि ‘नानी तक तानी’ बोलको गीत रेकर्ड गराए । त्यसपछि एक डकुमेन्ट्रीका लागि उनले गीत गाएका थिए ।

सन् २०१५ मा उनले ‘मोटाउछु भन्दा भन्दै’ बोलको गीतसमेत ल्याएका थिए । जुन गीतले चर्चा समेत पाएको थियो । गीतमा सुवास भुसालको संगीत तथा जीवनराज दाहालको शब्द रहेको थियो । अहिले उनी ‘साली भेना’ बोलको लोकदोहोरी गीत र अन्य केही गीत ल्याउने तरखरमा छन् ।

देश विदेशको कार्यक्रममा जाँदा कमेडी गरेपछि डान्स पनि गर्न मन पराउने भएकाले सजिलोका लागि आफ्नै गीत गाउन थालेको सुलेमानले बताए । ‘स्टेजमा मैले गीत गाउँदा ‘इकु’ले गीत गायो भन्दै नाच्नेको भिड देखिन्छ,’ उनले थपे, ‘अरुको गीत गाएर धेरै पटक स्टेज तताएँ । अव आफ्नै गीतमा तताउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप