शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई देउवाको प्रश्न : प्रधानमन्त्रीले अदालतलाई निर्देशन दिन पाउँछ ?

बिहीबार, ०१ माघ २०७७, २१ : ४८
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन मुद्दाको विषयलाई लिएर न्यायालयमाथि अनावश्यक दबाब दिन भएको भन्दै प्रश्न उठाएका छन् । पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवनको उद्घाटनमा सभापति देउवाले भने, ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’

उनले अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न नहुने बताए । ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन,’ देउवाले भने ।

उनले न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्दामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट विचार व्यक्त गरे। सभापति देउवाले ओलीको असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट भएको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध काँग्रेसले आन्दोलनको घोषणा गरेको बताए।

नेकपाको दुबै पक्ष लोकतन्त्र, संविधान र संघीयताप्रति प्रतिबद्ध नरहेको बताउँदै आएका देउवाले नेकपाको आन्तरिक विवादका कारण ओलीले संसद भंग गरेको बताए । असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर चुनावको घोषणा गरेपनि सहजै तोकेकै मितिमा चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको पनि देउवाले बताए।

संविधान, लोकतन्त्र र जनअधिकारको रक्षार्थ ताजा जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको भन्दै कार्यकर्तालाई चुनवाी तयारीमा जुट्न देउवाको आग्रह छ । उनले भने,  ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन ।’

नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आन्दोलनमा सँगै मिलेर अघि बढ्न प्रस्ताव लिएर बुधबार आफ्नो निवासमा आएको देउवाले बताए । सभापति देउवाले नेकपा २ भागमा विभाजित भएजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने बताए । 

उनले पार्टी एक बनाउन सके मात्रै भविष्यमा पार्टी बलियो बनाउन र देश विकासका काम गर्न सकिने देउवाको भनाइ थियो। ‘पार्टीलाई ऐतिहासिक जिम्मेवारी आइपरेको छ। पार्टीलाई एक बनाउन सके मात्रै राम्रोसँग काम गर्न सकिन्छ,’ उनले भने, ‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोड्ने अवस्था पनि आयो। सभापति भएकोले म यति भन्छु  कसैले पार्टी छोड्ने अवस्था आउन दिने छैन ।’ 


कार्यक्रममा नेपाली काँग्रेस नेता गोपालमान श्रेष्ठले शहिद तिवारीको योगदानबाट पाठ सिक्नुपर्ने उल्लेख गरे। ०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप